कोकिन कारोबारको धन्दामा अन्डरवर्ल्ड डन दाउद इब्राहिम ?

dawodकाठमाडौं । नेपाललाई ट्रान्जिट बनाई यूरोपसम्म लागू औषधको तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह नेपाल प्रहरीको फन्दामा परेसँगै पाकिस्तानी माफियाको कनेक्सन पनि बाहिर आएको छ  । लागू औषध नियन्त्रण ब्यूरो (एनसीवी) ले दुई किलो छ सय ग्राम कोकीन र १३ लाख भन्दा बढि रकमसहित नाइजेरियन, भारतीय र नेपाली नागरिकको गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको थियो  । यसमा  हङकङमा बसेर लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिको पहिचान भएको एनसीवीले जनाएको छ ।

   पाकिस्तानी नागरिक वाहिद खान, चाचा भन्ने अब्दुल रजाक र उनका भाइले हङकङबाट ड्रग्सको धन्दा चलाउने गरेको  खुलेको छ।  भारतीय मस्ट वाण्टेड सुचिमा रहेका  अन्डरवर्ल्ड डन दाउद इब्राहिम समूहका सदस्य मध्येका टाइगर, राजाभाइ र चाचाले दुबई, मलेसिया र हङकङबाट कारोबार सञ्चालन गरेको खुलेको हो । जाली नोट हुँदै कोकिन कारोबारमा समेत दाउदको कनेक्सन देखिएको भारतीय मिडियाले जनाएका छन्  ।

  ब्यूरोले भेनेजुयलाकी यमरिस कारमिन, भारतका तौहिद खान, नाइजियरियाका मोहम्मद लामिनी र नेपालका दिलबहादुर गुरुङलाई पक्राउ गरेको हो । ब्यूरो प्रमुख डिआईजी जयबहादुर चन्दका अनुसार वैशाख १५ गते भेनेजुयलाको काराकास, कोलम्वियाको बोगाटा, ब्राजिलको साउ पाउलबाट युएइ हुँदै भेनेजुयलाकी यमरिस कारमिन नेपाल आएकी थिइन । ठमेलका विभिन्न गेष्टहाउसमा बस्दै आएकी उनी दुबई ब्राजिल, कोलम्बिया हुँदै भेजेजुयला जान खोजिरहेको बेला ब्यूरोको फन्दामा परेकी हुन् । नाइजेरियन नागरिक तर, गिनीको राहदानीवाहक मोहम्मद लामिने डोबालाई यमरिसले कोकिन दिएपछि प्रहरीले सुइको पाएर अनुसन्धानलाई तिब्रता दिएको थियो ।

  उनले माछा मार्न प्रयोग हुने नाइनलको डोरीले बेरेर लट्टामा कोकिन भरेर ल्याई डोवालाई दिएको खुलेको छ । प्रहरीसँग उनले आफूलाई भेनेजुयलाकी क्याथरिनले राहदानी बनाइदिएको र नेपालमा पुगेपछि पठाएको सामान जोनलाई दिनु भनेको बयान दिएकी छन् । यस वापत उनलाइ १५ सय अमेरिकी डलर दिने सहमति भएको पनि उनले बताइन् । मरिस पक्राउ परेपछि उनकै बयानको आधारमा ब्यूरोले तनहुँ घर भइ हाल काठमाडौं रानीवारी बस्ने दिलबहादुर गुरुङलाई पक्राउ ग-यो । गुरुङको साथमा रहेका भारतीय नागरिक तौहिद खान पनि प्रहरीले नियन्त्रणमा लियो । गुरुङको साथबाट प्रहरीले चार सय २६ दशमलव पाँच ग्राम कोकिन र तौहिदको साथबाट तीन रोल नाइलनको धागोभित्र लुकाइराखेको अवस्थामा छ सय २८ ग्राम कोकिन नै बरामद गरेको छ ।

  गुरुङ लागू औषध चरेश हङकङ, थाइल्याण्ड र भारतमा ओसारपसार गर्ने मुख्य व्यक्ति हुन् । उनले हालसम्म २६ पटक भन्दा बढी आफैँ थाइल्याण्ड र हङकङ पुगेर चरेश ओसारपसार गरिसकेका छन् । खान पनि हङकङमा बसी लागू औषध कोकिन र चरेसको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य ब्यक्ति हुन् । उनले साउथ अफ्रिकन मुलुकबाट हङकङ पुग्ने कोकिन र नेपाल तथा भारतबाट हङकङ पुग्ने चरेश विभिन्न यूरोपियन मुलुकहरुमा तस्करी गर्ने गरेको खुलेको छ ।

  त्यस्तै, खानसँगै हङकङमा बसी लागू औषधको कारोबार गर्ने चाचा भन्ने पाकिस्तानी नागरिक अबदुल रजाक र आफूलाई तौहिदको भाइ बताउने समेत कोकिनको कारोबारमा संलग्न रहेको प्रहरीको भनाई छ । एक केजी चरेश हङकङ पु-याउँदा १ लाख ६८ हजार गुरुङले पाउने गरेको अनुसन्धानबाट देखिएको छ ।अन्तर्राष्ट्रिय लागू औषधको कारोबारमा संलग्न गिरोहको नेपालमा नेटवर्क तोड्न ब्यूरोले सम्बन्धित देशका कानुन कार्यान्वयन निकायहरुसँग आवश्यक समन्वय गरिरहेको डिआईजी चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित