काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले विराट आयल कम्पनिसँग इन्धन आयातको सम्झौता खारेज गर्न माग गर्दै आज नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । विराटलाई प्रचलित बजार मूल्यभन्दा महंगोमा इन्धन बेच्न दिएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले भ्रष्टाचार र कालोबजारीलाई कारबाही गर्न माग गरिन् । विहान ९ बजेदेखि सुरु भएको घेराउ दुई घण्टासम्म जारी थियो । निगमको मूल गेटबाट कर्मचारीहरुलाई कार्यालय प्रवेशमा समेत विद्यार्थीहरुले रोक लगाएका थिए । इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन, संस्थागत भ्रष्टाचार रोक्न र कालोबजारी अन्त्य गर्न माग गर्दै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।
प्रतिक्रिया