पूर्वराजा ज्ञानेन्द्रले थापालाई साइजमा ल्याउने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिय शासन व्यवस्थाका बेला चाकडी र चाप्लुसीमार्फत मन्त्री बनेर राप्रपा विभाजन गरी ‘तरमारे’ का कमल थापा अहिले ओठमुख सुक्ने गरी तिलमिलाएका छन् । राप्रपा नेपालका अध्यक्ष र उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनेका कमल थापालाई राष्ट्रहितका विषयमा अहिले सोँच्ने पटक्कै फुर्सद छैन । उनले आफ्ना कार्यकर्तालाई पनि खासै ध्यान नदिएको आरोप छ ।
किन भने उनको पार्टी विभाजन हुँदैछ । उनलाई पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले हैरान खेलाएका छन् । विष्टले छिट्टै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेका छन् । विष्टलाई पूर्वराजा ज्ञानेन्द्र शाहले सहयोग गरिरहेको आरोप छ । तर, यो आरोप मान्न विष्ट तयार छैनन् । विष्टलाई तह लगाउन कमल थापाले तीन वर्षका लागि पार्टीबाट निष्कासन गरे पनि उनी ‘सुकमन’ बस्न भने पाएका छैनन् । स्रोतका अनुसार पूर्वराजा शाहका साथी प्रभाकर शम्शेर राणाको सहयोगमा राप्रपा नेपाललाई धुजाधुजा बनाउने अन्तिम तयारी भएको छ । कमल थापाले पनि ‘मेरो पार्टीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले विभाजन गरिदिन लागे’ भन्दै आफू निकटका नेताहरूसँग आक्रोश पोख्ने गरेका छन् ।
राजसंस्था र हिन्दू राष्ट्रको मुद्दा लिएर समानुपातिकमा २४ सिट जितेको राप्रपा नेपालले दुबै एजेन्डालाई कमल थापाका कारण ‘पेटिकोट’ लगाइदिएको आरोप वीरगञ्जमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यले लगाएका थिए । यतिसम्मकी कमल थापाको धेरै आलोचना भएपछि फेरि राप्रपा नेपालले हिन्दू राष्ट्रका पक्षमा मुलुकभरि अभियान चलाउने निर्णय गरेको थियो । तर, संवैधानिक राजतन्त्रका विषयमा अभियान चलाउने कुनै निर्णय गरेको छैन । यसबाट पनि राप्रपा नेपालका कार्यकर्ता र नेताहरू कमल थापाको कार्यशैलीबाट रुष्ट बनेका छन् ।
फेरि पनि चुनावमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको नाम बेचेर जाने तयारी गरेको बुझेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कमल थापाको योजना चकनाचुर बनाइ दिने योजनामा लागेको स्रोतको दाबी छ । पूर्वराजा ज्ञानेन्द्र शाहले बरु राप्रपालाई संरक्षण गर्ने योजना बनाएका छन् । आफ्ना नजिकका साथी र आफन्तसँग कमल थापाले ठूलो धोका दिएको बताउने गरेको पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेपाल र कमल थापालाई साइजमा ल्याउन ठूलै योजना गरेको बताइन्छ ।हुन त कमल थापाले नयाँ संविधानमा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको विषयलाई क्रिश्चियनहरूसँग बिक्री गरेर सात करोड रकम खाएको आरोप पनि छ ।
यो आरोप पुष्टि हुने कुनै आधार नरहे पनि कमल थापाले हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दालाई भने छाडिसकेका छन् । उनले आफ्ना दस्तावेजमा जे लेखेपनि यी दुबै विषय छाडिसकेको उनको राजनीतिक गतिविधिले देखाएको छ ।
कमल थापाले कहिल्यै पनि हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रका पक्षमा खुलेर बोलेका छैनन् । बरु सधै हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको विरोध गर्दै आएका दलहरूसँग साठगाँठ गरेर सत्तामा पुगे । उनले अहिले सत्तामा बसेर भ्रष्टाचार गर्नुका साथै कमाउ धन्दामा लागेका छन्,यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । ।
प्रतिक्रिया