माओवादीलाई जग्गा दिने निर्णय खारेज गर्नुपर्छ : ट्रान्सपरेन्सी नेपाल
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक जग्गा माओवादी केन्द्रलाई दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ । विज्ञप्ति प्रकाशित गरी ट्रान्सपरेन्सी नेपालले पर्सास्थित वीरगञ्ज चिनी मिलसँगैको ऐलानी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय सच्याउन माग गरेको हो । ट्रान्सपरेन्सी नेपालले कुनै निश्चित राजनीतिक दललाई सार्वजनिक जमिन उपलब्ध गराउने निर्णयप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ । मुलुकमा रहेका सयौँ राजनीतिक दललाई यसरी सार्वजनिक जग्गा उपलब्ध गराउने प्रचलन सुरु गर्दा परिणाम भयावह बन्ने भन्दै ट्रान्सपरेन्सी नेपालले सरकारलाई सचेत समेत गराएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा वीरगञ्जको जग्गा दिने निर्णय खारेज गर्न माग गरिएको छ ।
प्रतिक्रिया