जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
काठमाडौं ।
एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।
अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।
जनकपुरका लागि किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एकरएक विकेट लिए ।
प्रतिक्रिया