मकाउका क्यासिनोमा नेपालीलाई ठग्दै हुण्डीका डन

casinodonकाठमाडौं । अबैध हुण्डी कारोबारदेखि रक्तचन्दन र सुनको तस्करी गर्ने गिरोहको जालो नेपालबाट मकाउ र हङकङसम्म फैलिएको छ । मकाउका क्यासिनोमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई कमाएको पैसा स्वदेशमा पठाउँदा हुण्डी व्यापारीले तानातान गर्न थालेपछि उक्त कुराको पुष्टि भएको हो । क्यासिनोमा काम गर्ने नेपाली गार्डलाई ‘मैले भनेको ठाउँबाट पैसा पठाउनु’ भन्दै नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका सुदर्शन थापा मगर र किरण श्रेष्ठले धम्क्याउने गरेको एक पीडितले गुनासो गरे ।

 क्यासिनोमा काम गर्ने सेक्यूरिटी गार्डहरुले वेस्टर्न युनियन मनि ट्रान्सफर, आर्ईएमई जस्ता स्वीकृत प्राप्त निकायबाट पैसा पठाउन खोज्दा पनि थापा र श्रेष्ठले अवैध हुण्डीमार्फत पैसा पठाउन दबाब दिने गरेका छन् । सेक्युरिटी गार्डहरुको हुण्डीमार्फत पैसा पठाउने विषयमा श्रेष्ठ र थापाबीच झगडा हुन थालेपछि हुण्डी कारोबारको भित्री रहस्य बाहिर आएको हो । रोजगारीको शिलशिलामा मकाउमा मात्र काम गर्ने नेपालीहरुको मासिक झण्डै पाँच मिलियन हङकङ डलर नेपाल भित्रने गर्दछ ।

  नेपालमा नक्कली डिभोर्स गरेको रेकर्ड बनाएर चाइनिज गर्लफ्रेण्ड बनाई थापा र श्रेष्ठले मकाउ आइडी बनाएर यस्तै प्रकृतिका अबैध धन्दा सञ्चालन गर्दै आएका छन् । थापा र श्रेष्ठले अवैध हुण्डी व्यापारीहरुलाई धम्क्याएर कामदारहरुले पठाएको पैसाबाट कमिसन समेत बुझ्दै आएका छन् । यसरी अवैध रुपमा भित्रने पैसाले राजश्वमा प्रतिकुल प्रभाव पारेपनि नेपाल राष्ट्रबैंकले कुनै कारबाही गर्न सकेको छैन । वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा सिधा युवतीहरुलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने धन्दामा सक्रिय सुदर्शन थापा मगरले केहि समय अघि नेपाली कांग्रेसका नेताहरुलाई मकाउ बोलाउँदा सेक्युरिटी गार्डहरुबाट २० हजार हङकङ डलरका दरले पैसा उठाएका थिए ।

  नेपाली जनसम्पर्क समिति मकाउको अध्यक्ष र एनआरएन मकाउका पूर्व अध्यक्ष थापाले नेपालमा प्रहरीको कारबाहीबाट जोगिन कांग्रेसका नेताहरुलाई नेपाली जन–सम्पर्क समिति मकाउको तेस्रो बार्सिकोत्सब कार्यक्रममा बोलाएका थिए । त्यस्तै, हङकङ एनआरएनका सदस्य धर्म गुरुङले पनि अबैध हुण्डीको कारोबारको सञ्जाल विस्तार गरी काम गर्दै आइरहेका छन् । कुनै बेला सँगै काम गरेका सहयोगी एमबी(मिनबहादुर) गुरुङसँग नाम जोडिएपछि धर्म र एमबीको सम्बन्ध यतिखेर विग्रिएको छ । तर, यो नाटकीय मात्र रहेको बुझिएको छ । हङकङमा बस्दै आएका धर्म गुरुङले काठमाडौंमा देबु ट्राभल्स एजेन्सीमार्फत हुण्डीको कारोबार गर्दै आएका छन् । त्यसैगरी धर्मले पोखराका सिधा साधा युवतीहरुलाई हङकङ आइडी बनाइदिने भन्दै पोखराकै धिताल टुर्स एण्ड ट्राभल्सबाट हुण्डी गर्न लगाई लाखौं रकम लिने गरेको एक पीडितले बताए ।

  धर्मको समूहले हङकङ, मकाउ, युके, जापान, मलेसिया र दुवई सम्म हुण्डीको नेटवर्क विस्तार गरिसकेको छ । नेपाली कामदारबाट उठाएको अवैध रकम जम्मा गरेर सुदर्शन र किरणले मकाउमा नै सुन किन्ने गरेका छन् । सुन किनेर बचेको डलर भने उनीहरुको समूहले चीनको ग्वान्जाओ पु¥याएर नेपाली माडवारी व्यापारीहरुलाई बेच्ने गरेका छन् । यसरी उनीहरुको समूहले किनेको सुन पनि राजश्व छली गरी नेपालमा रहेका उनीहरु निकट व्यापारीलाई पठाउने गरेका छन् । र, नेपालमा रहेका सुन व्यापारीहरुले त्यसरी भित्रिएको अवैध सुन बेचेर मकाउमा कार्यरत नेपालीहरुको घर घरमा पैसा पु-याउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित