मेडिकल उपकरणको टेण्डरमा प्रहरी, अस्पताल र सप्लायर्सको मिलेमतो

aspatalडडेलधुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायका टेण्डरमा हुँदै आएका घोटलाविरुद्ध जति ठूलो कारबाही गरेपनि स्वास्थ्य मन्त्रालयमातहतका अस्पतालमा भने सेटिङमा काम हुने गरेको रहस्य खुलेको छ । कुरा हो, उपक्षेत्रीय अस्पताल डडेलधुराको कम्प्युटेड रेडियोग्राफी(सिआर) को टेण्डर प्रक्रिया । अस्पताल, सप्लायर्स, स्थानीय डन र प्रहरी प्रशासनको सेटिङ भएपछि टेण्डरमा भाग लिन चाहने कम्पनीले यहाँको अस्पतालमा जतिसुकै संघर्ष गरेपनि फर्म दर्ता नै गर्न पाउँदैनन् । जसको उदाहरण उपक्षेत्रीय अस्पताल डडेलधुरामा भर्खरै खुलेको सिआरको टेण्डरमा मिलेमतो नै हो । एउटै मात्र सप्लायर्सलाई टेण्डर हाल्न लगाएर अन्य कम्पनीलाई विभिन्न बहानामा टेण्डर प्रक्रियामा भाग लिन नै दिइएन । अस्पतालका एक कर्मचारीका अनुसार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, जिल्लाका प्रहरी प्रमुख र स्थानीय गुण्डालाई सेटिङ मिलाई डिबी इन्टरनेशनलका डिवि बस्नेतले एकलौटी रुपमा टेण्डर हालेका छन् । बस्नेतमाथि सस्तो मूल्यमा टेण्डर हाल्न खोज्ने अन्य सप्लायर्सलाई टेण्डरमा भाग लिन समेत नदिएको आरोप लागेको छ । उक्त टेण्डरमा लाखौंको चलखेल भएको अस्पतालका ति कर्मचारी बताउँछन् । यसअघि टेण्डर आव्हान गर्दा बस्नेतको कम्पनीको स्पेसिफिकेसन नमिले पनि कानुन अुनसार अर्को कम्पनीलाई दिनु पर्नेमा टेण्डर नै रद्द गराएर पुनः टेण्डर आव्हान गरिएको हो । यस अघि टेण्डर हालेका अन्य कम्पनीहरुको भने स्पेसिफिकेसन मिलेको थियो । तर, अस्पतालको मिलेमतोमा गैरकानुनी तरिकाले पुनः टेण्डर आब्हान गरी बस्नेतले सेटिङमा टेण्डर हात पार्न लागेका हुन् । स्मरणीय छ, बस्नेतले जिम्मेवार निकायका पदाधिकारीलाई सेटिङ मिलाई वर्षौंदेखि उक्त अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामान, उपकरणहरुको एकलौटी रुपमा टेण्डर हात पार्दै आएका छन् । विभिन्न वहानामा आफ्नो व्यापार बढाउनका लागि यसरी मनपरि ढंगले टेण्डर हात पर्दा जनताको स्वाथ्यमाथि प्रतिकुल असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित