कन्सलटेन्सीको आवरणमा मानव तस्करी धन्दा

Avishekh-Sristiकाठमाडौं । प्रहरीले मानव तस्करहरुविरुद्ध जतिसुकै ठूलो अप्रेसन गरेपनि पहुँचवालाहरु भने कारबाहीको दायरामा आउन सकेका छैनन् । द रिभर ओभरसिजका सञ्चालक रघु पुरीले पैसाकै कारण प्रहरीलाई राजनीतिक दबाब दिएर दर्जनौं गैर कानुनी धन्दाबाट उन्मुक्ति पाएपछि गैरकानुनी काम गर्ने मेनपावरहरु फेरि सक्रिय हुन थालेका छन् । त्यसैगरी कन्सलटेन्सीहरुले पनि मेनपावर कम्पनीले जस्तै गर्दै आएको अवैध धन्दा पनि रोकिएको छैन । यतिखेर दर्जनौ युवाको लाखौं रुपियाँ लुटेर बन्द भएको बालुवाटारको जेनेक्स इन्टरनेशनल प्रालिले अर्को नामबाट आफ्नो अस्तित्व बनाएको छ ।

नयाँ अस्तित्वमा आएसँगै सो प्रालिका सञ्चालकहरूले युवाहरूलाई मेडिकल शिक्षादेखि विदेशी मुलुक पठाउने बहानामा लाखौं उठाउने धन्दा सुरू गरिसकेको खुलेको छ ।जेनेक्सका सञ्चालक अभीषेकध्वज शाहले नक्सालस्थित सगरमाथा कम्प्लेकसको २०२ नम्बर कोठामा कार्यालय राखेर इर्मा इन्टरनेशन कन्सल्टेन्सी स्थापना गरेका हुन् । इर्मामार्फत अभीषेकध्वजले फेरि ठगी धन्दा सुरू गरेको पीडित युवाहरूले बताएका छन् ।

ठगी धन्दामा अभीषेकलाई उनकी पत्नी सृष्टि राणाले पनि साथ दिने गरेको स्रोत बताउँछ । सर्वसाधारण युवाहरूलाई अमेरिका, क्यानडा, दुबई, यूरोपलगायतका मुलुकमा पठाउने भन्दै प्रभाकर विक्रम शाह र आयुष्मा राणाले पनि अभीषेकध्वजलाई साथ दिने गरेका छन् । प्रभाकर र आयुष्मा पति पत्नी हुन् । यो जोडीले नेपाली युवाहरूसँग लिएको रकमबाट फिलिपिन्समा घर किनेको एक पीडित बताउँछन् । फिलिपिन्स र भारतमा बसोबास गर्दै आएका प्रभाकर र आयुष्मा नेपालमा आक्ल झुक्कल आउने गर्छन् ।

आएपनि लुकेर हिँड्ने गरेको पीडित युवाहरूले बताएका छन् । यो समूहले खगेन्द्र सिटौलाको ५० लाख, जीवन शाहीको २२ लाख, कैलाश चौधरीको ५ लाख, शम्भु यादवको ५ लाख, गोविन्द गुरुङको २ लाख ज्ञानेन्द्र पाण्डेको ३ लाख, प्रकाश लामाको ५ लाखा र नील चौधरीको १० लाख रुपियाँ लिएर फरार भएको आरोप छ । फिलिपिन्समा चिकित्सा अध्ययन र अमेरिका तथा अन्य राम्रा मुलुकमा पठाइदिन्छु भनेर उनीहरूले लाखौं रकम उठाएको एक पीडितले बताए ।

‘पैसा माग्दा दिँदैनन्’, ती पीडित युवाले भने–‘धम्की दिएर भेट्नै चाहँदैनन् । उजुरी पनि दिएका छौँ । कारबाही नै भएको छैन ।’ अभीषेकध्वज, सृष्टि, प्रभाकर र आयुष्माविरुद्ध श्रम विभागमा उजुरी पनि परेको छ । उजुरी परेपनि उनीहरू भागेर हिंडेकाले कारबाही हुन सकेको छैन । विभाग र प्रहरी प्रशासनले कारबाहीतर्फ ध्यान नदिएको पीडित युवाहरूको गुनासो छ । पीडित युवाहरूले इर्मा कन्सल्टेन्सीले फेरि सुरू गरेको ठगी धन्दा र मानव तस्करी तत्काल बन्द गर्न सरोकारवाला निकायसँग माग गर्दै आफूहरूको डुबेको पैसा फिर्ता गराइदिन भन्दै उजुरी हालेका छन् - यूनाइटेड पोष्ट सप्ताहिकमा  समाचार  छ ।

प्रतिक्रिया

सम्बन्धित