मुलुकमा श्रम अभाव : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शभुकामना तथा बधाई दिएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज मजदुर दिवसले नेपाली श्रमिकको हक र हित सुनिश्चित गर्न प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे । झन्डै ४० लाख नेपाली श्रमिक विश्वका विभिन्न मुलुकमा श्रम बेचिरहेका कारण मुलुकमा भने श्रम अभाव देखिएको पनि उनले बताए। ‘यस पटकको मे दिवस हामी नेपालीका लागि विशेष महत्व राख्छ। गत वर्षको वैशाखमा आएको भूकम्पले पुर्याएको क्षतिपछिको अवस्था र असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएपछिको अवस्था हाम्रा लागि विशेष अवस्था हुन्, सामान्य समयमा जस्तो मे दिवसमा श्रमिकका लागि आठ आठ घन्टा काम–आराम र मनोरञ्जन भनेर मात्रै पुग्दैन, भूकम्पछिको पुनःनिर्माण र संविधान कार्यान्वयन समेत यसको कार्यसूचीमा पर्नुपर्छ।
मे दिवस मनाइरहँदा नेपाली श्रमिकले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणमा आफ्नो उत्साहजनक सहभागिता र संविधानले संस्थागत गरेको नेपाली श्रमिकको हक–हितको व्यवहारमा पूर्ण रुपमा कार्यान्वयनलाई दुई महत्वपूर्ण दायित्वका रुपमा लिनुपर्छ भन्ने मलाई लागेको छ।’ उनले भने । विदेशिएका नेपाली श्रमिकलाइ भूकम्पपछिको पुनस्निर्माण अभियानमा संलग्न गराउन सके तत्कालको श्रम अभावको समस्या हल हुन सक्ने उनको भनाइ छ।
प्रतिक्रिया