कहाँ लगे मनकामनाका पूजारीले करोडौ भेटी ?

manakaamanaयदुनाथ बन्जरा/  पोखरा।  हिन्दू आस्थिकहरुको महाशक्ति पिठ देवी मनकामनाको मन्दिर यतिखेर अस्तव्यस्त र असरल्ल रहेको छ। यसै त कोल्टो परेको मनकामना देवीको मन्दिर त्यस माथी २०७२ बैशाख १२ र २९ गते विनाशकारी भूकम्पको चड्कन। मन्दिर जिर्णोद्वार गर्ने लक्ष्य र योजना बोकेर आर्थिक जोहो गरिरहेका मनकामना क्षेत्र विकास समितिले २०६८ सालमै मन्दिर जिर्णोद्वार समिति गठन गरेको थियो। मन्दिरको जिर्णोद्वार गर्न तयारी गर्दै रहेकाहरुलाई भूकम्पले मन्दिर जिर्ण माथी जोखिम थपिदिएपछि हतारहतार भवन भत्काइएको छ र मन्दिरको पुननिर्माण कार्यजग देखि नै सुरु गरिएको छ।

  समितिले जिर्णोद्वार भने पनि मन्दिरको पुननिर्माण नै भएको देखिएको छ। जिर्णोद्वार समितिका संयोजक तोकिएका नरेन्द्र श्रेष्ठ पनि पुननिर्माण भन्न तयार भएनन्। किन हो एकिन जवाफ छैन तर श्रेष्ठ भन्छन् मन्दिरको पुननिर्माण हैन जिर्णोद्वार गरिदैछ। हाम्रो आँखाको धर्म चाही के हो भने कोल्टिएको मन्दिर जगबाटै भत्काइएको छ र नयाँ मन्दिर जगबाट निर्माण थालिएको छ। मन्दिरको पुरानो स्वरुपकै आधारमा नयाँ निर्माण गरिदै छ तर निर्माण समिति भने जिर्णोद्वार शब्दकै रटान गरिरहेछ किन ? अर्थ बुझ्न सकिएन। निर्माणाधिन मनकामना मन्दिरमा पुरानो चिज बस्तु केही प्रयोग गर्न मिल्ने अवस्थाका छैनन्। इट्टा देखि काठ र चुन देखि सुन सम्म सबै नयाँ प्रबन्ध गरिएको जिर्णोद्वार समितिका संयोजक दाबी गर्ने नरेन्द्र श्रेष्ठले बताए। कस्तो बन्दै छ मन्दिर ? मनकामना मन्दिर कस्तो बन्दैछ ? भने जिज्ञासा सबैको मनमा रहेको छ। हामीले स्थलगत रुपमा पुगेर मन्दिरको भावी स्वरुपबारे पुननिर्माण समितिका संयोजकसँग प्रश्न राख्यौं। करिब ४ सय वर्ष पहिला देखि स्थापित देवी मनकामनाको क्षतिग्रस्त भवनको स्वरुप फरक नपर्ने गरी नयाँ मन्दिर निर्माण भइरहेको छ। नयाँ बन्ने मन्दिरमा सिमेन्ट प्रयोग नगरिने भएको छ। चुनासुर्की र बालुवाको प्रयोग गरेर मन्दिर बनाइदैछ। भक्तपुरबाट ल्याइएको गद्धीआप्पा ईट्टा र महाआप्पा ईट्टा अनि विशेष प्रकारको काठ प्रयोग गरिने छ। यी सामाग्रीहरु सहयोग स्वरुप आइसकेका छन्।भुकम्पको सम्भाव्यता बडिरहेको बेलामा मनकामनामा सिमेन्ट र रड बिना नै मन्दिर कति सुरक्षित र बलियो हुन्छ भन्ने विषयमा सम्बन्धित निकाय नै ढुक्क देखिदैनन्।

  सरकार र दाताहरुको सहयोगबाट बन्न गएको नयाँ मन्दिरले पनि पुरानै नियती भोग्नु पर्ने र होइन भन्ने तर्फ आम भक्तजनहरुको आशंका रहेको छ। प्राचिनता झल्काउने नाममा पुरातन सोच राखेर कमजोर भौतिक संरचना निर्माण गर्नु उचित नभएको अधिवक्ता जनकल्याण पराजुली बताउँछन्। राज्यको पछिल्लो नीति अनुसार मन्दिर निर्माण गर्न ध्यान जानुपर्ने पराजुलीले बताए।

   मन्दिर निर्माणका लागि करिब ११ करोड खर्च लाग्ने दाबी प्रस्तुत गरिएको छ। यति ठूलो रकम खर्च गरिने योजनामा राज्यले ३ करोड ४३ लाखको झण्डै आठ किलो सुन र ५७ लाख रुपैयाका काठहरु सहयोग उपलब्ध गराउने भएको छ। मन्दिरको गजुर र छानामा जलप लगाउन सुन प्रयोग गरिने निर्माण समितिका संयोजक नरेन्द्र श्रेष्ठले बताए। सरकारले दिने सुन र काठ बाहेक अन्य खर्च दाता र भक्तजनको चन्दाबाट जुटाइने छ। हाल सम्म ५ करोड रुपैया चन्दा सहयोगबाट संकलन भइसकेको छ भने बाँकी दुई करोड रुपैयाँको लागी जोहो गर्ने प्रयास भइरहेको पनि श्रेष्ठले बताए। २०७४ बैशाख सम्म मन्दिर निर्माण सम्पन्न गरिने श्रेष्ठले दाबी गरे। पुजारीको मन खुलेन पशुपतिनाथका पुजारीहरुलाई राज्यले कानुनको दायरामा ल्याइएको छ। पशुपतिनाथ मन्दिरमा चढ्ने सम्पूर्ण भेटीघाटी पशुपति क्षेत्र विकास कोषका नाममा जम्मा हुन थालेपछि त्यहाको आम्दानी ह्वात्तै बढेको छ। वार्षिक करिब ३ करोड बढी रकम कोषमा जम्मा हुँदै आएपछि पशुपति क्षेत्रको विकास गर्न थप टेवा पुगेको छ। तर मनकामना मन्दिरका पुजारी इन्सान थापाले मन्दिरको सबै आम्दानीलाई व्यक्तिगत बनाएका छन्। वार्षिक करोड बढी आम्दानी गर्दै आएका पुजारी इन्सान थापाले मन्दिरको पुननिर्माणमा जम्मा पाँच लाख रुपैया सहयोग गरेका छन्। त्यो पनि मौखिक आश्वासन मात्र दिएका छन्।

  पुजारीको आम्दानी वार्षिक लाखौं हुने भएपनि उनको मन खुल्न नसकेको भन्दै स्थानिय र निर्माण समितिले असन्तुष्टि व्यक्त गरेका छन्। यस्तै मनकामना केवलकारले पनि केही समान ढुवानीमा सहयोग पु¥याएपनि भरपर्दो सहयोग पु-याएको छैन। मन्दिरको पुन निर्माण जस्तो महा अभियानमा दिल खोलेर सहयोग गर्नुपर्नेहरुको मन नै खुल्न नसकेपछि समस्यामा परेको मनकामना मन्दिर व्यवस्थापन समितिले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित