अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं

अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्ले यो वर्षको नारा समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधारभन्ने तय गरेको छ ।

नेपालमा पनि समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधारभन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् ।

सो प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश अपाङ्गता समावेशीव्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ । महासङ्घले विपद् व्यवस्थापन र मानवीय सङ्कटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैरसरकारी संस्थाका कामहरूलाई अपाङ्गता समावेशी बनाउन पैरवीको आवश्यकता औँल्याइएको छ । -रासस

प्रतिक्रिया

सम्बन्धित