सरकार गिराउन एमाओवादी र एमालेभित्रै खेल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली गुटभित्र रमाउँदा एमाले भित्र चरम असन्तुष्टि चुलिएको छ । ओलीलाई आफ्नै गुटका नेताहरुले समेत असहयोग गर्न थालेका छन् । जसका कारण एमाले स्थायी कमिटिको बैठकमा केन्द्रिय विभाग र सल्लाहकार समितिमा मनोनय समेत हुन सकेको छैन । ओलीले महाधिवेशन सम्पन्न भएको दुई वर्ष वितिसक्दा पनि कुनै पनि विभाग र समितिमा मनोनयन गर्न सकेका छैनन् । चीन भ्रमणमा जाँदा पार्टीको स्वीकृत बेगर आफूखुसी व्यक्तिहरु लिएर गएपछि ओली पार्टीभित्र थप आलोचित बन्दै गएका छन् । त्यसो त ओलीले सचिव बनाएका पूर्व पर्यटन मन्त्री भिम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट यतिखेर ओली विरुद्ध नै लागि परेका छन् भने उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भिम रावल पनि ओली विरुद्ध भित्रभित्रै गुटवन्दी गरिरहेका छन् । एकातिर ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पाखा लगाएपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ भने अर्कोतिर आफ्नै गुटका नेताले असहयोग गर्दा ओली आलोचित बन्दै गएका छन् ।
विशेष गरेर ओलीको नाम भजाएर सचिव शंकर पोखरेल, ईश्वर पोखरल, सुवासचन्द्र नेम्वाङ, अग्नि खरेलसहितका नेताहरू गुटगत भेलामा रमाउन थालेपछि नेपाल समूह आगो बनेको हो । संस्थापनले मदन भण्डारी प्रतिष्ठानको नाममा काठमाडौंमा भेला गरेपछि एमालेभित्रको बिबादले चर्को रुप लिएको छ । चीन भ्रमण सकेर आएलगत्तै ओलीले एमालेका केही नेता र आफ्नो गुटलाई बालुवाटारभित्र सरकारी पैसा दुरुपयोग गरेर मासु र भात खुवाएपछि ओलीको नक्कली राष्ट्रवाद झनै उदाङ्गिएको छ । ओली राज्यको ढुकुटीलाई फजुल खर्च गरेर चर्चामा छन् । बालुवाटारमा भएको मासु र भातको भोजलाई नेपाल समूहले भने बहिष्कार गरेको थियो । नेपाल समूहले सामाजिक सञ्जालहरूमार्फत ओली समूहको आलोचना गरेर ‘छाला काडे’को थियो ।
कालोबजारी र भ्रष्टाचारलाई संस्थागत संरक्षण गरेको आरोप लागिरहेका बेला ओलीलाई नेपाल समूहले खुला रुपमा भ्रष्टाचारी सरकारको संज्ञा दिइसकेको छ । कानुनमन्त्रीमा अग्नि खरेललाई पार्टी सल्लाह नगरी सुवासचन्द्र नेम्वाङको एकतर्फी दबाबमा ओलीले क्याबिनेटमा ल्याएपछि नेपाल समूहले बिरोध गरेको थियो । ओलीले ग्यास र तेलमा कृतिम अभाव गराई कालोबजारीमा बिक्री गरेर आएको रकमले एमाले त्यसमा पनि विशेष गरेर गुट चलाउने गरेको आरोप छ । ओलीका धुपौरेहरू आजकाल तेल र ग्यास बिक्रीबाट आउने कमिशनको हिसाबकिताव मिलाउनमै व्यस्त हुने गरेको आरोप छ । यतिसम्मकी कालोबजारीका नाइके आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई ओली समूहबाट अखिलको नेतृत्वमा जितेकी नविना लामाले सार्वजनिक कार्यक्रममै स्पेस दिएपछि ओली समूह कालोबजारीमा संलग्न रहेको पुष्टि हुन्छ । अहिले फेरि एमालेकी पूर्व सांसद सपना मल्ल प्रधानलाई रिटायर्ड हुँदै गरेका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अग्नि खरेलको इन्ट्रेष्टमा सर्वोच्चको न्यायाधीश बनाउन लागेपछि सबैले बिरोध गरिरहेका छन् । यतिसम्मकी एमालेको सांसद भइसकेकी सपना मल्ल प्रधानलाई भावी प्रधानन्यायाधीशका रुपमा अगाडि सारिएको छ ।
वर्तमान ओली सरकारको विपक्षी दल नेपाली कांग्रेसबाट भन्दा पनि आफ्नै पार्टी एमालेबाट ठूलो खतरा बढेको छ । नेपाल समूह कांग्रेससँग मिलेर ओली सरकार गिराउन सक्रिय रहेको बालुवाटारमा गाइँगुइ चर्चा हुने गरेको छ भने एमाओवादी भित्र पनि ओली सरकारलाई गिराउनु पर्ने ठूलो जमातको निर्माण भएको छ ।आपूर्ति मन्त्री गणेशमान पुनलाई चीन भ्रमणमा नलगि बाणिज्य र आपूर्तिसँग सम्बन्धित सम्झौता गरेर फर्केपछि प्रम ओलीको विषयमा एमाओवादी भित्र तिब्र आलोचना भएको हो । ‘अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै ओलीका क्रियाकलापप्रति गंभिर असहमति जनाउन थाल्नु भएको छ, एकतर्फी ढंगले ओलीले सरकार चलाएमा अब प्रचण्डले सहेर बस्नुहुने छैन ।’–एमाओवादीका एक नेताले बताए ।
प्रतिक्रिया