काठमाडौं । वीन वीन नेटवर्किङ सञ्चालन गरेर करोडौं ठगी गरेका यमराज तामाङ एकाएक भूमिगत बनेका छन् । दाङमा वीन वीन नेटवर्किङमा ठगी गरेका आधा दर्जन व्यक्तिहरू पक्राउ परेपछि तामाङ भूमिगत भएका हुन् । नेटवर्किङका नाममा तामाङका एजेन्टहरू विरुद्ध दाङमा ठगी गरेको उजुरी परेपछि प्रहरीले तामाङका व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही थालेको हो ।
एजेन्टहरूले तामाङ आफूहरूको मालिक रहेको र उनलाई नै सबै पैसा पठाएको बयान प्रहरी समक्ष दिएका छन् । त्यसपछि दाङ प्रहरीले तामाङलाई धमाधम खोजी सुरु गरेको छ । प्रहरीले खोजी गर्न सुरु गरेपछि तामाङ भूमिगत बनेको स्रोतको भनाइ छ । काठमाडौंको सामाखुसीमा कान्तिपुर ओभरसिज म्यानपावर सञ्चालन गर्दै आएका तामाङ कार्यालयमा नगएको पनि थुप्रै भएको छ । उनका कारण थुप्रै विदेश जाने युवाहरू समस्यामा परेका छन् ।
वीन वीन नेटवर्किङको ठगी धन्दा धरापमा पर्न थालेपछि तामाङले म्यानपावरबाट पैसा कमाउन खोजेका थिए । तर धमाधम आफ्ना नेटवर्किङका दलालहरू पक्राउ पर्न थालेपछि उनी चिन्तित बन्न पुगेका हुन् । सीमित व्यक्तिहरूसँग सम्पर्कमा आउने र अधिकांश समय मोबाइल फोन बन्द गर्ने गरेका तामाङलाईलाई ठगिएका व्यक्तिहरूले पनि खोजी कार्य थालेका छन् ।
राजधानीका साथै गोरखा, काभ्रे, सिन्धुपाल्चोक, दाङ, बुटवल, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा तामाङ र उनको दलाल समूहले सयौं युवाहरूलाई आर्थिक प्रलोभनमा पारेर करोडौं रुपैयाँ ठगी गरेको छ । ती जिल्लाहरूमा वीन वीनका दलाल देख्नेवित्तिकै पीडितहरू हातपात गर्नुका साथै कुटपिट समेत गर्न थालेको एक पीडितले बताए ।
प्रतिक्रिया