पर्यटन मन्त्री पोखरेलको भट्टी मोह

यदुनाथ बञ्जारा remboपोखरा । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेल मन्त्रालयका मुख्य काममा असफल बन्न थालेपछि भट्टी पसलका उद्घाटनमा हिड्न थालेका छन् । पर्यटन मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय ध्वजाबाहक विमान ठीक छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पोखरेलकै कारण विश्वास नलाल्दा प्रधानमन्त्री केपी शर्मा ओली नीजि विमान कम्पनीको विमान हिमालय एयरलाइन्स चढेर चीन भ्रमण गए । यसरी मन्त्री पोखरेलप्रति प्रधानमन्त्री ओलीको विश्वास घट्न थालेपछि उनको व्यस्तता भने अन्यत्र मोडिने गरेको छ । उनलाई कार्यक्रम उद्घाटन गर्न पाए भयो । कार्यक्रम जहाँ जे भएपनि भयो । अझ आफ्ना कार्यकर्ताहरुको हो भने पुजाआजामा पनि सामेल भइहाल्ने बानी रहेछ ।

 उनको व्यस्तता राष्ट्रिय हितमा हुनुपर्ने हो । तर, कार्यपालिका (क्याविनेट) का जिम्मेवार मन्त्री एउटा रेस्टुराँ उद्घाटन र शिलान्यास गर्दै हिड्न थालेका छन् । क्याविनेट मन्त्रीले राष्ट्रिय गौरवका योजनाहरु तय गर्ने, तय भएकालाई कार्यान्वयन गर्ने हो तर उडेका उड्यै छन्, देशभरी त्यो पनि रेस्टुराँ उद्घाटन गर्न । रेस्टुरेन्ट सुधारिएको आधुनिक भट्टी हो । मन्त्री जस्तो उच्च ओहोदाको व्यक्ति एउटा भट्टी पसल उद्घाटन गर्न राष्ट्रको ढुकुटी खर्च गरिरहेका छन् । यो त ‘उपती भन्दा खपती बढी भएन र ?’एउटा मन्त्री रेस्टुराँ उद्घाटनमा समय बर्बाद पारिरहँदा राज्यले ठूलै मूल्य चुकाइरहेको हुन्छ । शान्ती सुरक्षा र अपराध नियन्त्रणमा खटिनु पर्ने सुरक्षाकर्मीहरु मन्त्रीको अघिपछि लाग्दै भट्टीको वरिपरि ड्यूटीमा खटिनुपर्ने बाध्यता हुन्छ । यस्तै एउटा दृश्य याम्दीमा देखियो ।

 बैशाख १ गते ३ बजे मन्त्री आनन्द प्रसाद पोखरेल याम्दी पुलमुनी खोलिएको रेन्वो ट्राउट रेस्टुरेन्टको उद्घाटनमा पुगेका थिए । मन्त्री पोखरेलले उक्त रेस्टुरेन्ट उद्घाटन गरेर मालिकहरुको सान मात्र बढाइदिएनन् युवा व्यवसायीहरुको मुक्त कण्ठले प्रशंसा गरे । मर्दीखोला रेन्वो ट्राउट फार्ममा उत्पादित ट्राउट माच्छा भुटेर सिल प्याक रक्सी बेच्ने भट्टीको उद्घाटन गर्ने मन्त्रीको हैसियत ठूलो की उद्घाटन गर्न बोलाउने रेस्टुरेन्ट मालिकको हैसियत ठूलो ? यसले एउटा प्रश्न उठाएको छ । राष्ट्रको क्याविनेट मन्त्रीले यस्ता रेस्टुरेन्ट (भट्टी) उद्घाटन गर्दै हिँडेर कसरी मुलुकको विकास हुन सक्छ ? मन्त्रीले उद्घाटन गरेपछि मात्र रेस्टुरेन्टको व्यापार फस्टाउने हो ? मन्त्रीले त नीति बनाउने, बनेकालाई लागु गर्ने हो । रेन्बो ट्राउट रेस्टुरेन्टका सञ्चालकहरु एमाले निकटका भएका कारण उद्घाटन कार्यक्रममा पर्वतका एमालेका अधिकांस नेता तथा कार्यकर्ताहरु उपस्थित थिए । पर्वतबाट एमाले समानुपातिक सभासद् कल्पना चापागाई देखि कास्की ४ कि सभासद् सिता गिरी ओली मात्र हैन, विदाका दिन सरकारी सवारी साधनको समेत दुरुपयोग गर्दै कृषि, पशु र शिक्षा कार्यालय पर्वतका हाकिमहरु पनि भट्टी परिसरमा उपस्थित देखिन्थे ।

 पर्वतमा नमुना बोर्डिङ स्कुल सञ्चालन गरिरहेकाहरुको समूहले सञ्चालन गरेको रेन्बो ट्राउट रेस्टुरेन्टमा हाल रुद्रनाथ पौडेल, यामप्रसाद शर्मा र नन्दलाल भुषाल सञ्चालक रहेको बताइएको थियो । व्यवसाय गर्ने को थिए भन्नु भन्दा पनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलको प्रत्यक्ष संलग्नता के छ भने प्रमुख विषय बनेको छ । रक्सी र माछा खाने पसल पर्यटन मन्त्रालय अन्तर्गत पर्ने क्षेत्र हो ? त्यसले पर्यटन नीति प्रवर्धनमा कस्तो टेवा दिएको छ त ? खोजीको विषय बनेको छ । त्यसो त पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल रक्सी भट्टी उद्घाटनमा एक कदम अगाडी रहेको यस अघिका पोखराकै कार्यक्रमबाट पुष्टी भइसकेको छ ।

 लेकसाइडमा आयोजित रक्सी महोत्सव उर्फ स्ट्रिट फेस्टिबलको उद्घाटन समेत उनैले गरेका थिए । महँगी र कालाबजारी गर्ने, सिण्डिकेट गरेर लाखौं मूल्यको रक्सी बेचेर कुस्त कमिसन कुम्ल्याउने संस्था रेवानको आयोजनामा भएको सडक महोत्सव उद्घाटन गर्ने मन्त्री पनि पोखरेल नै थिए । जसले याम्दीमा रेन्वो ट्राउट रेस्टुरेन्टको पनि उद्घाटन गरे । आफ्नो मन्त्रालयको काम छोडेर भट्टी उद्घाटन गर्दै हिड्ने मन्त्री कुनै एउटा दलको कार्यकर्ता मात्र हैन । राष्ट्रको गौरव बन्नु जरुरी छ । उद्घाटन गर्ने विषय वस्तुको औचित्य, मूल्य मान्यता, राष्ट्रिय हित समेतलाई ध्यान दिनु जरुरी छ । यसअघि अश्लिल हर्कत गरेको भन्दै प्रहरीले बारम्बार छापा मार्दै आएको ठमेल, काठमाडौंको इविजा नामको डिस्कोको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले गरेका थिए । अहिले राज्यमन्त्री भन्दा तल्लो हैसियतमा झरेर मन्त्री पोखरेल भट्टीको उद्घाटन गर्न हिंडेपछि सरकारका मन्त्रीहरु नै अचम्ममा परेका छन् । रेस्टुरेन्टको भवन मापदण्ड विपरित याम्दी पुल मुनी रहेको याम्दी रेन्वो ट्राउट रेस्टुरेन्टको लागि बनाइएको भवन मापदण्ड विपरित बनेको आशंका उब्जिएको छ । पुलको ठीक मुनी निर्मित भवन र कम्पाउण्ड पर्खालले खोलाको मापदण्ड समेत मिचेको देखिन्छ । यस विषयमा राज्यका निकायले स्वतन्त्र छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनु जरुरी छ । छानबिनबाट मापदण्ड मिचेको प्रमाणित भएमा उद्घाटन गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याउन खुट्टा कमाउनु हुन्न । रेस्टुरेन्ट उद्घाटनमा सहभागी हुन आएका व्यक्तिहरु स्वयमले खोला र पुलको मापदण्ड मिचेको हुनसक्ने भन्दै सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्ने सुझाव दिएका थिए । दर्जनौ राष्ट्रिय गौरवका योजनाहरुलाई तुहाएर व्यक्तिगत लाभ हानीका प्रयोजनमा आफूलाई समर्पित गर्ने पात्र र प्रवृत्तिलाई जनता र न्यायको कठघरामा उभ्याउनु जरुरी छ,,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । । आनन्दप्रसाद पोखरेल मात्र हैनन्, यस्ता पात्र जो कोही नै भए पनि तिनका कर्मकाण्ड छताछुल्ल पार्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित