नक्कली इन्जिनियर पक्राउ प्रकरणमा काउन्सिल नै शंकाको घेरामा

punकाठमाडौं । महानगरीय अपराध महाशाखाले तीन जना नक्कली इन्जिनियरसहित पाँच जनालाई पक्राउ गरेको छ । इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराई केही इन्जिनियरहरुले काम गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उपत्यकाका बिभिन्न ठाउँबाट महाशाखाको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

केही समय अघि केन्द्रीय अनुसन्धान व्यूरो(सिआईवी)ले दर्जनौ नक्क्ली डाक्टरहरुलाई पक्राउ गरी कारबाही गरेपछि इन्जिनियरहरुलाई पनि शंकाको घेरामा राखिएको थियो । महाशाखाले पक्राउ गरेका नक्कली इन्जिनियरहरुमा डोटी दिपायल सिलगढी नगरपालिका–३ का हितेश सिंह, खोटाङ बाकसिला गाबिस–८ का पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठ–३ का सनत श्रेष्ठ रहेका छन् । त्यसैगरी नक्कली प्रमाणपत्र बनाई प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराउने ललितपुर–१८ गाबाहलका कम्प्युटर डिजाइनर अंकित खड्का र ललितपुर–१४ नख्खिपोटका सुबित खड्कालाई पनि पक्राउ गरेको छ । महाशाखाको अनुसन्धान टोलीले ललितपुर उपमहानगरपाकिला–१८ गाबहालस्थित कम्प्यूटर डिजाइनर कार्यालयबाट कम्प्यूटर लगायतका उपकरणहरु तथा नक्कली छापसहित नक्कली इन्जिनियरिङको प्रमाणपत्र र नक्कली कागजात बरामद गरेको छ ।

उनीहरुलाई थप कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको महाशाखाका एसपी सहकुलबहादुर थापाले बताए । महाशाखाको कारबाहीपछि नक्कली कागजातहरु तयार पारी इन्जिनियरिङ काउन्सिलमा दर्ता गराई काम गर्दै आएका धेरै इन्जिनियरहरु तानिनसक्ने देखिन्छ । नक्कली कागजातलाई रुजु नै नगरी काउन्सिलमा दर्ता गराउने कार्यमा सक्रिय कर्मचारीहरु पनि फन्दामा पर्ने देखिएको छ । काउन्सिलमा त्यस्ता नक्कली प्रमाणपत्र दर्ता गराउने कार्यमा कुनै पनि कर्मचारीको संलग्नता रहेको भेटिएमा उनीहरुमाथि पनि कारबाही हुने एसपी थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित