धम्की आउँदा पनि खरेलले छाती फुलाउँनुको रहस्य

kharelnकाठमाडौं । नेपाल प्रहरीमा चर्चा र विवादमा आइरहने सेलिब्रेटी एसएसपी रमेश खरेलमाथि एक अनलाईनमा दिएको भिडियो अन्तर्वार्ताको विषयलाई लिएर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानविन गर्ने भएको छ । खरेलले प्रहरीमा अहिलेपनि घुसखोरी रहेको, आफुलाई हत्या गर्ने धम्की आएको तथा आफुलाई आइजीपी हुन नदिन व्यवधान खडा गर्न खोजिएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । काम कम गर्ने र चर्चामा आउनका लागि जथाभावि बोल्ने प्रहरी अधिकृतका रुपमा परिचित खरेलका अभिव्यक्ति माथि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बुझिएको छ । विना सन्दर्भ र विना प्रमाण प्रहरीमा राजनीतिक हस्तक्षेप र घुसखोरी बढेको अभिव्यक्ति दिएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेत खरेलमाथि कारबाही गर्ने मनस्थितिमा पुगेका छन् ।

‘खरेलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्, यसबारेमा प्रहरीले अनुसन्धान गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा प्रहरी प्रवक्ता डिआजी माधब जोशीसँग यूनाइटेड पोष्टले जानकारी लिंदा प्रहरीमा त्यस्तो कुनै पनि धम्कीको जानकारी नआएको बताए । खरेलले आफुलाई आइजीपी बनाउन नदिन खेल भइरहेको तर, त्यसलाई जागिर खाए देखि नै परास्त गर्दै आइरहेकाले आफु आइजीपी भएरै छाड्ने भनि दिएको अभिव्यक्तिप्रति कतिपय प्रहरी अधिकारीले उनलाई हतास र बिक्षिप्त मानसिकताको उपजका रुपमा लिएका छन् । ‘संगठन र सरकारले मूल्यांकन गरेर मात्रै बढुवा हुने हो, कसैले दाबी गर्दैमा आइजीपी हुने होइन । प्रतिस्पर्धीले गरेका राम्रा कामले उनलाई निन्द्रा नलागेको हुन सक्छ र प्रतिस्पर्धीहरुका कामलँई ओझेलमा पार्न राजनीतिक शैलीमा उनले हंगामा हुनेगरी अभिव्यक्ति दिएको हुनसक्छ ।’ – एक डिआईजीले बताए ।

अहिले एसएसपी रहेका प्रहरी अधिकारी आफु नै आइजीपी हुन्छु, कसैले रोक्न सक्दैन भनेर सरकार र प्रहरी संगठनलाई चुनौति दिनु उनको विक्षिप्त मानसिकताको उपज मात्र रहेको र त्यस बारेमा तुरुन्तै छानविन नहुने हो भने संगठभित्र यस्ता छाडापनले प्रश्रय पाउने ति डिआईजीले बताए । त्यसो त खरेलले बिदेशबाट नेपालीले विदेशकै मोबाइल नम्बर प्रयोग गरी मार्ने धम्की दिएको भनेर अन्तर्वार्तामा बोलेका छन् । आफूले अहिलेसम्म कसैलाई नभनेको बताउने खरेलले किन अनलाईनका पत्रकारलाई धम्की आएको जानकारी दिनुप-यो ? यदि खरेललाई धम्की आएको भए आफूलाई मात्र सक्षम र क्षमतावान अफिसर ठान्ने उनले ति व्यक्तिलाई पक्राउ गरी कानुनी कठघरामा ल्याएर गर्वका साथ कारबाही गरेको पत्रकारलाई जानकारी दिनु पर्नेमा आफु माथि धम्की आएको भनेर छाति फूलाई–फूलाई अभिव्यक्ति दिनुले उनले को– बाट सहानुभुति लिन खोजेका हुन्, त्यो भने उनैलाई थाहा होला ।

बामदेब गौतम गृहमन्त्री हुँदा डिआइजी बढुवामा ब्रिफकेसको खेल भएको अभिव्यक्ति दिएपछि खरेलमाथि प्रहरी मुख्यालयले छानविन गरेको थियो । त्यसो त उनले २०५४ सालमा आइजीपी रहेका आफ्ना काका नाता पर्ने अच्युतकृष्ण खरेललाई स्याक गरिएको प्रसंग निकाल्दै तत्कालिन गृहमन्त्री बामदेव गौतमप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।

पहिलो पटक काठमाडौंको प्रहरी प्रमुख हुँदा रमेश खरेल चर्चित र विवादमा पनि आए । दोहोर्याएर  काठमाडौंको प्रमुख हुने अवसर पाएका उनी विवादास्पद अभिव्यक्ति दिएकै कारण ४ महिनामै हटाइए । खरेल एक बर्षका लागि पी फोर तहको कमाण्डरको रुपमा सुडानको डार्फर जाँदैछन् । उनले आफू विश्वव्यापी छनौटमा परेको अन्तर्वार्ताका क्रममा बताएका छन्,यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ  । तर, दक्षिण सुडान र अफ्रिकन मुलुक बाहेक अमेरिका तथा यूरोपियन मुलुकका कसैको पनि त्यहाँ संलग्नता नै नहुने प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित