कञ्चनपुरकी निर्मलाको हत्या भएको ६ वर्ष पूरा, अलमलमा अनुसन्धान

काठमाडौं ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ। २०७५ साउन १० गते साथीको घर गएकी बालिका निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो ।  सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

पटकपटक हत्या नजिक पुगिसकेको दाबी गर्ने नेपाल प्रहरीमा अधिकारीहरु कञ्चनपुर वा सुदूरपश्चिमबाट सरुवा भएसँगै थप पहल भएन नत हत्यारा नै सार्वजनिक भए । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ ।

घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समय सडकदेखि सदनसम्म तात्यो। दोषीलाई कारबाहीको माग राख्दै भएको आन्दोलनमा अर्का बालक सन्नी खुनाले पनि ज्यान गुमाए। केही व्यक्ति घाइते भए।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा १०० भन्दाबढी व्यक्तिमाथि अनुसन्धान गर्‍यो। केहीलाई थुनामा पनि राख्यो । तर पनि सरकारले घटनामा संलग्न अझै पत्ता लगाउन सकेको छैन।

सञ्चारकर्मी रहँदा यो प्रकरणको बारेमा दबाब दिएका रवि लामिछानेले पहिलोपटक गृहमन्त्रीको कार्यभार सम्हाल्दा निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय समेत गरेका थिए। दोस्रोपटक करिब ६ महिना गृहमन्त्री रहेर सरकारबाट बाहिरिँदै गर्दा असारको अन्तिम साता उनले अनुसन्धान नतिजा उन्मुख रहेको दाबी गरेका थिए। तर अहिलेसम्म ठोस नतिजा देखिएको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछ भने निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेको बताउँछन्। 

अहिले गृहमन्त्री रमेश लेखक आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले अनुसन्धान प्रभावकारी हुने र दोषी चाँडै कानूनी कठघरामा आउने झिनो आशा पलाएको निर्मलाकी आमा दुर्गादेवी पन्त बताउँछिन्।

 

प्रतिक्रिया

सम्बन्धित