यूनिटी शैलीमा करोडौं असुल्दै वीन वीन नेटवर्किङ

yamrajकाठमाडौं । नेटवर्किङको ठूलो ठगी धन्दा यूनिटी प्रकरण सेलाउन लागिरहेका बेला उदाएको वीन वीन ट्रेड मार्ट प्रालिले फेरि आफ्नो ठगी धन्दालाई दिन प्रतिदिन फैलाई रहेको छ । काठमाडौंको सामाखुसीस्थित कान्तिपुर ओभरसिज मेनपावर र लालीगुराँस दोहोरी साँझ सञ्चालन गरेर बसेका यमराज तामाङविरुद्ध धमाधम उजुरी पर्न थालेका छन् । यिनै तामाङ कार्यकारी निर्देशक रहेको वीन वीन नेटवर्किङको ठगी धन्दाबाट दुई लाखभन्दा बढी सर्वसाधारण पीडित बन्न पुगेका छन् ।

   भारतको बनारसस्थित चौदमारी चोकमा कार्यालय स्थापना गरेका तामाङले वीस हजारभन्दा बढीलाई तालिम दिएर वीन वीनको ठगी धन्दामा लगाइरहेका छन् । नेटवर्किङको ठगी धन्दाबाट आएको पैसाले राजधानीमा मोजमस्ती गरेका तामाङका कारण हजारौं सर्वसाधारण घरबार विहिन भएका छन् । कतिको घरबार विग्रिएको छ भने कतिपय विवाहित जोडीले सम्बन्ध विच्छेद गर्नुपरेको थुप्रै उदाहरण रहेको एक पीडितले बताए । आफूहरू ठगिएको थाहा पाएपछि अहिले वीन वीन नेटवर्किङबाट पीडित भएकाहरूले धमाधम उजुरी दिन थालेका छन् ।

  प्रहरी र स्थानीय प्रशासनमा उजुरी दिन शुरू गरेका पीडितहरूले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा पनि लिखित उजुरी दिएको एक नेताले बताए । ‘वीन वीन नेटवर्किङको ठगी धन्दाविरुद्ध पार्टीमा उजुरी परिरहेका छन्’, नेकपा माओवादीका ती नेताले भने–‘धमाधम छानविन भइरहेको छ । जनतालाई ठग्ने दोषीलाई छाड्ने छैनौँ । उन्मुक्ति पाउने छैनन् ।’सुरूमा दश हजार लिएर वीन वीनले बेरोजगार युवाहरूलाई ठूलो सपना देखाएर तालिम दिने गर्छ । त्यसपछि ती युवा र सदस्यहरूसँग दुई लाख भारतीय पैसा लिने गरिन्छ । त्यो पैसा कुनैपनि हालतमा फिर्ता दिइँदैन । कसैले पैसा फिर्ता माग्यो भने ‘जे मन लाग्छ त्यही गर, जहाँ गएर उजुरी हाले पनि हुन्छ’ भन्दै ज्यान मार्नेसम्मको धम्की तामाङ र उनका गुण्डाहरूले दिने गरेका छन् ।

  वीन वीन नेटवर्किङको ठगी धन्दामा नाम चलेका कलाकारदेखि माओवादीका पूर्वलडाकुहरू संलग्न छन् । पूर्व लडाकुहरूले आफू ठगिएको चाल पाएपछि अहिले धमाधम तामाङ र उनका साथीहरूको खोजी गर्न थालेका छन् । अहिले तामाङ र यो ठगी धन्दामा लागेकाहरू मोबाइल अफ गरेर लुकेर हिँडन थालेका छन् । उनीहरू कसैको सम्पर्कमा आउन मान्दैनन् । तामाङ पनि राजधानीमा धेरै बस्दैनन् । बसिहाले पनि लुकेर बस्ने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा वीन वीन नेटवर्किङ र यसका सञ्चालक तामाङको ठगी धन्दाविरुद्ध समाचार आउन थालेपछि पीडितहरूले चासो दिनुका साथै प्रहरी प्रशासनको सम्पर्कमा पुग्न थालेका छन् । महानगरीय प्रहरीले पनि वीन वीन नेटवर्किङको ठगी धन्दालाई निगरानी सुरू गरेको जनाएको छ ।

  उता, सम्पत्ति शुद्धीकरण विभागले पनि तामाङ सहितको समूहको सम्पत्ति र अस्वभाविक कमाईका विषयमा छानविन सुरू गरेको स्रोतले जनाएको छ । तामाङलाई खोटाङका हरिशचन्द्र राई (एमआरक्यू), सिन्धुपाल्चोकका सुदर्शन थापा (कलाकार), उदयपुर जिल्ला घर भएका पूर्व जनमुक्ति सेना नेपालका कम्पनी कमाण्डर काशिराम माझी, फेन्सी स्टोर सञ्चालन गर्दै आएकी उदयपुरकी सरस्वती माझीले पनि भरपूर सहयोग गर्दै आएका छन् । रुपन्देही जिल्लामा यज्ञ आचार्यको हत्या अभियोगमा सजाय भोगी सकेका सागर बन्दीले वीन वीन जस्तै अर्को स्वास्थ्य सम्बन्धी नेटवर्किङ चलाउने तयारी गरेका छन् ।

  वीन वीनबाट ठगी गरेर करोडौं कमाइ गरेका सागरले आफ्नो ठगी धन्दा बुटवल, पाल्पामा सक्रिय बनाएका छन् । चितवनका गौतम गुरुङ, गोर्खाका राज मगर र राम मगर, धादिङ घर भएका ‘लाल सलाम’ फिल्ममा खेलेका ज्ञानेन्द्र मगर, सुनवल नवलपरासीका राजकमुार विक, दोलखाका राज श्रेष्ठ, दाङ देउखुरीका नरेश चौधरी अहिले पनि नेटवर्किङको ठगी धन्दामा ज्यान फालेर लागेका छन् । चितवनका अनुप तामाङ, गोर्खाका काजी गुरुङ, रोल्पाकाका पूर्व जनमुक्ति सेना प्रवीण रोका, गोर्खा घर भइ ठमेलमा व्यवसाय गर्दै आएका पर्शुराम भट्ट, चितवन बस्दै आएका रोमी शाही ठकुरी, कपिलवस्तुका युवराज उपाध्यायले पनि नेटवर्किङको ठगी धन्दा चलाउँदै आएका छन् । नेटवर्किङबाट ठगी गरेको पैसाले युवराज उपाध्यायले भारतमा राशन कार्ड लिएर बनरसमा घरसमेत बनाइ सकेका छन् । वीन वीन सँग फुटेर अपेरीको नाममा ठग्ने गिरोह वीन वीन नेटवर्किङमा तामाङसँग मिलेर करोडौं ठगी गरेपछि मकवानपुर जिल्ला हेटौंडा स्थायी घर भइ नयाँ बानेश्वरमा बस्दै आएका विवेक तिमिल्सिनाले अपेरी नामक अर्को नेटवर्किङको ठगी धन्दा चलाइरहेका छन् । तिमिल्सिनाले पनि बेरोजगार युवा र व्यक्तिहरूलाई रोजगारी र पैसा कमाउने विभिन्न प्रलोभनमा पारेर नेटवर्किङको ठगी धन्दामा लगाइ रहेको एक पीडितले बताए । तिमिल्सिनाले सुरूमा तालिमका लागि दश हजार र त्यसपछि सर्टिफिकेटका लागि भन्दै १८ हजार पाँच सय लिने गरेका छन् । तालिम लिने बेला विवेकले २१ सय रुपैयाँ लिएर फर्म बिक्री गरेको एक पीडितले बताए । अपेरीले प्रतिव्यक्ति दुई लाख उठाउन सुरू गर्छ ।

  त्यसपछि त्यो रकम कहिल्यै फिर्ता नहुने गरी तिमिल्सिनाको खातामा जाने गरेको छ । तिमिल्सिनाले भारतको उत्तराखण्डस्थित रुद्रपुरमा कार्यालय खोलेका छन् । तिमिल्सिनाको नेटवर्किङको ठगी धन्दाबाट ललितपुर जिल्लाको सानोगाउँका रमण महर्जन, हरिसिद्धिका सुरेश महजन, सुनाकोठीका विक्की महर्जन, सानोगाउँका अमन मोक्तान, सुनाकोटीका राजीव महर्जन, सानोगाउँका विप्लव महर्जन र राम महर्जनले दुई–दुई लाखका दरले पैसा डुबाइ सकेका छन् ।

  उनीहरूलाई सानोगाउँका निशान महर्जन र इमाडोलका सुवास राउतले नेटवर्किङमा फसाएका हुन् । युवाहरूले आफ्नो रकम माग गर्दा उनीहरूले तिमिल्सिनाले पैसाभरि सबै लगेको भन्दै पैसा लिन भारत जान सुझाव दिने गरेका छन् । उता, दाङ जिल्लाको तुलसीपुर स्थायी घर भएका नारायण भण्डारीले पनि वीन वीनको नेटवर्किङबाट ठूलो धनराशी ठगी गरेपछि आफ्नै नाममा स्वास्थ्य सेवा विभागबाट स्वास्थ्यसम्बन्धी नेटवर्किङ दर्ता गराउन सक्रिय भएका छन् ।

  स्वास्थ्यसम्बन्धी नेटवर्किङ व्यवसाय चलाउनका लागि भण्डारीले स्वास्थ्य सेवा विभागदेखि स्वास्थ्य मन्त्रालयसम्मका कर्मचारीलाई पैसा खुवाएको स्रोतले जनाएको छ । भण्डारीको स्वास्थ्यसम्बन्धी नेटवर्किङलाई बैधता दिन स्वास्थ्य विभागका केही कर्मचारीहरू सक्रिय भएर लागेका छन् ।-यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित