लिंदै नलिएको ४४ लाखको ऋण बोकाउँदै सांग्रिला विकास बैंक
पोखरा । सांग्रिला विकास बैंकले ऋण नै नलिएका व्यक्तिलाई पनि ४४ लाखको ऋणी बनाएपछि पोखरामा हंगामा मच्चिएको छ । यतिसम्मकी बैंकले कर्जा सूचना केन्द्र लिमिटेडलाई सूचना पठाएर ऋण नै नखाईकन ऋणी जनाएर केन्द्रको सञ्जालमा तीन पुस्ते सहित विवरण सार्वजनिक गरेपछि एक व्यक्ति मारमा परेका छन् । ऋण नै नलिएका रामबहादुर तामाङको नाममा सांग्रिला विकास बैंक पोखराले कर्जा सूचना केन्द्रमा ४४ लाख रुपैयाँको ड्यू देखाएर विवरण प्रकाशन गर्न पठाएछि यो घटना बाहिर आएको हो । ऋणी संकेत नं. ०६३–४११२६ को खाता नं. ०१००४६०००३९५७८०००००२ मा हायर पर्चेज कर्जा बापत १४ लाख र सोही संंकेतको खा.नं. ०१३०२०००३९५९४०००००२ मा व्यक्तिगत कर्जा बापत ३० लाख रुपैयाँ गरी ४४ लाख रुपैयाँ डिस्टर्वमेन्ट रकम देखाइएको छ । सांग्रिला विकास बैंकको जिरो किमी शाखाको खाता नम्बरबाट त्यस्तो विवरण केन्द्रमा सार्वजनिक भएपछि नामांकित व्यक्ति रामबहादुर तामाङले बिना कारण समस्यामा परे नै, उनले अन्य बैंकबाट लिन लागेको ऋण समेत नपाउने भएपछि झन समस्यामा परेका छन् । ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।
कर्जा सूचना केन्द्रमा अनावश्यक विवरण देखिएपछि यस प्रकरणका सम्बन्धमा सांग्रिला विकास बैंक जिरो किमीको लापरवाहीपूर्ण कार्यको छानबिन माग गर्दै रामबहादुर तामाङले बैंक तथा वित्तिय संस्थाहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकमा निवेदन हालेका छन् । सांग्रिला विकास बैंकको मनोमानी कार्यका कारण रामबहादुर तामाङले स्वीकृतीको अन्तिम अवस्थामा पुगेको गरिमा विकास बैंकबाट ऋण लिने फाइल कर्जा सुचनाकै कारण फिर्ता भएको बताइएको छ । यस विषयमा सांग्रिला विकास बैंक जिरो किमी शाखाको ध्यानाकर्षण गराउँदा उक्त शाखाकी शाखा प्रबन्धक हिरामाया गुरुङले रामबहादुर तामाङले ४४ लाख ऋण लिएको बारे आफूलाई कुनै जानकारी नभएको बताइन् ।
खाताको कोड नम्बर अनुसार सांग्रिला विकास बैंक जिरो किमीकै रहेको भएपनि ऋण बाँकी रहेको र कर्जा सूचना केन्द्रमा विवरण देखिएको बारेमा गुरुङले अनभिज्ञता व्यक्त गरिन । यता सोही बैंकका क्षेत्रीय प्रबन्धक दीपेन्द्र सुवेदीले कुनै बेला ऋण लिएर चुक्ता गरेको हुनसक्ने तर्क गरे । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सिआइबी)मा कर्जा ड्यू देखिनु कुनै ठूलो इष्यू होइन, प्रबन्धक दिपेन्द्रले भने । नखाएको ऋण खाएको जनिएर कर्जा सूचना केन्द्रमा विवरण प्रकाशन भएकै कारण अन्य बैंकहरुबाट विश्वास गुमाउनुपर्ने अवस्था सिर्जना गराउने बैंकका जिम्मेवार कर्मचारीले ठूलो इष्यू होइन भन्दै पन्छन मिल्छ ? सोचनीय प्रश्न उब्जेको छ । यहि तबरले कर्जा सूचना केन्द्रमा मनोमानी ढंगले विवरण प्रकाशन हुने हो भने तपाई जो कोहीको नाममा पनि सोधपुछ गरेकै भरमा ऋण विवरण देखिने हो भने त्यसलाई नर्मल इष्यू भन्न मिल्छ ? नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रबन्धक चिरञ्जिवी चापागाई ग्राहकहरुको अहित हुने गरी बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी ढंगले कर्जा सूचना विवरण पठाउन नमिल्ने बताउँछन् । बैंकले विवरण नपठाई सीआईबीले विवरण सञ्जालमा राख्न नमिल्ने चापागाईले बताए । कुनै कमजोरीका कारण राखिएको हो भने पनि तत्काल हटाएर सेवाग्राही नागरिकलाई बैंक कारोबारमा मार्ग प्रशस्त गरिदिनु पर्ने बताएका शाखा प्रबन्धक चापागाईले सांग्रिला विकास बैंकको मनोमानी सीआइबी प्रकरणका बारेमा छानबिन गरिने बताए । बैंकहरुको मनोमानी शैली निमन्त्रण गर्ने नियमक निकाय राष्ट्र बैंकले निगरानी बढाउनुपर्ने औल्याइएको छ । ग्राहकहरुकै सेवा शुल्क र व्याजबाट करोडौं नाफा कमाएर वातानुकुलित कोठाबाट तिर्ने ग्राहकहरु माथी जथाभावी गरेर हैरानी खेलाउनुलाई किमार्थ राम्रो सकिन्न । आफ्नै कार्यालयले सीआइबी पठाउने, आफ्नै हातले आन्तरिक सिआईबी लेखेर क्लिन चिट दिने सांग्रिला बैंकको स्वेच्छाचारिताको हद् नाघेको छ । राष्ट्रबैंकले मात्र हैन, आम नागरिकले पनि यस्ता कार्यशैली अपनाउने बैंकहरुप्रति खबरदारी गर्दै स्वयम् पनि सचेत रहनु जरुरी छ । ऋण असुलीमा पनि मनोमानी सांग्रिला विकास बैंकले ऋण असुली कार्यमा पनि उस्तै हेलचेक््रयाई गर्ने गरेको पाइएको छ । नागरिकको लगानी र ऋणको भरमा चल्ने बैंकहरुले ऋण असुलीमा समयमै प्रकृया नअपनाइएको कारण बैंक धरासायी बन्न सक्ने सम्भावना बढ्न सक्ने विज्ञहरुले टिप्पणी गरेका छन् । सांग्रिला विकास बैंकले लगानी गरेको हायर पर्चेज कर्जाका ऋणी ज्ञानबहादुर दोङको कुनै खोजिनीति गरिएको छैन । बैंकले लगानी गरेको ट्रक ५ महिना पहिले पक्राउ गरि राखिदा पनि ऋण असुल्न लिलामी प्रकृयामा समेत गएको छैन । ऋणी ज्ञानबहादुर दोङको ऋणमा धन जमानी रहेका राजेश कुँवर र रामबहादुर तामाङ भएपनि बैंकले धन जमानी रहेका राजेश कुँवरलाई बेवास्ता गरेको छ भने रामबहादुर तामाङलाई मात्र पछ्याइरहेको र सीआइबीमा पनि नाम समावेश गरी खराब सूचीमा राखेको पाइएको छ । बैंकले व्यवहारिक पक्षलाई छायाँमा राखेर व्यक्तिगत ढंगले लाभका लागि काम गरेको बुझ्न सकिन्छ । आज नागरिकको लगानी रहेको बैंकहरु केही व्यक्तिको लहडमा चल्न थालेपछि बैंकको अवस्था बिग्रन सक्ने तर्फ सचेत रहनु जरुरी छ ।
प्रतिक्रिया