अरुको छानविन गर्ने नै अकुत सम्पत्तिमा मुछिएपछि

Sombahadur-Thapaकाठमाडौं । अरुको छानविन गर्ने निकायमा बसेका व्यक्ति नै अकुत सम्पत्ति जोडेर विवादमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै अख्तियारमा नै उजुरी परेको घटना एकातिर छ भने अर्कोतिर संसदको सार्वजनिक लेखा समितिमा रहेका सचिव नै अकुत सम्पत्तिमा मुछिएपछि छानविन गर्ने निकायका पदाधिकारीको हैसियत विस्तारै बाहिर आउँदैछ ।

स्थायी घर तनहुँ जिल्ला भएका सोमबहादुर थापाले भक्तपुरको कौशलटारमा आलिसान घर बनाएका छन् । उनीसँग पैसा, घडेरी, बैंक ब्यालेन्स र अन्य सम्पत्ति थुप्रै छ । उनी यति पावरफुल छन् कि प्रधानमन्त्रीदेखि ब्यूरोक्रेटसम्म सबै थर्कमान हुन्छन् । यति मात्रै होइन व्यापारी, सांसद, सर्वसाधारण पनि यि व्यक्तिसँग डराउँछन् । त्यसो भए यी व्यक्ति को हुन त ? यी हुन् संसद सचिवालयको सार्वजनिक लेखा समितिमा लगातार सचिव रहेका व्यक्ति । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । यिनलाई लेखा समितिबाट कसैले अर्को समितिमा लैजान र पठाउन सक्दैन । संसदको सबैभन्दा बद्नाम समिति पनि सार्वजनिक लेखा समिति पर्छ । यतिसम्मकी थापाले आफ्नो नाममा कुनै पनि सम्पत्ति राखेका छैनन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अहिलेसम्म केही कदम चाल्न सकेको छैन । लेखा समितिले छानविन, सोधपुछ र अध्ययनका नाममा प्रधानमन्त्री, उच्च कर्मचारी, व्यापारीदेखि जसलाई पनि बोलाउन सक्छ । भ्रष्टाचार र अनियमितता हेर्ने जिम्मेवारी पाएको मिनी संसदका रुपमा चिनिने यो लेखा समिति आफैमा ‘माछाको सिनो’ जस्तो भएर बसेको छ । यो समितिका सांसद सदस्यहरू पनि बद्नाम छन् । सोधपुछ र अनियमितताको नाममा पैसा उठाएर सीमित सांसद सदस्यबीच बाँडेर खाने परम्परा रहेको स्रोतको भनाइ छ । सो समितिका सीतिम सदस्यहरूले करोडौं कमाइ सकेका छन् । मन्त्री बन्नुभन्दा लेखा समितिको सदस्य बन्दा धेरै फाइदा हुने भएपछि सांसदहरू लेखा समितिको सदस्य बन्न तछाड मछाड नै गर्छन् । संसद सचिवालयले समय समयमा सबै कर्मचारीहरूको जिम्मेवारी र शाखा परिवर्तन गर्दै आएको छ । संसद सचिवालयका एकमात्र कर्मचारी सोमबहादुर थापाको भने कुनै पनि शाखा परिवर्तन हुँदैन । उनले सभामुख ओनसरी घर्तीदेखि महासचिव मनोहरप्रसाद भट्टराईसम्मलाई रिझाएका छन् ।

थापाले घर्ती र भट्टराईलाई कसरी रिझाएका छन् त्यो थाहा भने भएको छैन । तर, संसद सचिवालय स्रोतका अनुसार थापाले लेखा समितिमार्फत आउने रकमको हिस्सा सभामुख घर्ती र महासचिव भट्टराई सम्म पुगाउने गरेको आरोप छ । सोमबहादुर थापाले लेखा समितिका सभापति एवम् एमाओवादीका नेता जर्नादन शर्मालाई पनि आउने पैसाको हिस्सा दिन थालेका छन् । अहिले सभापति शर्मा र थापाबीच खुबै हिमचिम छ । यी दुई सधैँ सँगै रहन्छन् । सार्वजनिक लेखा समिति चलाउने क्षमता अरु कर्मचारीहरूसँग पनि छ । तर, लेखा समिति आफ्नै घरको बाबुको सम्पत्ति जसरी बनाएर राखेकोमा थापाको आलोचना हुँदै आएको छ । यतिसम्मकी थापाले केही ठूला सञ्चारगृहका पत्रकारहरूलाई समेत आफ्नो प्रभावमा राखेका छन् ।

 उनले सधै रिपोर्टिङमा आउनेभन्दा पनि ठूला सञ्चारगृहका डेस्कमा बस्ने र सम्पादकहरूसँग साँठगाँठ गर्ने गरेको संसद सचिवालयका देख्ने र सन्ने कर्मचारीहरूले बताउँछन् । पेन्सन जमानामा पकाइ सकेका थापाले अझै दुई वर्ष काम गर्न पाउनेछन् । दुई वर्षपछि उनले उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् । अबको दुई लेखा समिति उनकै कब्जामा रहनेछ । यसैबीच, संसद सचिवालयका सचिव मुकुन्द शर्मा आचार्यले अवकास पाउँदैछन् । उनले अवकास पाउने वित्तिकै सचिव पद रिक्त रहनेछ । उमेर हदका कारण अवकास पाउन लागेका शर्माको स्थानमा को जाने हो भनेर संसद सचिवालयका कर्मचारीहरूबीच दौड शुरु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित