अदालतबाट कसरी फुत्किए डन लामा ?
काठमाडौं । अवैध रुपमा करोडौं सम्पत्ति थुपारेको अभियोग लागेका चर्चित डन गणेश लामा सुटुक्क अदालतमा उपस्थित भएर फरार भएका छन् । लामा गत शुक्रबार विशेष अदालतमा सुटुक्क तारिख बोकेर प्रहरीको आँखा छल्दै एकाएक गुमनाम भएका थिए । लामालाई एक अपहरण मुद्दामा प्रहरीले खोजी गर्दै आइरहेको छ । महानगरिय प्रहरी अपराध महाशाखाले खोजीमा रहेका लामालाई अदालतमा भेटिने सुराकी पाएपछि पछ्याएको थियो । तर, अदालतमा सेटिङ मिलाएर सुटुक्क हाजिर भई लामा एकाएक गायव भएपछि महाशाखाको टोली रित्तो हात फर्किएको अदालत स्रोतको भनाई छ । लामा कहिले बैंकक त कहिले दुवइमा बस्दै आइरहेका छन् । दरबारमार्गमा रहेको जुजुवा बारमा लामाले घर साहुलाई धम्क्याएर १५ प्रतिशत शेयर लिएको र भाडा तिर्न आनाकानी गरेको विषयमा पनि प्रहरीले लामामाथि खोजी गर्दै आएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लामासहित पाँचजना डनहरुविरुद्ध विशेष अदालतमा दुई वर्ष अघि मुद्दा दर्ता गरेको थियो । विभागले कानुनविपरित अकुत सम्पत्ति थुपारेको भन्दै विषेशमा लामा विरुद्ध मुद्दा दायर गरेको थियो । विभागले उनलाई २७ करोड बराबरको सम्पत्ति कानुनविपरित कमाएको अभियोग लगाएको छ । विशेष अदालतले ३ करोड रुपैयाँ माग गरेपछी धरौटी रकम बुझाउन नसक्दा उनलाई डिल्लीबजार कारागारमा थुनामा लगिएको थियो । दुई महिना जेल बसी लामा ३ करोड धरौटी बुझाएर रिहा भएका थिए । यसअघि लामा पहिलो थुनछेक आदेशका लागि अदालतमा उपस्थित समेत भएका थिएनन् ।
त्यस्तै अर्का चर्चित डन दिपक मनाङ्गे पनि विशेष अदालतमा तारिख लिंदालिंदै हत्तु भएका छन् । अबैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेप्दै आएका मनाङ्गेले सोही अभियोगमा मुद्दा झेलिरहेका छन् । उनी प्रत्येक महिना विशेष अदालत धाउने गर्छन् । अकुत सम्पत्ति कमाएको अभियोग लागेका मनाङ्गेविरुद्ध सम्पत्ति सुद्दीकरण विभागले २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । धरौटीमा रिहा भएका मनाङ्गेले आफ्नो सम्पत्ति आफू खुसी चलाउन पाउँदैनन् ।
धम्काएर, चन्दा असुलेर, टेन्डरका नाममा रकम लिएर, अपहरण, फिरौती आदिबाट मनाङ्गेले अकुत सम्पत्ति कमाएको आरोप छ । उनको केही अवैध सम्पत्ति भने काभ्रेका उमेश लामाको नाममा रहेको छ । लामा, मनाङ्गे, मिलन चक्रेलगायतका डनहरुले आफ्ना गतिविधिहरूलाई जारी राख्ने गरेको प्रहरीसँग सूचना छ । दुई साता अघि ठमेलको ओएमजी क्लबमा भएको खुकुरी हानाहानमा मनाङ्गेको नाम मुछिएको छ । महाशाखाले ओएमजीका सञ्चालक कर्मा गुरुङ र मनाङ्गेका क्रियाकलापमाथि निगरानी गरिरहेको छ । - यूनाइटेड पोस्ट साप्ताहिकबाट
प्रतिक्रिया