अब २४ घण्टा भित्रै पाइन्छ एमआरपी
काठमाडौं : सरकारले राहदानी वितरणमा आजदेखि नयाँ सेवा सुरु गरेको छ । सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको हो । आजैबाट राहदानी विभागको वेबसाइटमा लगइन गरेर जहाँसुकैबाट आवेदन दिन सकिनेछ । आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अनलाइनबाटै आवेदन दिने अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् । ६ वर्षअघि एमआरपी निर्माण एवम् वितरण थालिएको सन्दर्भमा आजदेखि सुरु भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको भन्दै परराष्ट्रमन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रुतसेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए। विदेशस्थित १० नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको जानकारी दिँदै उनले त्यस्तो सेवा जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताए। सरकारको गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्नेछ भने १२ हजार बुझाए दुई दिन र १० हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ। विभागका अनुसार पाँचदेखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन्। जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ। यसअघि विभागले १० हजार दस्तुर लिएर एक सातामा नै राहदानी उपलब्ध गराउँदै आएको थियो। प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत सेवाग्राहीले http://nepalpassport.gov.np/ मा लगइन गरी आफ्ना विवरण आफ्नै कम्प्युटरमा स्वयम् भर्न सक्नेछन् । उक्त विवरण विभागमा पठाइएको २१ दिनभित्र सेवाग्राही रूजु गर्न नगएमा उक्त पद्धतिबाट प्रस्तुत विवरण स्वतः हट्नेछ । सेवाग्राहीले विभागमा गएर पनि त्यस्तो विवरण प्रत्यक्ष दर्ता गर्न सक्नेछन्। सेवाग्राहीले अनलाइनबाट चारवटा फारम भर्नुपर्छ । तर, त्यसरी भरिएको विवरणलाई पछि विभागले एकपटक पुनः रुजु गर्नेछ ।
सेवाग्राहीको तस्वीर खिच्दै राहदानी बिभागका कर्मचारी पासपोर्टका लागि आवश्यक पर्ने तपाईको फोटो विभागले आफैं खिच्नेछ र, यसरी खिचिएको फोटोको पैसा तिर्नुपर्दैन । फोटो खिच्न भने विभागमै जानुपर्छ । यसअघि फोटो बाहिर आफैँले खिचाएर लाने गरिन्थ्यो । यसरी खिचाइएको कतिपय फोटो काम नलाग्ने भएपछि सेवाग्राहीको सुविधाका लागि परराष्ट्रमै फोटो खिच्नुपर्ने व्यवस्था गरिएको हो । फोटो खिच्न जाँदा निवेदकलाई सँगै राखेर उसले अनलाइनमा भरेको विवरण रुजु गरिनेछ । र, त्यहीबेला सेवाग्राहीले राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी सेवाग्राहीले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइनबाट गर्न सक्नेछन् । त्यसपछि अनलाइनबाटै तपाईले बारकोट नम्बर पाउनु हुनेछ । फोटो खिच्न र पैसा तिर्न जाँदा त्यही कोड लिएर जानुपर्छ । उक्त कोड नम्बरका आधारमा विभागले तपाईंको फोटो खिच्छ, विवरण रुजू गर्छ अनि काम अघि बढाउँछ । यसो गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले अन्य पैसा तिर्नुपर्दैन । विवरण नमिलेकै कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको पनि अन्त्य हुने विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
प्रतिक्रिया