चौतर्फी विरोध भएपछि मोदीलाई दिएको पत्रबारे गृहमन्त्रीद्धारा संसदमा जानकारी

काठमाडौं :bhim rawal गृहमन्त्री विमलेन्द्र निधिले हालै गरेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र मोदीलाई बुझाएको बारेमा संसदमा जानकारी गराएका छन्। सरकारको साउन २७ गतेको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न र विगत २७ वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई पुन सुचारु गर्न पत्र दिएको बताएका छन्। त्यसैगरी नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचत गर्ने कुराको जानकारी समेत गराएको बताए। नेपालमा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न लेखेको पत्रदेखि भारतीय प्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाएको पत्र हस्तान्तरण गरेकोसमेत उनले जानकारी गराए। ‘नयाँ सरकार गठन भएपश्चात दुई देशबीचको सम्बन्ध अझ विकास र सुधार गर्ने विषयमा भारतीय सरकारको पूर्ण समर्थन पाउने कुरा लेखिएको थियो,’ उनले भने–‘प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई नेपालको विकासमा भारतीय सहयोग तथा नेपाल भारतबीच भविश्यमा हुने उच्चतहको भ्रमण तथा दुई देशको सम्बन्ध विकासमा मैले विश्वास लिएको भन्ने उल्लेख छ।’ निधिले हालैका दिनमा भएको सडक दुर्घटनाको विषयमा सदनलाई जानकारी गराउँदै साउन ३१ गते काभ्रेको कात्तिके देउरालीमा भएको दुर्घटनामा २५ को घटनास्थलमा र एक जनाको उपचारमा निधन तथा २२ घाइते भएको र बैतडीमा तीन जनाको निधन भएको जानकारी गराए। काभ्रेबाट सेनाको हेलिकप्टरबाट २८ जनाको उपचारका लागि ल्याइ उपचार गराइएको र कोही घाइते उपचारका लागि बन्चित नहुने विषयमा सरकार सचेत रहेको बताए। यस्तै चितवन मुग्लिङ सडकमा भएको गाडी दुर्घटनामा २१ को घटनास्थल र १को उपचारका क्रममा निधन भएको र १७ जनाको चितवन मेडिकल कलेजमा भएको र हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए। केही समययता सडक दुर्घटना न्यूनीकरण गराउन गृहमन्त्रालयले सुरक्षा निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएको बताए। लामो दूरीका सवारी साधन चलाउन दुई चालकलाई अनिवार्य बनाउन निर्देशन दिएको बताए। भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका लागि सरकारले निरन्तरता दिएको समेत उनले संसदमा जानकारी गराए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको पत्र सदनमा पेश गर्न माग गरेको थियो । एमाले सांसद भीम रावलले प्रधानमन्त्रीका विशेष दूत एवंम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको पत्र सदनमा पेश गर्न माग गरेका थिए। नेकपा एमालेका उपाध्यक्ष समेत रहेको रावलले संसदको बैठकमा विशेष समय लिएर बोल्दै पत्र सदनमा पेश गर्न माग गरेका हुन् । सदनमा बोल्दै उनले भनेका थिए–‘नेपालको संविधान संयुक्त राष्ट्रसंघको पञ्चशिलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने व्यवस्था छ। तर, प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा भारतीय प्रधानमन्त्रीलाई पत्राचार गरेका समाचार आएको छ। यो हाम्रो संविधान र जनताको भावना विपरित छ।’ अन्तर्राष्ट्रिय कूटनीतिक सिद्धान्त अनुसार कुनै पनि देशबीचको सम्बन्धमा अत्यन्त असहज परिस्थिति उत्पन्न भएमा त्यसको समाधानका लागि विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने परम्परा रहेको भन्दै रावलले अहिले कुन त्यस्तो अप्ठ्यारो पर्‍यो र अन्तर्राष्ट्रिय मान्यता विपरित उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा पठाउनु पर्यो ? भन्दै प्रश्न गरेका थिए । यता पत्रको सम्बन्धमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतलाई राष्ट्रहित विपरितको पत्र नलेखेको उनले स्पष्ट समेत पारेका छन् । सरकारका विशेष दूत विमलेन्द्र निधिमार्फत् सरकारले संविधान संशोधनको खाकासहितको पत्र पठाएको भन्ने प्रचारको उनले खण्डन गरे । नेपाल टेलिभिजनको नियमित कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगको शनिवारको श्रृंखलामा प्रचण्डले औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख नभएको जानकारी गराएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ,’ प्रधानमन्त्रीले भने–‘आधारहिन प्रचारबाट एकछिन भ्रम दिन त सकिएला, तर प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वसनियता घट्छ भन्ने म ठान्छु ।’

प्रतिक्रिया

सम्बन्धित