कोही निरंकुश बन्न खोज्छ भने त्यस्तालाई फाल्नु पर्छ :शम्भु थापा
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार एवम् साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितमाथि अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नियन्त्रणमा लिएर मौन संस्कृतिको विकास गर्न खोजेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रतामाथि मडारिएको त्रासको बादल र नागरिक दायित्व’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीप्रति इंगित गर्दै भने–‘कोही निरंकुश बन्न खोज्छ भने लोकतन्त्रमा त्यो सह्य हुँदैन ।
त्यस्तालाई फाल्नुपर्छ ।’ दीक्षितको मुद्दामा अख्तियारले आफैं केही अनुसन्धान नगरी दीक्षितले बुझाएको सम्पत्ति विवरणलाई ‘अकुत कमाई/भ्रष्टाचार गरेको’ आरोप लगाई लोकतन्त्रका प्रखर योद्धाको मुख चुप गराउन खोजेको थापाले बताए । अख्तियारमा दीक्षितले बुझाएको सम्पत्ति विवरणको फाइल देखाउँदै थापाले दीक्षितको सम्पत्ति, स्रोत, साझामा दीक्षितको दायित्व र उनले गरेका कामहरु बारे प्रष्ट पारेका थिए । ‘अदातलको कार्वाही वा मुद्दा सम्बन्धी म केही बोल्दिन, अधिवक्ताका नाताले एकजना लोकतन्त्रका हिमायतीको सम्पत्तिबारे जसरी भ्रम फैलाइएको छ, त्यो स्पष्ट पारिन जरुरी छ ।’ थापाले भने । दीक्षितको अमेरिकाका बैंकमा रहेको विदेशी मुद्रा उनी संयुक्त राष्ट्रसंघमा कार्यरत रहँदा गरेको कमाई त्यहाँको बैंकमा राखिएको, त्यसबारे नेपाल राष्ट्र बैंकलाई जानकारी दिएको स्पष्ट पार्दै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रसंघका कागजात समेत देखाएर स्पष्ट पारेका थिए । त्यसैगरी बेलायतको बैंकको शेयर उनका पिताबाट नामसारी भई आएको भन्दै उनले त्यसको स्रोत सम्बन्धमा स्पष्ट पार्दै भने–‘यो सबै कसैले अनुसन्धान गरेको नभई कनकजीले आफैं अख्तियारलाई बुझाएको सम्पत्ति विवरण हो, त्यसैलाई अर्को तरिकाले प्रस्तुत गरियो ।’
थापाले नेपालको संविधानले कसैलाई पनि जहाँ पायो त्यहाँ प्रवेश गर्न, जो पायो उसलाई थुनामा राख्न र व्यक्तिको गोपनीयता भंग गर्ने अधिकार नदिएको उल्लेख गर्दै के अख्तियारलाई संविधानले ब्ल्यांक चेक दिएको छ ? भन्दै प्रश्न समेत गरे । कानून व्यवसायीका हैसियतले आफू दीक्षितलाई भेट्न जाँदा पूर्वाग्रह राखी भेट्न नदिएको, भेट्ने अधिकारका लागि पनि अदातलको आदेश खोज्नु पर्ने अवस्था आएको बताउँदै थापाले भने–‘हामी कस्तो लोकतन्त्रमा छौं जहाँ कानून व्यवसायीले आफ्नो क्लाइन्टलाई भेटन अदालतबाट आदेश ल्याउँदा पनि भेट्न पाइँदैन ।’ सबै लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर मिलेर यसलाई रोकी मुद्दा टुंगोमा पु-याउनु पर्नेमा बरिष्ठ अधिवक्ता थापाले जोड दिएका थिए ।
प्रतिक्रिया