केडिया अपहरण प्रकरणमा हुण्डी ब्यापारीमाथि अनुसन्धान ?

kediyaaकाठमाडौं । रहस्यमय तरिकाले अपहरणमुक्त भएका वीरगञ्जका उद्योगी सुरेश केडियाका विषयमा भारतीय सञ्चारमाध्यमले फिरौती बुझाएरै अपहरणमुक्त भएको दावी गरेपछि नेपाल प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) र भारतीय प्रहरीले फिरौती नबुझाईकन वीरगञ्जका उद्योगी सुरेश केडिया भारतको मोतीहारीबाट अपहरणमुक्त भएको दाबी गरेपनि भारतीय टेलिभिजन आजतकले भने अपहरणकारीलाई १० करोड फिरौती बुझाएर केडिया अपहरणमुक्त भएको दाबी गरेको थियो । केडिया बाराको बघवनबाट अपहरणमा परेका थिए । केडिया परिवारका सदस्यको हवाला दिँदै आजतकले काठमाडौंबाट उक्त रकम हुण्डीमार्फत मुम्बई पुगेपछि अपरहणकारीले केडियालाई मोतिहारीको एक गाउँमा छाडेको समाचार प्रसारण गरेको थियो । प्रहरी सुत्रलाई हवाल दिँदै आजतकले उक्त रकम सुरेशका दाजु एमव् सांसद् विमल केडियाले काठमाडौंमा बसेर जुटाएको उल्लेख गरेको छ । प्रहरीले केडियालाई अपहरण गर्ने बब्लु दुबे समूहका पाँचजनालाई पक्राउ गरिसकेको छ । भारतीय प्रहरीले केडियाको अपहरणमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी, अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहितको म्याग्जिन पनि बरामद गरेको थियो । केडियाको खोजी गर्ने क्रममा भारतीय प्रहरीले अपहरणकारीले प्रयोग गरेको गाडी कटौवा गाउँमा फेला पारेको थियो । सोही गाडीको आधारमा प्रहरीले केडियालाई बन्धक बनाएर राखिएको घरको पहिचान गरेको दाबी गरेको थियो । तर, आजतकलगायतका केही भारतीय मिडियाले १० करोड फिरौती बुझाएर केडिया छुटेको समाचार प्रकाशित गरेपछि घटनाले नयाँ मोड लिएको छ । र, नेपाल प्रहरीको विशेष ब्यूरोले पनि गोप्य रुपमा अनुसन्धान थालेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार विमल विगतमा आरबी कम्प्लेक्समा रहँदा आफै हुण्डीको कारोबार गर्दथे भने प्रहरीले पनि नेपालमा नाम चलेका केही हुण्डी कारोबारीहरुसँग उनको कनेक्सन छ कि छैन भन्ने बारेमा अनुसन्धान थालेको छ । तर, अहिलेसम्म विमल र परिवारले भारतमा पैसा पठाएको कुनै ठोस प्रमाण भने प्रहरी फेला पार्न सकेको छैन । नेपालमा दिपक मल्होत्रा, प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, हरि घिरानियालगायतका दर्जनौ व्यापारीहरु हुण्डी कारोबारका डन हुन् । प्रहरीले यी बाहेक केही सुन व्यापारी र ट्राभल्सका सञ्चालक माथि पनि गोप्य रुपमा निगरानी बढाएको छ । यता, रक्सौलमा आयोजित पत्रकार सम्मेलनमा भारत बेतियाका एसपी विनय कुमार र मोतिहारीका एसपी जितेंद्र राणाले केडियाले फिरौती नबुझाएको दाबी गरेका थिए । तर, केडियाले प्रहरीकै सामुन्ने अपहरणकारीले आँखामा कालो पट्टी बाँधेर एक जंगलमा छाडेको र त्यसको केही समयमा प्रहरी आई आफूलाई उद्दार गरेको बताएका थिए । प्रहरीले रेस्क्यु गरी केडियाको उद्दार गरेको बताउनु र अपहरणकारीले आफूलाई अज्ञात ठाउँमा छोडेर भागेको बयान दिंदा एक अर्काका कुरा बाझिएपछि घटना थप शंकास्पद बनेको हो । जसलाई केडिया फिरौती बुझाएर मात्र अपहरणमुक्त भएको तर्क भारतीय मिडियाहरुले दिएका थिए । केडियाको अपहरण बिहारको बक्सार कारागारमा रहेका बब्बु दुबे नामले चिनिने कुख्यात अपराधि मिथिलेश दुबेको योजनामा बिहारको नयाँ बब्लु पासवान समूहले गरेको थियो । सो समूहका कुनै पनि सदस्यलाई विहार प्रहरीले पक्राउ गरेको छैन । बिहार प्रहरीका एसपी विनय कुमारले अपहरणको सम्पूर्ण योजना दुबेले बनाएको र यसमा बिहारकै पासवान र केही नेपाली आपराधिक समूहको संलग्नता पुष्टि भएको बताएका थिए । केडियालाई अपहरण गराएको शंकामा बारा कवही जब्दीका चन्चल पाण्डे, बरियारपुरका पुष्कर सिंह र तेलकुवाका जियालाल यादवलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । पक्राउ परेका चञ्चल पाण्डे केडिया अपहरण प्रकरणका मुख्य योजनाकार दुवेका आफन्त हुन् । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी पशुपति उपाध्यायले भारतीय अपराधी बब्लु दुवेसँग साँठगाँठ देखिएका तीन जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको बताएका छन् । दुबेको नेपाल कनेक्स

नमध्यबिहारमा पिपुल्स लिबरेसन आर्मी नामक आपराधिक संगठनका नाइके मिथिलेश दुबे (बब्लु) लाई दुई वर्ष अघि अञ्चल प्रहरी कार्यालय नारायणीका तत्कालिन प्रमुख एसएसपी सर्बेन्द्र खनालको टोलीले काठमाडौंको सीतापाइलाबाट पक्राउ गरि भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो । ३० भन्दा बढि हत्या, लुटपाट, नक्कली नोटको कारोबार जस्ता गैरकानुनी धन्दामा सक्रिय दुबेलाई उत्तर विहारका मोष्ट वान्टेड मुकेश पाठकले समेत संरक्षण दिइरहेको आशंकामा विहार प्रहरीले अनुसन्धान गरेको जनाएको छ । दुबे यस्ता व्यक्ति हुन्, जसले वीरगञ्जबाट बारा हुँदै चितवन र राजधानी काठमाडौंसम्म आफ्नो सञ्जाल विस्तार गरिसकेका छन् । नेपाली नागरिकता लिएर नेपालबाट पाकिस्तान सर्ने योजनामा रहेका दुबे दुई वर्ष अघि एसएसपी खनालको पञ्जाबाट भने मुक्त हुन सकेनन् । चितवनको पारस बसपार्कमा रहेको एक होटलकी सञ्चालिकासँग प्रेमको नाटक गरी दुबेले उक्त होटल किनेका थिए । उनै महिलासँग विहे गरी नेपाली नागरिकता लिने योजना बनाएका दुबेको सपना भने त्यतिखेर खनालले चकनाचुर पारिदिएका थिए । ति महिला र आफन्तको नाममा दुबेले सातवटा सम्म नेपाली सिमकार्ड लिएर प्रयोग गरी विहारमा फिरौतीका घटना गराउँदै आएको त्यतिबेला खुलेको थियो । दुबे सुरुमा पिपुल्स लिबरेसन आर्मी बिहारमा सशस्त्र द्वन्द्व गरिरहेको माओवादीसँग नजिक भए पनि पछि उनी पाकिस्तानी खुफिया एजेन्सी आइएसआइसँग नजिक रहँदै आएको भारतीय मिडियाहरुको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित