ठगी धन्दा चलाउने वीन वीनका यमराजलाई ठूलो झट्का
काठमाडौं । अबैध रुपमा वीन वीन नेटवर्किङ व्यवसाय चलाएर बसेका म्यानपावर व्यवसायी यमराज तामाङको ठगी धन्दाका विषयमा एकपछि अर्को रहस्य खुल्न थालेपछि उनलाई साथ दिनेहरूले धमाधम छाड्न सुरू गरेका छन् ।तामाङविरुद्ध समाचार आउन थालेपछि उनका विश्वास पत्राहरूले छाड्न थालेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।वीन वीन मार्ट नेटवर्किङ प्रालिका कार्यकारी निर्देशक तामाङका अर्का मुख्य सहयोगी सुदर्शन थापाले पनि छाडेको खुलासा भएको छ । फिल्मको नायक हुँ भन्दै गाउँगाउँ गएर सर्वसाधारण ठगेर वीन वीन नेटवर्किङको व्यवसायमा लगाउने गरेका थापाविरुद्ध प्रहरीमा पनि उजुरी परेका छन् ।
सिन्धुपाल्चोक घर भएका थापाले करिव दुई सय जनालाई ठगी गरेका छन् । सुदर्शन थापा पनि भागेर हिँड्ने गरेका छन् ।नेकपा माओवादी केन्द्र काभ्रे जिल्लाका जिल्ला सदस्य विनोद गौतम पनि जिल्लामा बस्न नसक्ने अवस्थामा पुगेका छन् । गृहमन्त्री शक्ति बस्नेतको धाक लगाएर काभ्रेमा बसेका गौतमविरुद्ध पनि स्थानीय प्रशासनमा उजुरी पर्न थालेका छन् । उजुरी परेपछि गृहमन्त्री बस्नेतका सहयोगीहरूलाई फोन गर्न लगाएर काभ्रेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई केही नगर्नु भन्ने आदेश गर्न लगाएको एकजना पीडितले गुनासो गरे ।
‘हामीलाई फकाएर वीन वीन नेटवर्किङमा लगाएर दुईरदुई लाख लगे’, ती पीडितले भने–‘उजुरी दिँदा गृहमन्त्रीको आदेश छ अहिले विनोद गौतमलाई केही नगर्नु भन्ने गरेका छन् ।’हुन त यमराज तामाङले पनि विभिन्न शक्तिको प्रयोग गरेर वीन वीन नेटवर्किङको धन्दा चलाइ रहेका छन् । हुन त तामाङ अहिले भूमिगत अवस्थामा छन् । दुई दिनअघि कञ्चनपुरसम्म पुगेर वीन वीन नेटवर्किङका सदस्यले संकलन गरेको पैसा लिएका तामाङसँग पीडितहरूले पैसा माग्न थालेका छन् ।
पैसा माग्नुका साथै स्थानीय प्रशासनहरूमा उजुरी पर्न थालेपछि सामाखुसीमा कान्तिपुर ओभरसिज र लालीगुराँस दोहोरी साँझ चलाउँदै आएका तामाङ भागेर हिँड्नु पर्ने अवस्थामा पुगेका हुन् । लमजुङ जिल्ला स्थायी घर भएर काठमाडौंमा बसोबास गर्दै आएका तामाङ यसअघि युनिटी नेटवर्किङमा आबद्ध थिए । युनिटी नेटवर्किङ डुबेपछि उनले भारतको बनारसमा वीन वीन मार्ट नेटवर्किङ प्रालि दर्ता गराई काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, रुपन्देही, दाङ, कैलाली, कञ्चनपु, बाँकेलगायतका जिल्लामा आफ्नो ठगी धन्दा चलाएका हुन् । उनका थुप्रै सहयोगीहरूलाई प्रहरीले धमाधम पक्राउ पनि गर्न थालिसकेको छ । दाङमा तामाङका मुख्य सहयोगी पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया