फिस अप्रेसनमा पाँच करोडको कोकिनसहित कारोबारी फन्दामा

ncbकाठमाडौं । नेपाललाई ट्रान्जिट बनाई यूरोपसम्म लागू औषधको तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह प्रहरीको फन्दामा परेको छ । लागू औषध नियन्त्रण ब्यूरो (एनसीवी) ले दुई किलो छ सय ग्राम कोकीन र १३ लाख भन्दा बढि रकमसहित नाइजेरियन, भारतीय र नेपाली नागरिकको गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले भेनेजुयलाकी यमरिस कारमिन, भारतका तौहिद खान, नाइजियरियाका मोहम्मद लामिनी र नेपालका दिलबहादुर गुरुङलाई पक्राउ गरेको हो । ब्यूरो प्रमुख डिआईजी जयबहादुर चन्दका अनुसार वैशाख १५ गते भेनेजुयलाको काराकास, कोलम्वियाको बोगाटा, ब्राजिलको साउ पाउलबाट युएइ हुँदै भेनेजुयलाकी यमरिस कारमिन नेपाल आएकी थिइन । ठमेलका विभिन्न गेष्टहाउसमा बस्दै आएकी उनी दुबई ब्राजिल, कोलम्बिया हुँदै भेजेजुयला जान खोजिरहेको बेला ब्यूरोको फन्दामा परेकी हुन् । नाइजेरियन नागरिक तर, गिनीको राहदानीवाहक मोहम्मद लामिने डोबालाई यमरिसले कोकिन दिएपछि प्रहरीले सुइको पाएर अनुसन्धानलाई तिब्रता दिएको थियो । उनले माछा मार्न प्रयोग हुने नाइनलको डोरीले बेरेर लट्टामा कोकिन भरेर ल्याई डोवालाई दिएको खुलेको छ । प्रहरीसँग उनले आफूलाई भेनेजुयलाकी क्याथरिनले राहदानी बनाइदिएको र नेपालमा पुगेपछि पठाएको सामान जोनलाई दिनु भनेको बयान दिएकी छन् । यस वापत उनलाइ १५ सय अमेरिकी डलर दिने सहमति भएको पनि उनले बताइन् ।

 यमरिस पक्राउ परेपछि उनकै बयानको आधारमा ब्यूरोले तनहुँ घर भइ हाल काठमाडौं रानीवारी बस्ने दिलबहादुर गुरुङलाई पक्राउ ग-यो । गुरुङको साथमा रहेका भारतीय नागरिक तौहिद खान पनि प्रहरीले नियन्त्रणमा लियो । गुरुङको साथबाट प्रहरीले चार सय २६ दशमलव पाँच ग्राम कोकिन र तौहिदको साथबाट तीन रोल नाइलनको धागोभित्र लुकाइराखेको अवस्थामा छ सय २८ ग्राम कोकिन नै बरामद गरेको छ । गुरुङ लागू औषध चरेश हङकङ, थाइल्याण्ड र भारतमा ओसारपसार गर्ने मुख्य व्यक्ति हुन् । उनले हालसम्म २६ पटक भन्दा बढी आफैँ थाइल्याण्ड र हङकङ पुगेर चरेश ओसारपसार गरिसकेका छन् । खान पनि हङकङमा बसी लागू औषध कोकिन र चरेसको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य ब्यक्ति हुन् । उनले साउथ अफ्रिकन मुलुकबाट हङकङ पुग्ने कोकिन र नेपाल तथा भारतबाट हङकङ पुग्ने चरेश विभिन्न यूरोपियन मुलुकहरुमा तस्करी गर्ने गरेको खुलेको छ । त्यस्तै खानसँगै हङकङमा बसी लागू औषधको कारोबार गर्ने चाचा भन्ने पाकिस्तानी नागरिक अबदुल रजाक र आफूलाई तौहिदको भाइ बताउने समेत कोकिनको कारोबारमा संलग्न रहेको प्रहरीको भनाई छ । एक केजी चरेश हङकङ पु¥याउँदा १ लाख ६८ हजार गुरुङले पाउने गरेको अनुसन्धानबाट देखिएको छ ।

 आफूले पहिलोपटक कोकिनको ओसार पसार गर्न लागेको उनले प्रहरीसमक्ष बताएका छन् । तर, गुरुङ लागू औषधमा फरार रहेका व्यक्ति हुन् । खानले कोकिन तस्करका लागि गुरुङलाई १३ लाख ६० हजार रुपैयाँ दिएका थिए । जुन प्रहरीले बरामद गरेको छ । खान भने कलकत्ता, मुम्बइ हुँदै काठमाडौं आएका हुन् । गुरुङबाट कोकिन लिएर हङकङ जान उनी नेपाल आएका हुन् । कार्टुन, चामल, दाल र मसालाको डिब्बामा चरेश लुकाएर खानले ६ वर्षदेखि यो काम गरिरहेको र अहिलेसम्म १ सय २० पटकसम्म हङकङ चरेश लगेको उनले प्रहरीसमक्ष स्वीकारेका छन् । चरेशका क्याप्सुल निलेर २० पटकभन्दा बढी हङकङ लगेको उनले बताएको डिआईजी चन्दले थप बताए ।

   उनीहरुको साथबाट बरामद भएको कोकिनको अन्तर्राष्ट्रिय बजार मुल्य ५ करोड ३६ लाख ६० हजार हुन आउने ब्युरोले जनाएको छ ।अर्कोतिर विदेशबाट नेपाल भित्रिएको कोकिन विमानस्थलबाट छुट्नुलाई सुरक्षाकर्मीको गंभिर लापरबाहिका रुपमा लिइएको छ । विमानस्थलमा रहेका सुरक्षाकर्मीबाट उनीहरु कसरी फुत्किए भन्ने विषयमा प्रहरीले खोजी शुरु गरेको छ । प्रहरीसँगको वयानमा कोकिन लिएर आउने यमरिसले नेपालको विमानस्थलमा आफूलाई कुनै चेकजाँच नभएको बताएकी छिन् । विमानस्थलबाट आएका सबै विदेशी नागरिकको निगरानी गर्ने क्रममा ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो । माछा मार्ने डोरीमा कोकिन लुकाएर ल्याएको हुनाले अप्रेसनको नाम नै फिस राखिएको छ ।

  लागू औषध कोकिनको कारोबारमा यस पटक नेपाल, भारत, पाकिस्तान, चीन, भेनेजुयला, नाइजेरिया, कम्बोडियाका नागरिकहरु संलग्न रहेको अनुसन्धानका क्रममा देखिएको ब्यूरोले जनाएको छ । अन्तर्राष्ट्रिय लागू औषधको कारोबारमा संलग्न गिरोहको नेपालमा नेटवर्क तोड्न ब्यूरोले सम्बन्धित देशका कानुन कार्यान्वयन निकायहरुसँग आवश्यक समन्वय गरिरहेको डिआईजी चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित