ट्राफिक प्रहरीको घुस काण्ड,खाइसकेको घुस पिडीतलाई फिर्ता

trafic polयदुनाथ बन्जरा / कास्की । पोखराको सभागृहचोकमा मध्यराती गस्तीमा रहेका प्रहरीले ट्याक्सी चालक रमेश श्रेष्ठसँग ५ सय घुस लिएर लाइसेन्स फिर्ता गरेको घटना सेलाउन नपाउँदै कास्की ट्राफिकका दुई प्रहरी दिनदहाडै घुस काण्डमा कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान सुन्दर कुंवर र प्रहरी हवल्दार श्रीप्रसाद थापा भाद्र ३ गते शुक्रबार अपरान्ह छानबिनका लागि जिल्ला तानिएका छन् । ट्राफिक प्रहरी जवान सुन्दर कुंवरले शुक्रबार विहान ९ बजे नदिपुरबाट महेन्द्रपुल जाँदै गरेका ग१०प ६६०५ नम्बरको स्कुटर चालकलाई चेक जाँच गर्दा लाइसेन्स साथमा नराखेको पाईएपछि उनलाई चिट दिनुको सट्टा महेन्द्रपुलको प्रहरी विटमा पु-याई त्यहाँ रहेका प्रहरी हवल्दार श्रीप्रसाद थापा समक्ष बुझाए ।

हवल्दार श्रीप्रसादले स्कुटर र चालकलाई बुझे पछि आफ्नो खल्तीबाट पाँच सयको नोट झिकेर स्कुटर चालक (ग्राहक) ल्याइदिने प्रज सुन्दर कुँवरलाई दिएर विदा गरे । कुँवर फेरी सिकार खोज्न सडकतिर आँखा डुलाउँदै बाटो लागे । यता प्रहरी हवल्दार थापा स्कुटर चालकसँग घुस बार्गेनिङ गर्न थाले । छिटो गर भाई फेरी गोलघर गयौ भने बढी दुःख पाउँछौ भने पछि स्कुटर चालक भाइले एक हजारको नोट दिएपछि चावी र स्कुटर फिर्ता पाए । पैसा लेनदेनको कुरा कसैलाई नभन्नु नी भन्दै मोबाइल नम्बर आदान प्रदान गरेर विदा भए । हाम्रो स्रोतले यी सबै घटनालाई निगरानीको कसिलो घेरामा कैद गरेको थियो ।

नेपाल प्रहरी पछिल्लो समयमा बढी नै व्यवसायिक बन्दै गएको छ । भ्रष्टाचारमा शुन्य सहनसिलताको नीति लिएर शुद्दिकरण कारबाही गर्दै आएको प्रहरीलाई यि र यस्ता घटनाले झस्काएको हुनुपर्छ । गत वर्ष मात्र नेपाल प्रहरीले १४ सय प्रहरीलाई कारबाही गरेको छ । जसमा एसएसपी सम्मको जागिर चट् भएको विवरण सार्वजनिक भएको छ । यस्तो कडाई भइरहेको अवस्थामा पनि घुसखोरी प्रहरीहरुमा चेत खुलेको छैन । सडक सुरक्षा र ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाही गर्न खटाइएकाहरु बल्छी थापेर घुस असुलीरहेको पाइनुले अवस्थालाई गम्भिर बनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको गेटबाट सय मिटर भित्र बसेर ड्युटी गर्ने ट्राफिक प्रहरीहरु सिधै घुस असुल्न किञ्चित डर मान्दैनन् । सेटिङ मिलाएर घुस असुल्ने जालो कहाँ सम्म पुगेको छ भन्ने कुरो तालुक अड्डाले छानबिन गर्ला नै तर, पालिखेचोक देखि महेन्द्रपुल आसपासको नेटवर्क भने दलाली शैलीमा चलेको स्पष्ट भएको छ ।

घुस प्रकरण पुष्टी भएपछि हामीले जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारी र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्याललाई घटनाबारे जानकारी गरायौं । उनीहरुले तत्काल प्रकृया अगाडी बढाएको बुझिन आएको छ । घुस काण्डका मतियारद्वय कुँवर र थापाले समेत गल्ती स्वीकार गरेका छन् । पिडित पक्षबाट उजुरी सहित सनाखत गरे लगत्तै लिएको घुस रकम एक हजार स्कुटर चालकलाई प्रनि अधिकारीले फिर्ता दिलाइदिएका छन् । यसरी यो स्टिङ अपरेसन सफल भएको छ । लोभी र पापीको भाडो कहिल्यै नभरिने रहेछ ।

सरकारले २५ प्रतिशत तलब बढाएको छ । कारबाहीबाट प्राप्त राजस्वको १५ प्रतिशत रकम प्रोत्साहन भत्ता दिने निर्णय समेत कार्यान्वयनमा आउने निश्चित भएको छ । यति हुँदा हुदै पनि आचरण सुध्रिएको छैन । राजस्वमा जानुपर्ने दण्ड जरिवानाको पैसा रसिद नै नकाटी सतप्रतिशत झ्याम पार्ने प्रबृत्ति भएका पात्रलाई नेपाल प्रहरीले कस्तो कारबाही गर्छ । त्यो भने केहि दिनमा स्पष्ट हुने नै छ । हामिलाई प्राप्त पछिल्लो खवर अनुसार उक्त घुस प्रकरणका मतियारद्धयलाई ग्रेड रोक्का को कारवाहि सिफारिस गरिएको छ,यूनाइटेड पोस्ट साप्ताहिक ।

प्रतिक्रिया

सम्बन्धित