कास्की प्रहरीमा गाइजात्रा, अनुसन्धान गर्ने नै वहु विवाहको मुदा खेप्दै

bahuकास्की । देश र जनताको सुरक्षाका लागि भनेर राष्ट्रका नाममा कसम खाएर सेवा प्रवेश गरेका व्यक्तिले नै गैरकानुनी काम गरेपछि कसको के नै लाग्छ र ? कानून कार्यान्वयन गर्ने निकायमा रहेकाहरुले नै कानून विपरितका काम गरेपछि कसरी पूरा होला कानूनी राजको सपना । आशा गरेका जिम्मेवार व्यक्ति जसलाई राज्यले आफ्नो ढुकुटीवाट तलव खुवाएर पालेको छ र देश भित्र शान्ती अमनचयन र कानून कार्यान्वयन गर्ने जिम्मेवारी सुम्पिएको छ । कुरा हो कास्की प्रहरीको । हो प्रहरी यो मामिलामा सवभन्दा वढी जिम्मेवार पात्र हो ।

अपराध नियन्त्रण र शान्ती सुरक्षा कायम गर्दै राज्यका कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कतिपय प्रहरीहरु स्वयमले कानूनको परिपालना भुलेर स्वयम् कानून उल्लघंन गरेर मोज मस्तीमा भुल्दै आएको पाइएको छ । वहु विवाह प्रचलित कानूनले वर्जित गरेको फौजदारी अपराध हो । वहु विवाह गर्नेलाई दण्ड सजाय दिलाउन कानून वमोजिम अनुसन्धान गर्ने प्रहरीहरु नै वहु विवाह गरेर कानूनको धज्जी उडाइरहेका छन् । यसले ‘जो अगुवा नै बाटो ...’ भएको संकेत गर्छ । त्यसो त फौजीको जागिरमा वहु विवाह वढि नै हुने गरेको देख्न सुन्न पाइन्छ । तर, विवादित भएर प्रहरी र अदालतसम्म पुगेका वहु विवाह सम्वन्धी प्रकरणहरु मात्र सतहमा आउँछन् र तिनले वजारमा चर्चा पाउँछन् । केहि वर्षमात्र अगाडि सशस्त्र प्रहरी गण पार्दीका १ प्रहरी नायव निरीक्षक दर्जाका लेखापाल दोस्रो विवाहको मामिलामा मुछिएका थिए । उनले कान्छी श्रीमतीलाई नस्वीकार्ने भन्दै निहुं खोजेपछि तत्कालिन डिआइजी पार्वती थापाले रासन पानी भराइदिएकी थिइन् । पछिल्लो पटक पोखरामा यस्तै प्रकरण दोहोरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत असई कमल श्रेष्ठले जागिरकै क्रममा घरमा जेठी श्रीमती हुँदाहँुदै हेटौडा–७ कि शोभा श्रेष्ठलाई श्रीमती बनाए । जिल्ला प्रहरी कार्यालय हेटौडामा कार्यरत रहँदा कमलले शोभासँग उठ बस वढाए पछि २०५४ सालमा सँगै बसेको र एक वर्ष पछि २०५५/८/१८ मा छोरा जन्माएको कान्छी श्रीमती शोभा श्रेष्ठले बताइन् । छोरा जन्मिएपछि शोभाले कमलको नामबाट मकवानपुर जिल्ला प्रशासन कार्यालयवाट मिति २०५७ वैशाख २६ गते २३३६२ नं. को नागरिकता पाएकी छिन् । त्यहि नागरिकताको आधारमा शोभाले आफ्नो श्रीमान् कमल श्रेष्ठले खाइपाई आएको तलवबाट १ तिहाई तलव भत्ता रकम छोराको पालन पोषण शिक्षा दिक्षाको लागि खादै पनि आइरहेकी छन् । तर, गत हप्ता मात्र आफ्नै वालिग छोरा सौरभ श्रेष्ठको नागरिकता बनाउन आएका वखत भएको व्यवहारले विवाद र तनाव पनि सिर्जना गराएको कमलकी कान्छी श्रीमती शोभाले हामीसँग गुनासो गरिन् । आफ्नो छोरालाई नागरिकता दिलाउन पटक–पटक प्रहरी कार्यालयमा सहमती गरिएपनि आफ्नो लोग्ने कमल श्रेष्ठले जेठी श्रीमतीको दवावमा परेर आफ्नो छोरालाई नागरिकता नदिएको शोभाले गुनासो गरिन् । छोरा जन्मिएपछि कमल हेटौडावाट वेनी सरुवा भइ गएपछि आफूलाई वेवास्ता गरेको कारण प्रहरी प्रधान कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्रको आधारमा १ तिहाई तलव लिन सफल भई छोराको पालन पोषण शिक्षा दिक्षा दिलाएको र अब छोरो ठूलो भएपछि उसलाई जागिर खानका लागि नागरिकता चाहिएकोले श्रीमान् कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सहयोग माग्न आएको बताइन् ।

पीडित शोभा श्रेष्ठको माग निवेदन वमोजिम छलफलको लागि बोलाइएका असई कमल श्रेष्ठले जेठी श्रीमती समेतलाई साथमै ल्याएर एसपी घनश्याम अर्यालसँग खनिएको प्रत्यक्षदर्शी प्रहरीहरुले बताए । एसपी सापले असई कमललाई गाली गर्दै गर्दा साथमै आएकी जेठी श्रीमतीले तथानाम बोलेपछि श्रीमतीलाई वाहिर निकाल्न लगाएको विषयलाई लिएर वर्दिमा रहेका असई कमल श्रेष्ठले आफ्नै कमाण्डर प्रति गर्नु पर्ने व्यवहार समेत भुलेर मर्यादा विपरित कार्य गरेको प्रत्यक्षदर्शी एक भिजिटरले आफ्नो नाम नबताउने सर्तमा बताए । कान्छी पट्टीको छोरालाई नागरिकता दिएमा सम्पत्तिको हक समेत खोज्ने डरले विक्षिप्त भएकी जेठी श्रीमती र कमल श्रेष्ठले नागरिकता बनाइदिन मागेको घटनालाई अन्यत्र मोडेर जोगिन श्रीमतीलाई मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालय लगायतका निकायमा आफूलाई हातपात भएको भन्दै उजुरी हाल्न जेठी श्रीमतीलाई प्रयोग गरेका छन् । यस विषयमा कमल श्रेष्ठलाई वुझ्दा शोभा श्रेष्ठ श्रीमतीको रुपमा केहि समयसँगै बसेको तर, नागरिकतामा आफूले सनाखत नगरेको बताए ।

मकवानपुर प्रहरीले गरेको सिफारिसको भरमा नागरिकता लिएको र त्यसपछि मसँग नबसेर बाहिर बसेको र प्रहरी हेडक्वाटरले नै १ तिहाई तलव कान्छी श्रीमतीलाई दिएको कमलको भनाई छ । अधिकार माग्न आउँदा कर्तव्य भुलेर आफ्नै कमाण्डर माथि खनिन श्रीमती समेतलाई उक्साउने पात्रले कान्छी श्रीमती पट्टीको छोरालाई नागरिकता दिन किन आलटाल गर्छन ? समस्या समाधानका लागि निकास दिन छोडेर अधिकार खोज्ने कमल दम्पतीको व्यवहारले कान्छी श्रीमती र छोराको अधिकार खोसिएन र ? श्रीमती बनाउन जान्ने तर, तिनै श्रीमतीवाट जन्मेको छोराको अस्तित्व र अधिकार स्वीकार गर्न नसक्ने पात्रहरुका बारेमा पनि सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।कास्की प्रहरी प्रमुख एसपी घनश्याम अर्यालसँग ध्यानाकर्षण गराउँदा आफ्नै जुनियर अफिसर कमल श्रेष्ठको चरित्र ठिक नभएको र कान्छी श्रीमती पट्टिका छोरालाई नागरिकता दिन यस अघि भएका सहमती कार्यान्वयन गर्न छलफलको लागि आफ्नो कार्यकक्षमा वोलाउँदा अनुशासनहिन ढंगले प्रस्तुत भएको र जेठी श्रीमतीलाई समेत प्रयोग गरेको बताए । एसपी अर्यालले कार्यालय प्रमुख समक्ष मर्यादा विपरित प्रस्तुती गरेको तथा श्रीमतीलाई समेत भित्र ल्याएर हुल हुज्जत गर्न खोजेका कारण महिलालाई वाहिर निकाल्न लगाएको र त्यहि वहाना वनाएर विभिन्न ठाउँमा उजुरी गर्न गएको बताउँदै यसरी संगठनको निति र मर्यादा विपरित वर्दीको अपमान गर्ने जो कोहीलाई पनि कारवाही गरिने जानकारी गराए । जथाभावी गर्ने छुट कसैलाई छैन नियमानुसार कारवाही हुने र यस अघि पनि प्रहरी शुद्धिकरण अभियान मुताविक कारवाही भइरहेको उनले बताए ।यता कमल श्रेष्ठको कान्छी श्रीमती शोभाले आफू र छोरा ठूलो अन्यायमा परेको बताइन । बाबुले नागरिकता सिफारिस नगर्दा गरि खान समेत नपाएको दुखेसो पोखिन । ‘आफू र आफ्नो छोरालाई भएको अन्याय गर्ने श्रीमान् कमल श्रेष्ठवाट न्याय दिलाइदिन सबैसँग सहयोगको अपिल गर्छु’–उनले भनिन् । एसपीको कार्यकक्षमा भएको वादविवादको प्रत्यक्षदर्शी समेत रहेकी उनले भनिन–‘त्यस दिन एसपी घनश्याम सरको कार्य कक्षमा जेठी श्रीमती सहित आएका आफ्ना श्रीमान् कमललाई गाली गरेको र हल्ला गर्दै रहेकी जेठी श्रीमतीलाई वाहिर निकाल्न लगाएको आफूले प्रत्यक्ष देखें ।’जिप्रकामा भएको सामान्य विवादले चर्चा पाएको अवस्था छ । कानून पालना गर्नेहरुले नै वहुविवाह गर्दै हिडेको प्रतिफल झण्डै दुई दशक पछि बितेको छ । अधिकार लिने र दिने विषयमा विवाद चुल्याउनु भन्दा प्राकृतिक न्यायको सिद्धान्त आत्मासात् गर्दै एक अर्काको अस्तित्व स्वीकार्ने र जिम्मेवार प्रहरीहरुले आफ्नो कर्तव्य, गरिमा र मर्यादाको ख्याल राख्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित