मोष्ट वान्टेडसँग तस्विर खिचाउँदै कांग्रेस नेताहरु

most wantedकाठमाडौं । नेपाल प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेका अभियुक्तले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरु सहभागी भएको तस्विर सार्वजनिक भएको छ । मानव बेचविखन तथा ओसार पसार मुद्दाका अभियुक्त सुदर्शन थापाले आयोजना गरेको नेपाली जन–सम्पर्क समिति मकाउको तेस्रो बार्सिकोत्सब कार्यक्रममा नेताहरुले सहभागिता जनाएका हुन् । मकाउमा शनिबार आयोजित उक्त कार्यक्रममा कांग्रेस सांसद तथा केन्द्रिय सदस्य धनराज गुरुङ, केन्द्रिय सदस्य बिश्ब प्रकाश शर्मा, केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङ, सांसद राजु थापा, कांग्रेस कास्कीका सभापति कृष्णबहादुर के.सी.लगायतका नेताहरुको उपस्थिति थियो ।

    वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा सिधा युवतीहरुलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने धन्दामा सक्रिय सुदर्शन थापा मगरले उनीहरुलाई आतेजाते टिकट र खान बस्नको सुविधासहित बोलाएका हुन् । अपराधको धन्दाबाट जोगिन सुदर्शनले उनीहरुलाई बोलाएर आफू निर्दोष देखाउन खोजेको कार्यक्रममा सहभागी एक व्यक्तिले बताए । जसको बारेमा मकाउमा बिरोध सुरु भैसकेको छ । महानगरिय अपराध महाशाखाले वारेन्ट जारी गरेका थापा नेपाली जनसम्पर्क समिति मकाउको अध्यक्ष र एनआरएन मकाउका पूर्व अध्यक्ष पनि हुन् । जुलाई १६ मा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य डा. प्रकाशशरण महतलाई पनि प्रमुख अतिथिको रुपमा आमन्त्रित गरिएपनि बद्लिंदो राजनीतिक अवस्था तथा मोष्ट वान्टेडको कार्याक्रमम जाँदा विवाद हुने डरले उनी गएनन् ।

   सांस्कृतिक कार्यक्रमका लागि भन्दै १४ दिनको टुरिस्ट भिसामा मकाउ पुर्याइएकी स्याङ्जाकी सञ्जु थापालाई अपराध महाशाखा र एनआरएनको सहयोगमा उद्दार गरिएपछि सुदर्शनको असली धन्दा पाँच महिना अघि नै खुलेको थियो । वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी थापालाई महिनाको ५ हजार डलर तलव हुने लोभ देखाएर मकाउ पुर्याइएको थियो ।तर, उनलाई चिनियाँ व्यक्तिको घरमा बेचिएको खवर बाहिर आएपछि अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले तत्काल मकाउमा रहेका नेपाली र संघसंस्थासँग समन्वय गरि उद्धार गरेका थिए ।

  सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट जब प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका सञ्चालक सुवास थापामगरलाई पक्राउ गर्यो, त्यसपछि यो प्रकरणमा मुछिए सुदर्शन थापा मगर । काठमाडौं जिल्ला अदालतमा मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर, मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापामगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध सञ्जुले मुद्दा समेत दर्ता गराई सकेकी छन् भने उनीहरुमाथि प्रहरीले मानव वेचविखन तथा ओसारपसारमा मुद्दा चलाएको छ । मकाउमा रहेका सुदर्शन र लोकराजलाई पनि नेपाल झिकाउने तयारी भइरहँदा सुदर्शनले भने नेताहरुलाई बोलाई आफू चोखिने उपाय रचेका हुन् ।

 एनआएनए मकाउका पूर्व अध्यक्ष सुर्दशनले रोजगारीका लागि विदेश पठाउने भन्दै वेरोजगार नेपालीबाट मोटो रकम असुलेर ठगी धन्दा चलाउँदै आएका छन । सुदर्शनले आफ्नो छोराले सञ्चालन गरेको म्यानपावरमार्फत रेस्टुरेन्टका लागि कल्चरल डान्स गर्न भन्दै केटीहरुलाई टुरिष्ट भिसामा मकाउ पुर्याएर बेच्ने गरेको समेत खुलेको छ । प्रहरीले वारेन्ट जारी गरेपछि सुदर्शनले आफू निर्दोष रहेको भन्दै केही समय अघि मिडियाबाजी समेत गरेका थिए । अहिले भने उनले नेताहरुलाई बोलाएर चोखिने प्रयास गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित