बोर्डिङका बसहरु मापदण्ड विपरित

यदुनाथ बञ्जारा

school bus पोखरा । नीजि विद्यालयहरुले सञ्चालन गरेका विद्यार्थी बोक्ने बसहरु समेत मापदण्ड विपरित रहेको पाइएको छ । २०७३ बैशाख २२ गते बुधबार जिल्ला शिक्षा कार्यालय कास्कीको अगुवाइमा भएको अनुगमनमा झण्डै २ दर्जन स्कुलका बसहरु मापदण्ड विपरित रहेको पाइएको हो । संस्थागत विद्यालयहरुले विद्यार्थीहरुसँग मोटो शुल्क असुल गरेर चलाइएका बसहरु समेत निर्धारित मापदण्ड अनुकूल नपाइए पछि जिल्ला शिक्षा कार्यालय कास्कीले ति विद्यालयहरुलाई ३ दिने स्पष्टिकरण सोधेको छ । सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यार्थी बोक्ने सवारी साधनहरुको मापदण्ड तोकेर लागु गरेको छ । निर्देशिका अनुसार बसका रंग सुन्तला रंग तोकेको छ । चालक सहचालकको आचार संहिता बनाइ लागु गर्नुपर्ने छ । भन्सार छुट पाएका बसहरुले बसको बढीमा भन्सार छुट प्राप्त लेखिनु पर्ने, बसभित्र सामग्रीसहितको उपचार बाकस हुनुपर्ने लगायतका प्रावधान तोकिएको छ । राज्यले जारी गरेका निर्देशनलाई अवज्ञा गरेर मनोमानी गर्ने संस्थागत विद्यालयहरुलाई कारबाही हुनुपर्ने विषयमा विभिन्न विद्यार्थी संघ संगठनहरुले पटक–पटक आवाज उठाउँदै आइरहँदा पनि बेथिति हट्न सकेको छैन । विद्यार्थीलाई गुन्दु्रक खाँधेझै गरि कोचेर शुल्क असुल्ने, प्राथमिक उपचार बक्स नराख्ने, भन्सार छुट पाएको जनाउ नलेख्ने प्रवृत्ति बढि देखिएको छ । पोखराका नाम चलेका विद्यालयहरुले प्रयोग गर्ने बसहरुले बढि नियम मिचेको पाईएको छ । विद्यार्थी बढी बस कम राखेर कुस्त कमाउने स्कुल सञ्चालकहरुले बालबालिकाहरुको सकस बुझ्ने नैतिक हैसियत राखेका छैनन् । ३ दिन भित्र स्पष्टिकरण बुझाउन परिपत्र गरिएका मापदण्ड विपरित स्कुल बस सञ्चालन गर्नेहरुमा मासबारको मदरल्याण्ड उच्च मा.वि. मासबारकै स्टेप बाई बोर्डिङ स्कुल, गण्डकी बोर्डिङ स्कुल, सरस्वती बोर्डिङ स्कुल, शिशु निकेतन बोर्डिङ स्कुल बिरौटा, सगरमाथा निकेतन स्कुल, प्रतिमा उच्च मा.वि., पिसजोन एकेडेमी, पोखरा क्याम्ब्रिज बोर्डिङ स्कुल, फिस्टेल एकेडेमी, द वीज्जम बोर्डिङ, इमानुअल बोर्डिङ स्कुल, गोल्डेन फ्यूचर बोर्डिङ स्कुल, प्यारामाउण्ट बोर्डिङ स्कुल, रामघाट, बालोदय बोर्डिङ स्कुल, साइनिङ स्टार बोर्डिङ, हिलप्वाइन्ट बोर्डिङ स्कुल, लोटस इ.बोर्डिङ स्कुल, शान्तिनिकेतन बोर्डिङ स्कुल, बालप्रभात बोर्डिङ स्कुल, निलगिरी बोर्डिङ स्कुल न्यूरोड, डाइनामिक एकेडेमी सिमलचौर नेसनल इभेन्टिभ बोर्डिङ स्कुल लगायत रहेका छन् । नेपालकै नाम चलेको गण्डकी बोर्डिङ समेतले राज्यको निर्देशिका वमोजिमको मापदण्ड पुरा नगरेको पाइनुलाई विडम्बना पूर्ण ढंगले हेरिएको छ । यस्तै सगरमाथा निकेतन, मदरल्याण्ड उच्च मा.वि. शिशु निकेतन, स्टेप बाई स्टेप जस्ता महंगा र आफूलाई अब्बल दाबी गर्ने बोर्डिङ स्कुलहरु पनि स्पष्टिकरणमा परेकाछन् । यस्तै निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको फिस्टेल एकेडेमी समेत निर्देशिका नमाने बापत स्पष्टिकरण कारबाहीमा परेका छन् । नियम मान्ने र मान्न लगाउनेहरु नै नियम विपरित चल्न थालेपछि अराजकता मौलाउने संकेत मिलेको छ । ढिलै भएपनि शिक्षा कार्यालय कास्कीले अनुगमन कार्यलाई तिब्रता दिएको छ । स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण पछि कारबाही कस्तो गर्छ, त्यो भने प्रतिक्षाको विषय बनेको छ । कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले १५ दिन भित्र कारबाहीको नतिजा सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । संस्थागत विद्यालयहरु कमाउने स्वार्थ केन्द्रित भइदिदा विद्यार्थीहरु आजित छन् । एक दुईवटा बस किन्ने अनि पोखराका सबै रुट कुदाएर विद्यार्थी ओसार्ने परिपाटी रहि आएको छ । बिहान आठ बजे लिन आउने र बेलुका ६ बजे घर पु¥याइदिने गरेका कारण विद्यार्थीहरु थकित अवस्थामा बल्ल घर पुग्दै आएका छन् । कतिपय विद्यालयहरुले भाडाका बस ठेक्कामा लिएर विद्यार्थी ओसार्दै आएका छन् । नयाँ गाउँको सेन्टमेरिज स्कुलले ३६ जनाको सिट भएको भाडाको बसमा ६० भन्दा बढी विद्यार्थी कोच्ने गरेको छ । बस भाडा कसेर उठाउने तर सेवा दिन नसक्नेहरुलाई पनि कारबाही गर्नु आवश्यकता औल्याइएको छ । विस्थापित बस स्कुलमा बोर्डिङ सञ्चालकहरुले विस्थापित भएका यात्रुबसहरुलाई पहेलो रंग पोतेर विद्यार्थी ओसार्न प्रयोग गर्ने गरेका छन् । पोखरा बस व्यवसाय समितिबाट विस्थापन गरिएको ग–१ख २४८८ नम्बरको बस न्यूरोड स्थित एल.ए. बोर्डिङ स्कुलले विद्यार्थी ओसार्न प्रयोग गरेको छ । यातायात व्यवसायीहरुको संस्था गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष समेत रहेका वसन्त प्रधानले आफ्नो श्रीमती लिना प्रधानको नाममा सञ्चालित एल.ए. बोर्डिङ स्कुलको लागी उक्त विस्थापित बस प्रयोग गरेका छन् । यातायात व्यवसायीहरुले उक्त बस गण्डकी अञ्चल भित्र सञ्चालन गर्न नचाइने भन्दै विरोध गरिरहँदा पनि प्रधानले बल मिचाई गरेर चलाई रहेका छन् । यात्रु बोक्न योग्य नभएका कारण विस्थापित बस कलिला बालबालिका बोक्न प्रयोग गरिदा पनि राज्यका निकायहरु बेखबर छन् । जिल्ला शिक्षा कार्यालय कास्कीले गरेको १÷२२ गतेको अनुगमनमा पनि यो बस परेको छैन यस्तै नयाँबजारकै गण्डकी एजुकेशन फाउण्डेसनले पनि कालो प्लेटको (भाडा) को विस्थापित बसलाई स्कुलमा प्रयोग गर्दै आएको छ । ग–१ख–४३१९ नम्बरको बसले वडीको रंग मात्र फेरेर प्रयोग गरिरहेको छ । यस्तै लेखनाथको एक बोर्डिङ स्कुलले पनि यस्तै जिर्ण विस्थापित बसलाई पहेलो रंग पोतेर विद्यार्थी बोक्न प्रयोग गरिरहेको अवस्थामा दुर्घटना हुन पुग्दा दर्जन बढी विद्यार्थी घाइते भएका थिए । ना.२ख८६४७ नम्बरको भाडा बसलाई स्कुल बस बनाएर प्रयोग गरेको थियो । यि तिनै वटा बसले धेरै पक्षलाई झुक्याएर ठग्ने काम गरेको छ । जिर्ण भाडाको बसलाई विद्यार्थी बोक्न प्रयोग गरेर बालबालिकाको सुरक्षा माथी गंभिर खेलवाड गरेको छ । सार्वजनिक बसले पाउने कर सुविधा लिएर राज्यलाई ठग्न पुगेकाछन् । सुन्तला रंग पोतेर आम नागरिकलाई गुमराहमा पार्ने काम भएको छ । सुन्तला रंग लगाएपछि रातो प्लेटमा हुनुपर्छ स्कुलका सवारी साधन तर देश र जनतालाई झुक्याउने खेलमा लागेका ति बोर्डिङ स्कुलले शिक्षा कार्यालय समेतलाई झुक्याएका छन् । गत २२ बैशाखको अनुगमनमा यि बसहरु उम्किएका छन् तर जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा भन्छन्–‘हामी खोजी खोजी कारबाही गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित