प्रेस स्वतन्त्रताका नाममा हुने अपराधविरुद्ध लड्छु : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले आफ्नो नाम जोडेर केही अनलाइन सञ्चार माध्यमहरुमा आएका समाचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । थापाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर भएका अनर्गल प्रचारको भत्र्सना गर्दै आफु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर प्रेस स्वतन्त्रताका नाममा हुने अपराधिक प्रवृतिविरुद्ध लड्ने प्रष्ट्याएका छन् । थापाले विज्ञप्तिमा आफुबारे हरेक दिन खराब नियत राख्नेहरुले आफ्नो अनलाइन हिट बनाउन कपोकल्पित समाचार बनाउने, त्यसको तथ्यलाई जाँच्दै नजाँची साभार गर्ने अनि सामाजिक संजालमा समेत त्यसकै आधारमा मेरो बारेमा अनेकन टिका टिप्पणी आइरहने र त्यसको जवाफ मैले दिनुपरेको उल्लेख गरेका छन् । थापाको उजुरीमा प्रहरीले चन्द्रमान श्रेष्ठ लगायतलार्इ पक्राउ गरेको थियो । यसबारे विज्ञप्ती जारी गर्दै थापाले भनोक छन्–‘पत्रकारिताको नाममा आधारहीन र षडयन्त्रपूर्ण समाचार बनाएर स्वतन्त्र प्रेसलाई नै बदनाम गर्ने गरी कसैको चरित्र हत्या गर्ने उद्देश्यका साथ काम गरिरहेका यस्ता अपराधिक तत्वलाई निरुत्साहित गर्न कानूनी उपचार अपनाउन नेपाल प्रहरीमा छानबिन र कानूनी कारबाहीका लागि निवेदन दिएको हुँ ।’ थापाका बारेमा ‘भारतको विरुद्धमा उत्रने नेपाली भेडा हुन् : गगन थापा’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । तर, थापाले उक्त दिन (वैशाख २८) मा आफूले कुनै कार्यक्रममा नबोलेको र आफू संसदमा भएको बताएका छन् । समाचारले सामाजिक संजालमा व्यापक रुपमा फैलिएको उल्लेख गर्दै थापाले विज्ञप्तिमा प्रकाशकलाई समाचारको स्रोतबारे सोधखोज गर्दा कसैले फोनबाट टिपाएर समाचार प्रकाशन गरेको तर, अनुसन्धान गर्दा त्यो समाचार गलत पाइएको जनाएका थिए । यस्तै उक्त अनलाइनले भूल सुधार गरेर खण्डन छापेपनि खण्डन नियतवश केही मिनेटमा नै हटाइएको थियो । थापाले उक्त कार्यलाई ‘यो मेरो राजनीतिक मूल्य मान्यता र विश्वासको खिलापमा मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने कुत्सित मनसायका साथ गरिएको षड्यन्त्र हो’–भनेका छन् । ‘पार्टी भित्र होस् वा बाहिर, संचार माध्यममा होस वा सार्वजनिक मञ्चहरूमा मैले सदैव राष्ट्र, राष्ट्रिय एकता र नेपाली जनताको वृहत्तर हितका पक्षमा खुलेर बोलेको छु र लडेको छु । पछिल्लो समयमा नेपाल(भारत सम्बन्धमा र नेपालको आत्मसम्मानका खातिर मैले राखेका धारणा र अडान सवैसामू जगजाहेर छ, उनले भनेका छन्, मलाई रत्तिभर संदेह छैन( यो मेरो राजनीतिक मूल्य, मान्यता र विश्वासका खिलाफमा मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने कुत्सित मनसायका साथ गरिएको षडयन्त्र हो । हुँदै नभएको कार्यक्रमको कल्पना गरेर राष्ट्रको संवेदनशील विषयमा बोल्दै नबोलेको कुरा बोलेको भनेर दुस्प्रचार गर्नु आफैमा अपराधिक कृत्य हो र यसको कानूनी उपचार हुनै पर्छ ।’ थापाद्धारा जारी विज्ञप्तिमा ‘अन्त्यमा, मेरा वारेमा आउने प्रत्येक समाचारलाई अत्यन्त संवेदनशीलताका साथ लिएर, निरन्तर स्नेह र सल्लाह दिएर मलाइ सचेत गराउने र म प्रति विश्वास र भरोसा गर्ने सवैप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता षडयन्त्र र दुस्प्रचारवाट भ्रमित नहुन विनम्र अनुरोध गर्दछु । यहाँहरूको चासो र चिन्ताले मलाई राजनीतिक र सामाजिक जीवनमा थप सतर्कता र जिम्मेवारबोधका साथ काम गर्न उत्प्रेरित गर्नेछ ।’ उल्लेख छ ।
थापाद्धारा जारी विज्ञप्ति
प्रतिक्रिया