युटिएलमा एनसेलकी दोहोरो नागरिकताधारी ?
काठमाडौं । भारतीय लगानीमा सञ्चालित युनाइटेड टेलिकम लिमिटेड(यूटिएल) ले एनसेलबाट बाहिरिएकी दोहोरो नागरिकताधारी महिलालाई कन्सलटेन्टका रुपमा नियुक्ति गरेको छ । एनसेलमा रहँदा टेलियासोनेराले डबल नागरिकताधारी भन्दै हटाएकी सोमादत्त थापालाई यूटिएलले कन्सलटेन्टका रुपमा नियुक्त गरेपछि यूटिएलको स्वामित्व पनि परिवर्तन हुने भएको छ ।
एनसेलमा कर्पोरेट कम्युनिकेशन डाइरेक्टर रहेकी सञ्जु कोइरालाले टेलियासोनेरासँग मिलेर थापालाई हटाउन पहल गरेकी थिइन् । तर, विदेशीको मतियार बनेर एनसेलको कर छलीमा सहयोग पु-याइरहेकी कोइराला पनि एनसेलबाट बाहिरन लागेको स्रोतको भनाई छ । प्रहरीको छानविनबाट नेपाली र भारतीय नागरिकता लिएको पुष्टि भइसकेकी थापालाई यूटिएलले भित्र्याउनुको भित्री कहानी भने अर्कै छ । स्पाइस नेपाल प्रालि हुँदा देखि नै कार्यरत थापाले रसियन भाइजर समूहको ६० प्रतिशत सेयर टेलियासोनेराले किन्दा नै डिल गराएकी थिइन् ।
र, अहिले थापाकै पहलमा यूटिएलको ६० प्रतिशत सेयर रसियन भाइजर समूहलाई दिने अन्तिम सहमति हुन लागेको यूटिएल स्रोत बताउँछ । यूटिएलमा व्यवस्थापन र कर्मचारीबीच विगतदेखि नै विवाद बढ्दै गइरहेको छ । भारतको विएसएन, एमटिएनएल र टाटा समूहको ८० प्रतिशत लगानी यूटिएलमा छ । बाँकी २० प्रतिशत नेपाली लगानीकर्ता रघुवीर महासेठको नाममा रहेको छ । थापाले ६० प्रतिशत सेयर रसियन भाइजर समूहलाई भिडाउन लागेपछि एनसेलका केही कर्मचारीहरुपनि यूटिएलमा आउन सक्ने देखिएको छ ,यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ ।
प्रतिक्रिया