शान्त छ टिकापुर

tikapurकाठमाडौं : आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना भएको मंगलबार वर्षदिन पुग्यो। घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन भने बिस्तारै सामान्य बन्दै छ। लामो समयसम्म एकअर्काप्रति त्रस्त थारु र पहाडी समुदाय अहिले नजिकिएका छन्। उनीहरुबीच सद्भाव पुरानै अवस्थामा फर्किएको छ। मिलेर बस्नु नै दुवै समुदायका लागि हितकर छ भन्ने दुवै समुदायले अझ बढी महसुस गरेको देखिन्छ । दुर्गौलीमा सामूहिक रक्षाबन्धन आयोजना गरियो यसपालि जहाँ दुई समुदायका २८ जनाले एकअर्कालाई भाइबहिनीका रुपमा स्विकारेका थिए। नेपाल शिक्षक संघले तिज तथा आइतबारी मिलन कार्यक्रम आयोजना गर्‍यो जहाँ सांसद प्यारेलाल रानालगायत थारु समुदायका अगुवा देउडा भाकामा झुमे। लेहेंगा र चोलीमा सजिएका थरुनी तिज गीतमा पहाडी महिलासँगै छमछमी नाचे थिए। गत वर्ष भदौ ७ गते टीकापुर नगरपालिका–६, शंकरपुरमा थरुहट पक्षधरको आक्रमणमा परेर तीन सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाएका थिए। टीकापुरस्थित सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ लेख्ने भन्दै आएका थरुहट कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको थियो। ठूलो संख्यामा रहेका थरुहट कार्यकर्ता विभिन्न नाकाबाट टीकापुर प्रवेश गर्न खोजेका थिए। सुरक्षाकर्मी अस्नेहरी, शिव मन्दिर, दुर्गौली, वनगाउँ, आँखा अस्पतालका नाकामा थरुहट कार्यकर्तालाई रोक्न सफल भएका थिए। मुनुवा गाविस हुँदै आएका कार्यकर्तालाई रोक्न सुरक्षाकर्मी असफल भएपछि घटना भएको थियो। घरेलु हतियारसहित आएका कार्यकर्ताले सुरक्षाकर्मीलाई घेराबन्दीमा पारेर आक्रमण गरेका थिए। घरेलु हतियारको आक्रमणबाट घाइते भएर स्थानीयको घरभित्र लुकेर बसेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई कार्यकर्ताले बाहिर ल्याएर आँगनमा हत्या गरेका थिए। उनको टाउको ढुंगाले थिचिएको थियो। न्यौपानेलाई बचाउने क्रममा सशस्त्र प्रहरीका हवल्दार रामबिहारी थारुलाई कार्यकर्ताले जिउँदै आगो लगाएर मारेका थिए। उनी उग्रतारा सशस्त्र प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक थिए। प्रहरी निरिक्षकद्वय डिल्ली विष्ट र केशव बोहराको बीभत्स शव धान खेतमा भेटिएको थियो। अन्य सुरक्षाकर्मीका शवसमेत बीभत्स रुपमा भेटिएका थिए। घटनास्थलनजिकैको घरमा खेलिरहेका १८ महिनाका नाबालक टेकबहादुर साउदको टाउकोमा गोली लागेको थियो। सुरक्षाकर्मीमाथि आक्रमण भएको झन्डै एक घन्टापछि नाबालकलाई गोली लागेको थियो । घटनामा संलग्न आरोपमा राज्यले ५८ जनाका नाममा मुद्दा दायर गरेको छ जसमध्ये २२ जना पक्राउ परेका छन्। ३४ जना फरार छन् भने २ नाबालक भएका कारण छाडिएका छन्। बीभत्स घटनाले आक्रोशित केही व्यक्तिले भदौ ८ गते टीकापुरमा थारु समुदायका पसल र घरमा आगजनी गरेका थिए। आगजनीका कारण करोडौंको क्षति भएको थियो। पीडितले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्। घटनापछि टीकापुर र आसपास क्षेत्रमा स्थानीय प्रशासनले धेरै दिनसम्म कर्फ्यु लगाएको थियो। सशस्त्र र नेपाल प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने भन्दै सरकारले नेपाली सेनासमेत परिचालन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित