नेपालीको करोडौं ठगेर चार भारतीय व्यापारी फरार

पोखरा : बजार मूल्यभन्दा आधा कम रकममा सामान पाइने भन्दै लोभ देखाएर करोडौं ठगी गर्न सफल भारतीय व्यापारी फरार भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समयमा पोखरामा करोडौं ठग्न सफल उनीहरु फरार भएका हुन् । भारतीय व्यापारीको पसलमा ठगीमा परेका पोखरेलीको भीड लागेपछि मात्र यसको रहस्य खुलेको हो । उनीहरुले मंसिरको पहिलो साता सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरी बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा राखेका थिए । तर, उनीहरुसँग पर्याप्त सामान भने थिएन । ग्राहकहरुले भने सामान पछि लिने शर्तमा पुरै पैसा बुझाइसकेका थिए । उनीहरुले बुकिङ गरेको १५ दिनमा सामान दिने बाचा गरेका थिए । ग्राहकले ५ सयदेखि ५ लाख रुपैयाँसम्म पैसा बुझाएको अहिले आएर खुलेको छ । सोमबार सामान बुझ्ने समय दिइएको भएपनि पसल बन्द भएपछि ग्राहकहरु विचल्लीमा परेका हुन् । पसलमा कार्यरत ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । भारतीय व्यापारीले ग्रहकलाई पान नम्बर सहितको बिल भने दिएका छन् । विलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको ठगिएकाको भनाई छ । यस अघि उनीहरुलाई प्रहरी पक्राउ गरेर कारबाही गर्न खोज्दा केही ग्राहकहरु नै आएर छुटाएका थिए । त्यसैको फाइदा लुट्दै भारतीय व्यपारीहरु करोडौं ठग्न सफल भएका छन् । प्रहरीले मंसिर २० मा ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३ दिनपछि ग्राहक नै आएर उनीहरुलाई छुटाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नेपालीको करोडौं ठगेर फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचलापतली उरहिउर थानाका ५३ वर्षीय मथु रावन, तन्जाउर प्यारावरणी थानाका ५६ वर्षीय राजेन्द्र शेठ्ठी, तन्जाउ त्रिचित्मट्रप्लम थानाका ३५ वर्षीय मूर्खानन्दम तेवर र ४५ वर्षीय मथु उडियार छन् ।

प्रतिक्रिया

सम्बन्धित