जम्बो टोलीसहित प्रधानमन्त्री चीन भ्रमणमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने भ्रमणका लागि आइतबार उत्तरी छिमेकी राष्ट्र चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान गएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रमुखहरूले बिदाइ गरे। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका ३० देखि ३५ जना व्यक्ति पनि यसमा थपिएका छन् । उनी राष्ट्रिय ध्वजावाहक जहाजको सट्टा संचालनमा नै नआएको निजि विमान कम्पनीक हिमालय एयरलाइन्सको जहाज चढेर चीन प्रस्थान गरेका हुन् ।यसपटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनी गएको भोलिपल्ट नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले ‘चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ विषयको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनको उपस्थितिमा साङ्घाइ सहयोग सङ्गठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चैत ९ गते बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुनुहुनेछ । सोही समारोहमा उनले सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयको सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नेछन् । सोही दिन अपराह्न उनले सान्याको नान्सान उद्यानस्थित नेपालमण्डपको भ्रमण गर्ने कार्यक्रम छ । उनले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवम् नगरपालिकाका नेतालाई भेट्नाका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् । भ्रमणको सिलसिलामा उनले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिनिधिमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया