ल्यारक्याल लामालाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । एमाओवादी सांसद ल्यारक्याल लामालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । लामा यसअघि अनुसन्धानका लागि ५ दिन देखी प्रहरी थुनामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानविन गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखामा रहेको लामाको लकरमा १४ थान गोली भेटिएको थियो । अख्तियारले लामालाई प्रहरीको जिम्मा लगाएपछि प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
लामालाई उक्त गोलीमा लाग्ने हतियार कहाँ छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्दा केही नखुलेपछि उनलाई पोलिग्राफ परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग पु-याइएको थियो । लामाको पोलिग्राफ परीक्षणको सबै तयारी सकिए पनि पोलिग्राफ परीक्षण निर्देशिकाअनुसार प्रहरीले अनुमति माग्दा उनले स्वीकार नगरेपछि प्रहरीले हैरानी खेप्नु परेको छ । लामाले प्रारम्भिक बयानमा भारत बस्ने एक मित्रले दिएको सामान आफूले बैंकको लकरमा राखेको दाबी गरेका थिए ।
भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परीक्षण प्रस्ताव भने अस्वीकार गरेर घटनालाई अन्यत्रै मोड्न खोजिरहेका छन् । प्रहरी अनुसन्धान स्रोतका अनुसार लामाले विदेशी नागरिकको नाम लिएर अनुसन्धानलाई अप्ठेरो बनाउन खोजेका छन् ।
तर, लामाले भारतीय नागरिकको नाम लिएपनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी स्रोत बताउँछ । भारतीय नागरिकलाई नेपाल झिकाइ अनुसन्धान गर्न प्रहरीलाई कठिनाई हुने देखेर नै लामाले चोखिनका लागि विदेशी नागरिको नाम लिएको प्रहरीको बुझाई छ । तर, लामाले जति चलाखी गरेपनि प्रहरीले उन्मुक्ति नदिने बुझिएको छ ।
प्रतिक्रिया