पत्रकार सूर्यकुमार क्षेत्रीको निधन, श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिने
काठमाडौं पत्रकार एवं कलाकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ। क्षेत्री ब्रेन ट्युमरबाट पीडित थिए। डेढ वर्षदेखि उपचाररत क्षेत्रीको बिहीबार राति सवा ९ बजे काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। क्षेत्रीले पाल्पाबाट ५७ सालमा पत्रकारिता र सँगसँगै गीत रचना यात्रा सुरू गरेका थिए। पाल्पाका गाउँले देउराली, नवजनचेतना, पाल्पा टाइम्स, श्रीनगर एफएम, पश्चिमाञ्चल एफएममा उनले काम गरे। पत्रिका बितरक (हकर) हुँदै पत्रकारिता यात्रा सुरू गरेका क्षेत्रीले कम उमेरमै निकै संघर्षपूर्ण जीवन यात्रा तय गरेर सफल युवा पत्रकारको छवि बनाएका थिए। पाल्पाबाट राजधानी आएपछि उज्यालो एफएमलगायत अन्य संचार माध्यममा काम गरेका क्षेत्री प्रेस युनियनका सचिव भए। क्षेत्री नेपालीकला डटकमका सम्पादक हुन्। स्याङजा पिँडिखोला निवासी क्षेत्रीका श्रीमती र एक छोरा छन्। उनको परिवार अहिले पनि पिंडिखोलामा नै बसोबास गर्दै आएका छन् । क्षेत्रीको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ। नेपाल प्रेस युनियनले क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। युनियनले क्षेत्रीको निधनमा शोक बक्तव्य पनि जारी गरेको छ ।
यस्तो छ प्रेस युनियनले जारी गरेको शोक बक्तव्य
मितिः २०७३ वैशाख १६ शोक वक्तव्य नेपाल प्रेस युनियनका साथीहरुका लागि हामी यो दुखद खवर वाँड्न वाध्य भएका छौ। हाम्रा सहकर्मी मित्र तथा केन्द्रीय कार्यसमितिका सचिव सूर्य कुमार क्षेत्री हामीबिच रहनुभएन। २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि नेपालस्थित अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो। केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो। बिहिवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्याहइएका क्षेत्रीको चिकित्सकहरुले उपचारका क्रममा राती सवा ९ वजेतिर मृत घोषित गरेका छन्। नेपाल प्रेस युनियन सहकर्मी क्षेत्रीको असामयिक निधनले स्तव्ध भएको छ। सूर्य क्षेत्री बचाउ अभियानमा जुटेका सबै पत्रकार साथीहरु शुभचिन्तकहरु पनि उहाँको निधनले स्तव्ध भएका छन्। क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन। उहाँका बा आमा स्याङजामा रहँदै आउनुभएको छ। परिवारका सदस्यहरु काठमाडौं आइसकेपछि स्वर्गीय क्षेत्रीको शुक्रवार दाहसंस्कार गरिनेछ। नेपाल प्रेस युनियन यस शोकको घडीमा स्वर्गीय क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त क्षेत्री परिवारप्रति युनियन समवेदना प्रकट गर्दछ। जय नेपाल।
अजय बाबु शिवाकोटी महासचिव नेपाल प्रेस युनियन
प्रज्ञाभवनमा श्रद्धाञ्जलीका दिईने पत्रकार तथा गितकार सुर्यकुमार क्षेत्रीको शव अन्तीम श्रद्धाञ्जलीका लागि शुक्रवार विहान प्रज्ञा प्रतिष्ठान परिसरमा राखिने भएको छ । नेपाल प्रेस युनियनका सचिव समेत रहेका क्षेत्रीलाई युनियन र राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानले श्रद्धान्जलीका लागि प्रतिष्ठान परिसरमा राख्न लागेको हो । विहान ९ बजे देखि केही घण्टा प्रतिष्ठानको परिसरमा राख्ने तयारी भईरहेको युनियनका महासचिव अजयवावु शिवाकोटीले जानकारी दिए । क्षेत्रीका वुवा सहित पारिवारजन उनको घर स्याङजा पिडिखोलाबाट काठमाडौं आउदै गरेकाले अन्त्यष्टी भने कहाँ गर्ने भन्ने बारेमा निर्णय हुन वाँकी रहेको छ । उनको निधनपछि विहान ८ बजे प्रेस युनियनको आकस्मीक बैठक बसेको छ ।
प्रतिक्रिया