अमेरिकामा मानव तस्करको नयाँ धन्दा, एफएनसिसीअाई पनि मुछियो

tradesoकाठमाडौं । अमेरिकामा विभिन्न इभेण्ट गर्ने नाममा वल्ड बिजनेस मेनेजमेन्ट एण्ड कन्सलटेन्टका संयोजक बुद्धीप्रसाद रेग्मीले मानव तस्करीको धन्दा चलाउँदै आएको खुलेको छ । उनीमाथि प्रहरीले छानविनको अन्तिम तयारी थालेको छ । नेपाल एक्जिविसन एण्ड ट्रेड सोको नाममा सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म अमेरिकाको न्युयोर्कमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागिताका लागि ६ सय जनाको आवेदन माग गरी रेग्मीको समूहले लाखौं रकम असुलेको खुलेपछि अमेरिकी दुताबासमा उजुरी परेको छ ।

अमेरिकी दूतावासमा न्युयोर्कमा गर्ने भनिएको ब्यापार मेलामा मानव तस्करी हुन लागेको भन्दै कसैलाई भिसा उपलब्ध नगराउन विभिन्न व्यक्ति र संस्थाले उजुरी हालेका हुन् । कसैलाई पनि भिसा दिन इन्कार गर्नु भन्ने व्यहोराको उजुरी पत्र नै सार्बजनिक भएको छ । रेग्मीले अमेरिकी दूताबासमा पहिलो चरणमा १ सय २६ जनालाई निबेदन दिन लगाएका थिए । तर, अहिलेसम्म चार जना ब्यापारीको मात्र भिसा लागेको थाहा भएको छ । रेग्मीले भने २४ जनाको भिसा लागिसकेको बताउँदै हिडेका छन् । तर, आफु जोगिनका लागि रेग्मीले आफु निकट ग्रिन एप्पल कन्सल्ट्यान्सीका सञ्चालक कविराज शेपखानलाई दोषारोपण गर्दै प्रहरीमा फसाए ।

कविराज बुधबार काठमाडौं जिल्ला अदालतबा धरौटिमा छुटिसकेका छन् । आफ्नो कम्पनीको लेटरप्याड दुरुपयोग गरी रकम उठाएको भन्दै रेग्मीले उल्टै प्रहरीमा उजुरी हालेर कविराजलाई फसाएका थिए । यद्यपी महानगरिय अपराध महाशाखाले भने रेग्मी विरुद्ध शुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । त्यसो त, अमेरिकास्थित प्रवासी नेपाली मञ्च भित्र पनि रेग्मी विरुद्ध उजुरी परेको छ । रेग्मीले ३० लाखसम्म खर्च गरे अमेरिका लैजाने भन्दै कन्सलटेन्सीहरुमा पनि सर्कुलर गरेर कन्सलटेन्सी क्षेत्रकै बद्नाम गरेको एक कन्सलटेन्सीका सञ्चालकले बताए । ‘रेग्मीलाई पक्राउ गरी छानबिन हुन जरुरी छ, साथै अमेरिकी दूताबासले यो प्रकरणलाई सामान्य रुपमा लिन हुँदैन ।’–कन्सलटेन्सीका सञ्चालकले थपे । ट्रेड सोको स्टल बुकिङको नाममा न्यूनतम सात हजार चार सय उन्नान्सय देखि अधिकतम १४ हजार उन्नासय डलरका दरले रकम उठाउने भनिएतापनि सहभागी हुन चाहने प्रत्येक व्यक्तिहरुलाई भिषा लागेमा न्यूनतम ३० लाखसम्म तिर्नुपर्ने भन्दै रेग्मीले बार्गेनिङ गरिरहेका छन् ।

मेलामा सहभागी हुने भन्दै  नेपालका प्रतिष्ठित औद्योगिक संस्थाहरुको नाम समेत उनीहरुले दुरुपयोग गरेका छन् । व्यापारिक मेला सम्बन्धी बुकलेटमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतको लोगो समेत समावेश गरिएको छ । तर, नेपाल उद्योग वाणिज्य महासंघले भने आफूसँग कुनै सरसल्लाह नगरी अवैधानिक रुपमा नाम र लोगो प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै आयोजक संस्थालाई चेतावनी सहित पत्र पठाएको छ ।

उक्त मेलामा आफ्नो कुनै संलग्नता नरहने भन्दै महासंघले स्पष्ट पारेपनि रेग्मीले भने अझै महासंघको लोगो राखी विज्ञापन गर्न छाडेका छैनन् । स्रोतका अनुसार महासंघका अध्यक्ष पशुपति मुरारकासँग व्यक्तिगत साँठगाँठ गरी रेग्मीले महासंघको लोगो दुरुपयोग गरेका हुन् । मुरारकाका आधा दर्जन व्यक्तिलाई अमेरिका पठाइदिने आश्वसन देखाएर लोगो दुरुपयोग गरेको हुँदा मुरारकाले कानुनी रुपमा वल्ड बिजनेस मेनेजमेन्ट कन्सलटेन्टका विरुद्ध कुनै उजुरी गरेका छैनन् ।आयोजकले उल्लेख गरेका अन्य संस्थाहरुको संलग्नता पनि फर्जि रहेको बुझिएको छ । नेपालको परिचयलाई संसारको आर्थिक केन्द्र न्युयोर्कमा प्रदर्शनी गर्ने यति ठूलो कार्यक्रममा नेपाल सरकारले अमेरिकामा ब्यापार प्रवर्धनका लागि तोकेका कुनै पनि वाणिज्यदूत र संघसंस्थाकोे समेत संलग्नता छैन । मेलाका प्रमुख योजनाकारहरु संजय थापासहित ८ जना छन् ।बुद्धिप्रसाद रेग्मी, नन्दी भट्टराई, देवराज कँडेल, खिम भट्टराई, विष्णु पोखरेल, कृष्ण लामछाने र अर्जुन सिंहको योजनामा मानव तस्करी धन्दा चलाउन खोजिएको हो । रेग्मी प्रमुख योजनाकार रहेको स्रोतको भनाई छ । उनीहरुले बनाएको योजना अनुसार प्रतिब्यक्ति ७ लाख मात्र उठाइएको भए पनि ४६ करोड ३६ लाख उठ्छ । भिसा लागेन भने ३० हजार कटाएर बाँकी फिर्ता दिने उनीहरुले बताउँदै आएपनि कति वटा कम्पनीसँग कति रकम उठाइएको छ भन्ने बारेमा अहिलेसम्म कुनै ल्याकत नै छैन । रेग्मीले आफु जोगिनका लागि केही दिन अघि राजधानिमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाका नाममा ठगि गर्ने ग्रिन एप्पल कन्सल्ट्यान्सीका सञ्चालक कबिराज शेपखान पक्राउ परेपछि आफूहरु आश्चर्यमा परेको बताएका थिए । आफुसँग पुरानो चिनजानका साथी कविराजका बारेमा रेग्मीले सामान्य चिन जानमात्र भएका भन्दै पत्रकार सम्मेलनमा बताएका थिए । कविराज जस्ता ब्यक्तिहरुका कारण नेपालमा राम्रो उद्योग चलाएका ब्यक्तिलाई पनि अमेरीकन दूताबासले भिषा नदिएकाले आफुहरु दुःखी भएको भन्दै अब सबै कम्पनीको डकुमेन्ट अध्ययन गरेर भिषा प्रकृया अगाडी बढाउन पनि रेग्मीले आग्रह गरी नाटक गरेका थिए । पछिल्लो समय कलाकारिताको आबरणमा रेग्मीले अमेरिकामा मानव तस्करी धन्दा चलाएका थिए,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । जितु नेपाल, प्रमोद खरेल, कोमल वली, बद्री पंगेनीदेखि विभिन्न चर्चित कलाकारहरुसमेतलाई प्रयोग गरी यसअघि पनि वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्टले विभिन्न मुलुकमा मानव तस्करी गरेको खुलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित