कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

पोखरा- कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

पुरनचौरमा घटना परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार, १५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको हो । सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पछाडिबाट खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिए ।

४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

यस्तै कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित