यि भिआईपी माफिया कहिले पर्छन् सिआईवीको फन्दामा ?

vipthagकाठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) ले गरेको अनुसन्धानमा पछिल्लो तीन वर्षमा झण्डै दुई दर्जन बैंक तथा वित्तीय संस्थामा गरी २० अर्बको हाराहारीमा ठगी भएको खुलेको छ । सिआईवीले ठगीमा संलग्न कतिपय भिआईपी बैंक माफियालाई उन्मुक्ति दिंदा यो रकम बढ्न सक्ने अवस्था देखिएको छ । दर्जनौं भिआईपी बैंक माफियाहरु सिआईवीको निगरानीमा रहेपनि पक्राउ पर्न सकिरहेका छैनन् ।

 देशका भिआईपी माफियामध्ये चर्चित अनुहार हुन्, कमल ज्ञवाली, जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ, राजेन्द्र खेतान र सुधिर बस्नेत । तत्कालीन किष्ट बैंकका सिइओ कमल ज्ञवालीसमेतको मिलेमतोमा सिद्धार्थ विकास बैंकबाट १३ करोड रुपैयाँ कर्जा दुरुपयोगमा किशोर ढकाल पक्राउ परि छुटिसकेका छन् । उनले जम्को प्रकाशनको नाममा ६ करोड मूल्यको जग्गा धितो राखी १३ करोड कर्जा लिएका थिए । सोही कर्जा दुरुपयोगमा संलग्न ज्ञवाली पक्राउ परेका छैनन् ।

   उनी कहिले भारत त कहिले बैंकक र सिंगापुरमा लुकेर बस्दै आएका छन् । सिआईवीले उनलाई पक्राउ गर्न चासो दिएको छैन । यसअघि शेयर मार्केटका योगेन्द्र श्रेष्ठलाई सिआईबीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यस्तै, ओरियन्टल सहकारी तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष सुधिर बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको प्रमाणित भइसकेको छ । उनलाई सर्वोच्च अदालतले पक्राउ आदेश जारी गरिसकेको छ । तर, सिआईवी, अपराध महाशाखालगायत प्रहरीका कुनै पनि निकायले उनलाई पक्राउ गर्ने आँट गरेका छैनन् ।

 सिआइबीले बैंकिङ क्षेत्रको ठगीमा हालसम्म पाँच दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ । तर, कयौं ‘फरार अभियुक्त’ भनेर मुद्दा दायर भएको छ । सिआइबीले बैंकिङ क्षेत्रको ठगीमा किष्ट बैंकका निमित्त सिइओ बिएन घर्तीसहित तीनजनालाई पक्राउ गरेको थियो । त्यस्तै, सिआईवीले बैंकिङ कसुर ऐन अन्तर्गत तत्कालिन श्रीलंका मर्चेन्ट एन्ड बैंकिङका अध्यक्षसहित तीन जना सञ्चालकलाई पक्राउ गरिसकेको छ । प्रहरीले तत्कालिन कार्यकारी अध्यक्ष रुवी जोशी, श्रीरामप्रसाद लामिछाने र गौरिशंकर चौधरीलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरीलाई लक्ष्मीवहादुरले आफूहरुलाई फसाएको भन्दै वयान दिएका थिए । नेपाल बंगलादेश बैंकसँग मर्ज हुनअघि नियमविपरित ऋण लगानी गरेका कारण राष्ट्र बैंकले बैंकिङ कसुर ऐन अन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो । नबिल बैंकको ऋण नतिरेका कारण एनबी समूहका जीतबहादुर श्रेष्ठ र लक्ष्मीवहादुर श्रेष्ठसहित सबै सञ्चालक कर्जा सूचना केन्द्रको कालोसुचीमा परिसकेका छन् । उनीहरुले माछापुच्छे« बैंक, एनसिसी बैंक, नेपाल बंगलादेश बैंकको समेत ऋण लिएर तिरेका थिएनन् । लक्ष्मीवहादुरसँग जोडिएका अन्य आठ वटा अपराधहरु प्रहरीले फेला पारेपनि उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।

  नबिल बैंकको २४ करोड ऋण नतिरेपछि एनबी समूहका लक्ष्मीवहादुरसहित जितवहादुर श्रेष्ठ, जेन श्रेष्ठ, अनारदेवी श्रेष्ठ र पुर्णवहादुर श्रेष्ठलाई कालोसुचीमा परिसकेका छन् । एनबी समुहसँग आवद्ध भएका कुनै पनि कम्पनीको अवस्था राम्रो छैन । त्यसैगरी राजेन्द्र खेतानले खेतान परिवारकै इज्जत र प्रतिष्ठा धराशायी बनाई करोडौं ठगेर फरार छन् । आफै अध्यक्ष रहेको विमा कम्पनीमा झुठो बिमा दावी गरी ४ करोडभन्दा बढी रकम भुक्तानी लिएको तथ्य उजागर भएपछि खेतान फरार भएका थिए ।

  सिआईबीको अनुसन्धानबाट राजेन्द्रले आफै प्रवर्धक रहेको एभरेस्ट इन्सुरेन्समा ६ करोड रुपैयाँ झुठो बिमा दाबी गरेको खुलिसकेको छ । त्यसमध्ये ४ करोड रुपैयाँ उनले भुक्तानी लिइसकेका छन् । अनुसन्धानका क्रममा खेतानको ठगीको श्रृंखला मायोज चाउचाउ उद्योगमा आगलागीको घटनाबाट शुरु भएको थियो भने मायोज चाउचाउ उत्पादक कम्पनी हिमालयन स्न्याक्स एन्ड नुडल्स उद्योगमा आगलागी हुँदा खेतानको बदमासी खुलेको थियो । त्यो आगलागी खेतानले नै गराएका थिए । आफैले आगलागी गराएर आगलागी भएकै दिन उनले ६ करोड दाबी गरेपछि उनको बद्नियत पुष्टि भएको थियो ।

   सिआइबीको अनुसन्धान प्रतिबेदनका अनुसार खेतानले एभरेस्ट इन्सुअरेन्सबाट सन् २००६ देखी २०१२ सम्ममा हिमालयन स्न्याक्सबाहेक अन्यमा पनि बिमा लेखको पैसा नतिरी १ करोड ९७ लाख रुपैयाँ गैरकानूनी रुपमा भुक्तानी लिएको देखिन्छ । खेतानले विमा लेखबापत तिर्नुपर्ने ३६ लाख ३७ हजार ५ सय ३५ रुपैयाँ नतिरीकनै भुक्तानी लिएका रहेछन् । त्यसैगरी नेपाल विकास बैंकका उत्तम पुन पनि बैंकिङ कसुरमा फरार नै छन् । यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित