‘वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका काम अगाडि बढाउनु पर्छ’

oliकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका कामलाई अघि बढाउनुपर्ने बताएका छन्। विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु अहिलेको आवश्यकता रहेको पनि बताए । सरकारसँगै जनताले पनि सचेत भएर वातावरण संरक्षणका गतिविधिमा लाग्नुपर्ने बताउँदै प्रम ओलीले भने–‘कार्बन उत्सर्जन र पृथ्वीको तापमान वृद्धि गरिब मुलुकका जनताले चुलोमा दाउरा बालेर नभई विकसित देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन तथा गतिविधिका कारण भएको हो ।’ सामुद्रिक प्रदूषण र हिउँ पग्लिने समस्याका कारण समुद्री तटमा बस्ने जनता बढी मारमा परेको बताउँदै प्रधानमन्त्री ओलीले भने–‘वनस्पति र जीव भएको यो सुन्दर ग्रह पुथ्वी भविष्यमा जीवनरहित नहोस् भन्नेमा हाम्रो प्रयास केन्द्रित हुनुपर्छ ।’ कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै उक्त कार्य भएको/नभएको बारेमा अनुगमनसमेत गर्दै आएको जानकारी दिए। कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका निमित्त नेपाल निर्देशक सोफी केम्खाद्जेले वातावरण संरक्षणका लागि गर्नुपर्ने काम र जलवायु परिवर्तनबाट हुने नकारात्मक असरबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति र सङ्घसंस्थालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित