आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईँदै

काठमाडौँ ।

आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ ।  शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो ।  नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।
तिन प्रकारका ल्होसारहरू मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल बढेर २२ जिल्लामा मनाइन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित