महानायकलाई ब्राण्ड एम्बेसडर बनाएर इनोभेटिभको ठगी

INLOGOकाठमाडौं । विदेश पठाउने नाममा ठगी गरेको भन्दै प्रहरीले दिनहुँजसो विभिन्न एजुकेशन कन्सलटेन्सीका सञ्चालकलाई ठगी मुद्दामा पक्राउ गरी कारबाही गरेपनि त्यस्ता घटना भने दिन प्रतिदिन बढिरहेकै छन् । नाम चलेका राम्रा कन्सलटेन्सीसमेत पछिल्लो सयम ठगी धन्दामा मुछिएपछि उच्च शिक्षा अध्ययनका लागि विदेशमा पढ्न चाहने विद्यार्थीहरु यतिबेला अन्यौलमा पर्न थालेका छन् । अझ मुलुकका गहनाका रुपमा परिचित सेलिब्रेटीहरुलाई नै ब्राण्ड एम्बेसडर बनाएर ठगी धन्दा गर्न थालेपछि त्यस्ता कन्सलटेन्सीहरुको एकातिर विश्वसनियता त गुम्दै गएको छ नै अर्कोतिर सेलिब्रेटीहरु समेत बद्नाम हुन थालेका छन् ।

  प्रसंग हो, राजधानीको पुरानो बानेश्वरमा कार्यालय रहेको ईनोभेटिभ नेपाल नामक एजुकेशन कन्सलटेन्सीको ठगी धन्दा । महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेर इनोभेटिभ नेपालले विद्यार्थीहरुलाई विदेश पठाउने नाममा मनपरी ढंगले पैसा उठाई बढी कमाउने लोभमा मिटर व्याजमा लगानी गरेको खुलेको छ । इनोभेटिभका सञ्चालक कपिल बर्माले ठगी मुद्दामा महानगरिय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ओमकार गु्रपका सञ्चालक सनिष मिश्रलाई १० करोड भन्दा बढी रकम लगानी गरेको खुलेको छ । विद्यार्थीबाट विभिन्न बहानामा उठाएको पैसा फिर्ता नगरेपछि मिश्र विरुद्ध नेपाल शैक्षिक परामर्श संघ(इक्यान) र परिसरमा उजुरी परेको छ । मिश्रले अमेरिकामा रहेका विकाश सुनुवार र विजय श्रेष्ठलाई ट्युसन फि तिर्नुप-यो भन्दै विद्यार्थीका आफन्तसँग ८ लाख ६६ हजार रकम लिएर कलेजमा नपठाई ठगी गरेको भन्दै उजुरी परेको छ । त्यस्तै, साजन भण्डारी नामका अर्का विद्यार्थीसँग अष्टे«लियामा कलेजको इन्स्योरेन्सको रकम तिरिदिन्छु भन्दै ३ लाख ४४ हजार रकम लिएर इन्स्योरेन्स नगरेपछि ठगिएको भन्दै भण्डारीले पनि उजुरी गरेका छन् ।

 प्रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ र साजन भण्डारीले परिसरमा उजुरी दिएपछि प्रहरीले मिश्रलाई पक्राउ गरी पीडित विद्यार्थीको पैसा फिर्ता गर्ने शर्तमा सहमती गराई दैनिक हाजिरीमा छाडेको छ । विद्यार्थीबाट सम्पर्कविहिन भएपछि गत साता परिसरको टोलीले मिश्रलाई पक्राउ गरी सहमति गराएर हाजिरीमा छाडेको परिसरका एक प्रहरी अधिकारीले बताए । त्यस्तै, इक्यानले पनि आन्तरिक रुपमा छानविन गरिरहेको महासचिव सन्तोष प्याकुरेलले बताए । इक्यानले इनोभेटिभको सदस्यता समेत खारेज गर्ने तयारी गरेको छ ।

 यसरी महानायक राजेश हमाल जस्तो व्यक्तित्व पनि यस्ता ठगी धन्दा मच्चाउने कन्सलटेन्सीको फन्दामा परेपछि विद्यार्थीहरु झनै अन्यौलमा परेका छन् । यो घटनापछि विद्यार्थीहरुलाई कुन कन्सलटेन्सी राम्रो र कुन नराम्रो हो भनेर छुट्याउन पनि कठिनाई हुने देखिएको छ । किनकी दुई वर्षका लागि इनोभेटिभको ब्राण्ड एम्बेसडर बन्दा हमालले भनेका थिए–‘नेपालको शैक्षिक परामर्शदाता कम्पनीको रुपमा दश वर्ष सेवा दिइसकेको इनोभेटिभ नेपाल एक गुणस्तरीय परामर्शदाता कम्पनी भएकाले आफू जोडिन चाहेको हुँ । इनोभेटिभ नेपालमा स्थापित र मर्यादित कम्पनी पनि हो । समाज र देशलाई सही दिशातर्फ डो-याउने शिक्षा क्षेत्रसँग जोडिन पाएकोमा म निकै खुसी छु ।’ हमालले आगामी दिनमा इनोभेटिम नेपाल अझ सशक्त र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

  ब्राण्ड एम्बेसडर बन्दा निश्चय नै महानायक हमालले इनोभेटिभको बारेमा राम्रोसँग बुझेर अनुबन्धित भएका थिए होलान् । र, उनले दुई वर्षका लागि इनोभेटिभबाट राम्रै शुल्क पनि लिएको इक्यानका एक सदस्य बताउँछन् । तर, पैसाकै लोभमा लागेर महानायक हमाल जस्तो एउटा प्रतिष्ठित र राष्ट्रको गहना विद्यार्थीबाटै पैसा असुलेर ठगी धन्दा मच्चाउने इनोभेटिभ जस्ता कन्सलटेन्सीको प्रभावमा पर्नु कति ठिक या वेठिक होला ? सोचनिय विषय बनेको छ ।यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित