कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश

sushilaकाठमाडौं  । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । कार्की नेपालको पहिलो प्रधानन्यायाधीश महिला हुने भएकी हुन् ।  कार्कीले  संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित भएर आफू विरुद्ध परेको उजूरीको बिषयमा जवाफ दिएकी थिइन् । कार्कीको जवाफ सुन्नुअगाडि समितिले उनीविरुद्ध उजूरी गर्नेहरुसँग गोप्य बैठक गरेको थियो । आफूविरुद्ध परेको उजूरीको जवाफ दिंदै कार्कीले आफू महिला भएकाले मात्रै प्रधानन्यायाधीश हुन नलागेको दाबी गरिन ।उनले आफू अस्थायी र स्थायी न्यायाधीश भएको अवधी ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६५ मुद्दा छिनेको बताउँदै बैशाख २ गते कायम मुकायम प्रधानन्यायाधीश भएपछि मात्रै ९ सय ३५ मुद्दा छिनेको जानकारी गराइन् ।

 उनले अदालतमा मुद्दाको चाप अत्याधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न आग्रह गरिन् । समितिले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस अन्य ११ जनाको पनि सुनुवाई प्रक्रिया अघि बढाएको छ ।उनले न्यायाधीशमा सिफारिस गरिएकी अधिवक्ता सपना मल्लको नामै लिएर उनी न्यायाधीश बन्न योग्य रहेको तर्क गरिन ।

  डीएनए टेष्टलाई नाता प्रमाणितको आधार नमानेको भन्दै उनीविरुद्ध परेको उजूरीको बिषयमा महत्वका साथ छलफल भएको थियो । बैठकमा सहभागी अधिकांश सांसदहरुले त्यसै उजूरीलाई आधार मानेर प्रश्न सोधेका थिए ।उक्त उजूरीको जवाफ दिंदै कार्कीले डीएनए टेष्टलाई प्रमाणको रुपमा अस्वीकार नगरेको दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित