रानीपोखरीमा मेयरको गन्धे राजनीति र सम्पदा जोगाउनु पर्ने उपमेयरको अडान

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका  मेयर र उपमेयरबीचको विवादका कारण रानीपोखरीमा राजनीति सुरु भएको छ । सम्पदा जोगाउनु पर्ने  पक्षमा उपमेयर हरिप्रभा खड्गी उभिएकी छिन् ।

 सम्पदा मूल मन्दिरमात्रै रहेकोले रानीपोखरीको बाहिरी स्वरुप आधुनिक बनाउन सकिने पक्षमा मेयर बिद्यासुन्दर शाक्य रहे पनि उनको कदमको धेरैले विरोध पनि गरिरहेका छन् । तर मेयर शाक्यलाई धेरैकोप प्रश्न छ - पुरानो बसपार्कमा चलखेल गर्ने, सारा फुटपाथमा चलखेल गर्ने, सार्वजनिक शौचालयदेखि विजुलीको पोलसम्म पनि चलखेल गर्न नछाड्ने महानगरपालिकाका केही कर्मचारीलाई संरक्षण दिएर बसेका मेयरले रानीपोखरीको व्यवसायिक लाभ महानगरपालिकालाई दिनसक्छन् त ?।

 कर्मचारीको भ्रष्ट प्रवृत्ति रोक्न नसक्नु मेयर शाक्यकै कमजोरी हो । मेयर बनेर आईसकेपछि उनले कर्मचारीलाई पनि आफ्नो नीति अनुसार चलाउन सक्दैनन् र कर्मचारीकै पछि हिड्नुपर्छ भने मेयरको कुर्सीमा बस्नुको कुनै तात्पर्य नहोला भन्ने आवाज पनि उठ्न थालेको छ। मेयर शाक्य कर्मचारीहरुद्वारा यति दबिएका छन् कि महानगरपालिकाको स्रोत लुटेर खान पल्किएका केही कर्मचारीहरुलाई उनले प्रतिप्रश्न गर्न समेत सक्दैनन् । उनीहरुकै आर्थिक सहयोगमा चुनाव जितेको आरोप लाग्ने गरेका मेयरले केही दिन अघि काठमाडौंको केन्द्रमा अनुगमनको क्रममा भेटेका केही घटनाहरुले पनि उनको लाचारीपन स्पष्ट हुन्छ ।

 काठमाडौंको बागदरबारदेखि सुन्धारा, रत्नपार्क हुँदै सभागृहसम्म जाने क्रममा सुन्धारामा फुटपाथमा रोपिएको रुखलाई जोगाउनको लागि राखिएको फलामको बार मेयर शाक्यकै अगाडि एउटा ट्याम्पोले भाँचिदियो । उनी त्यहाँबाट मौन अघि बढे । न्यूरोड गेट अगाडि पुग्दा त्यहाँ रहेको ट्राफिक आईल्याण्डमा रहेको फुल गाईले खाएको अवस्थामा थियो । उनले पनि यस्तो भएछ त भन्दै केही पनि नभनी अघि बढे । अन्तमा भोटाहिटी अगाडि फुटपाथलाई नै दूर्गन्धित बन्नेगरी ढल फुटेको भेटियो । उनले आफूले ४ पटक निर्देशन दिँदा पनि यो नबनेको भन्दै उल्टै गुनासो गरेर अघि बढे । उनी अनुगमन गर्न गएकै दिन अबैधानिक विज्ञापनदेखि दूर्गन्धित काठमाडौंसमेतको परिदृश्य देखियो । तर सबै सरोकारवाला निकायका प्रमुखहरु त्यहीँ भएपनि उनले केही निर्देशन दिएनन् ।

 काठमाडौंबासीको त्रासको विषय बनेको नेपाल ग्यासको विषयमा मौन बस्ने मेयर शाक्य रानीपोखरीको ऐतिहासिक अस्तित्व मेटाउन को बाट परिचालित छन् भन्ने विषय भने खोजीकै विषय बन्न सक्छ । सम्पदा मासेर पैसा आम्दानी गर्नकै लागि काठमाडौंबासीले उनलाई जिताएका हुन् ? या त सम्पदा संरक्षणको लागि उनी मेयर बनेर आएका हुन् । त्यो पनि काठमाडौंबासीले सार्वजनिक ठाउँमा मेयर शाक्यलाई प्रश्न सोध्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित