इक्यान र आइरिनमा आवद्ध कन्सलटेन्सीलाई बन्द गर्न निर्देशन

irineभरतपुर । शिक्षा मन्त्रालयबाट स्वीकृत नै नलिई चितवनमा सञ्चालित एजुकेशन कन्सलटेन्सीमा जिल्ला प्रशासन कार्यालयले सोमबार पनि अनुगमन गरि बन्द गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालय अन्तर्गत रहेको शैक्षिक परामर्श एवम् प्रमाणीकरण शाखामा दर्ता नभइ सञ्चालन गरिएका कन्सलटेन्सी बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवन र चितवन प्रहरी सकृय भएर लागेका हुन । सोमबार छापा मारेर बन्द गर्न निर्देशन दिएका कन्सलटेन्सीहरु अधिंकाश इक्यान र आइरिनमा आवद्ध छन् । प्रशासनले म्याक्स ओए कन्सलटेन्सी, दाईसुकी इन्टरनेशनल, निपोन एकेडेमी कन्सलटेन्सी, युनिक्याम्पस एजुकेशन कन्सलटेन्सी, पोसिबल इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, ग्लोबल रिच कन्सलटेन्सी र अमेरिकी इन्टरनेशनल एजुकेशन सेन्टरलगायतका कन्सलटेन्सीलाई बन्द गर्न निर्देशन दिइएको छ । बन्द भएका मध्ये युनिक्याम्पस आइरिनका महासचिव विज्ञान श्रेष्ठद्धारा सञ्चालित हो भने अन्य कन्सलटेन्सीहरु इक्यानमा आवद्ध छन् । जथाभावी शैक्षिक परामर्श केन्द्र खोलेर विद्यार्थी ठगिएको गुनासो आउन थालेपछी नियन्त्रणका लागि सरकारले निर्देशिका जारी गरेको थियो । समयमै सञ्चालन स्वीकृतिका लागि पटक–पटक दर्ता हुन ताकेता गरे पनि दर्ता नहुने त्यस्ता कन्सलटेन्सीलाई कारबाहीको दायरामा ल्याउन लागिएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले बताए । प्रमाणीकरण शाखाले गर्नुपर्ने शैक्षिक संस्थाहरुको अनुगमनको काम प्रशासनले गरिरहेको छ भने दर्ता भएका मात्र १२ कन्सलटेन्सी मात्र आधिकारिक छन् । चितवनमा झन्डै १ सय शैक्षिक परामर्श संस्थाहरु अवैध छन् । विद्यार्थीबाट मोटो रकम असुलिरहेका अबैध शैक्षिक परामर्श संस्थाको खोजी गरी मापदण्डभित्र ल्याउने आफूहरुको प्रयास निरन्तर रहने चितवन प्रहरी प्रमुख एसपी कुँवरले बताए । प्रशासनले अनुगमन थालेपछि दर्जनौ शैक्षिक परामर्श संस्थाहरु बन्द भएका छन् । चितवनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा आबद्द २९ वटा कन्सलटेन्सी सन्चालित छन । ति मध्य अधिकाँश कन्सलटेन्सी शिक्षा मन्त्रालयमा दर्ता नै छैनन । कन्सल्टेन्सीहरुले भने मन्त्रालयमा स्वीकृति लिन जाने क्रममा ढिला सुस्ती भएको भन्दै आफ्नो बचाउ गरेका छन् । चितवनबाट खटाइएको अनुगमन टोलीले सञ्चालनको स्वीकृति नभइ सञ्चालन गरेको भन्दै पाँच दर्जन बढी एजुकेशन कन्सल्टेन्सी बन्द गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित