कांग्रेस सरकारको नेतृत्व लिन तयार छ : देउवा
पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारलाई आफूले बचाउन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखेको परिवारद्वारा स्थापित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ प्रदान समारोहलाई आइतबार पोखरामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका कांग्रेसका सभापति देउवाले भने–‘सत्ता साझेदार माओवादी केन्द्रले सहमति अनुसार राजिनामा माग्दैछ, उहाँकै पार्टी एमालेका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले सरकार छाड्ने सहमति भएकै हो भनिरहनु भएको छ, यस्तो अवस्थामा हामीले कसरी बचाउन सक्छौं र ?’ देउवाले ओली सरकारले स्थानीय निकायको चुनाव नगर्ने षडयन्त्र रचेको आरोप लगाएका छन् । कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्व गर्न तयार रहेको पनि बताए । उनले भने–‘संविधान कार्यान्वयन अहिलेको प्रमुख काम हो, कांग्रेस प्रतिपक्षमा बसेपनि यसका लागि सहयोग गर्छ, आवश्यक परेको खण्डमा कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन पनि तयार छ । वर्तमान सरकारमा रहेका दलहरु संविधान कार्यान्वयनका लागि गम्भीर देखिएनन् ।’
देउवाले राज्यको ढुकुटीमा कांग्रेसले जम्मा गरेको बजेट ओली सरकारले अनावश्यक रुपमा छरेको भन्दै बजेटप्रति पनि असन्तुष्टी जनाए । कार्यक्रममा पत्रकार रमेश पौडेललाई ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०७२’ प्रदान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि देउवाले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कारसहित दोषल्ला र ताम्रपत्रले सम्मान गरे । प्रजातन्त्रका सेनानी स्वर्गीय दयाशंकर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित गरिएको सो पुरस्कार पत्रकार महासंघ कास्कीले हरेक वर्ष वितरण गर्दै आएको छ ।
प्रतिक्रिया