राजधानीका अधिकांश डेरी पसलमा फोहोर

milkकाठमाडौं : सरकारले उपत्यकाका तीन जिल्लाभित्रका डेरी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांशले डेरी पसलहरुले सरसफाइ, र शुद्धतामा हेलचक्र्याँइ गर्ने गरेको भेटिएको छ । पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअनुरुप केन्द्रीय गाई भैँसी प्रवर्द्धन कार्यालयले एक हप्ता लगाएर काठमाडौंका १४६ वटा साना डेरी पसलहरुको अनुगमन सकेको छ । यसक्रममा काठमाडौंका ५१, ललितपुरका ४३ र भक्तपुरका ५२ वटा डेरी पसलहरु छड्केमा परेका थिए । उपत्यकाका ७ प्रतिशत डेरी पसलमात्रै सरसफाइयुक्त रहेको पाइएको छ । १४६ डेरी पसल अनुगमन गर्दा ११ वटा डेरी पसलमात्रै सरसफाइ शुद्धताका हिसाबले ‘राम्रो’ वर्गमा राखिएको कार्यालयले जनाएको छ । त्यसैगरी ८१ वटा पसलहरुलाई ‘मध्यम’ स्तरको बर्गीकरण गरिएको छ भने ज्यादै फोहोर र शुद्धतामा कमजोर भएका ५४ वटालाई ‘कमसल’को सूचीमा समावेश गरिएको छ । काठमाडौंका ७ र भक्तपुरका ४ वटा पसलहरु मात्रै राम्रो बर्गमा सूचीकृत भएका छन् । ललितपुरका एउटा डेरीले पनि सरसफाइका न्युनतम् मापदण्ड पूरा गरेको नभेटिएको कार्यालयका प्रमुख ज्ञावालीले जानकारी दिए । काठमाडौंका २० डेरी पसल ‘मध्यम’ मा सूचीकृत भएका छन् भने २४ पसललाई ‘कमसल’मा राखिएको छ । ललितपुरका २६ डेरी पसल ‘मध्यम’ बर्गमा परेका छन् भने १७ वटालाई न्यून स्तरको सूचीमा राखिएको छ । भक्तपुरमा ३५ वटा पसलले मध्यम स्तरको सरसफाइ कायम गरेको भेटिएको छ भने १३ वटाले सरसफाइमा अधीक हेलचक्र्याइँ गरेको टोलीले ठहर गरेको छ । कार्यालयले एक महिनाभित्र पसलमा सरसफाइ शुद्धताका लागि आवश्यक पूर्वाधार राख्न समय दिएको जनाएको छ । अबको एक महिनापछि ती सबै पसलमा फेरि अनुगमन गरिने र नसच्चिए कारवाही प्रक्रिया अघि बढाइने भएको छ । यसैगरी विभिन्न पसलहरुबाट दूधको नमूना लिएर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्यावमा पठाइएको छ । योबारे रिपोर्ट आएपछि काठमाडौंमा डेरीहरुमा बेचिने दूधको गुणस्तर कस्तो छ भन्ने पत्ता लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित