हुण्डी कारोबारमा ठूलो गिरोह सक्रिय

hundiकाठमाडौं । महानगरिय अपराध महाशाखाले अवैध हुण्डी कारोबारमा संग्लग्नलाई ठूलो रकमसहित महाबौद्धबाट पक्राउ गरेपनि मुख्य कारोबारी भने अझै भेट्न सकेको छैन । काठमाडौंको महाबौद्धमा पवन जनलियाले सञ्चालन गरेको न्यू पायल इम्पेक्सबाट प्रहरीले ४७ लाख नगदसहित बिभिन्न बैंकका चेक र भौचरहरुसहित इम्पेक्सका एकान्टेन्ट भीमशेन शर्मालाई पक्राउ गरेको थियो । तर, लगत्तै इम्पेक्सका सञ्चालक पवन जमलिया फरार भए । नेपाल राष्ट्रबैंकको नियमावली विपरित कारोबारीहरुले राजश्व छली गरी ठूलो परिमाणमा रकम राख्दै आएका छन् ।  राजधानीमा अबैध हुण्डीको कारोबार गर्ने व्यापारी बिरुद्ध प्रहरीले अप्रेशन चलाए पनि मुख्य कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा यो अबैध धन्दा मौलाउन थालेको हो । यसअघि छापा मार्नु अघि नै सूचना चुहिन थालेपछि मुख्य गिरोह उम्किदै आएको छ । तर, महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने कुनै पनि हालतमा गिरोहको जालो तोड्ने बताएका छन् । अर्कोतिर प्रहरीकै उच्च अधिकारीको मिलेमतोमा हुण्डी कारोबारीलाई उन्मुक्ति दिंदै आएपछि हुण्डीको कारोबारबाट रातारात अर्वपति बन्नेहरुको संख्या बढ्दो छ ।

  हुण्डीको कारोबार मौलाउँदै गएको बिभिन्न घटनाक्रमबाट खुलेको छ । तस्करहरुले हुण्डीमार्फत तेस्रो मुलुकमा रकम पठाएर उक्त पैसाबाट अवैध वस्तुको तस्करी गर्ने र अवैध तवरले डलर संकलन गरी विभिन्न माध्यमबाट तेस्रो मुलुकमा डलर तस्करी गरेर विदेशी मुद्राको अपचलन गर्ने कार्य ह्वात्तै बढेको छ । त्यसकारण राष्ट्र बैंकले प्रहरी, सम्पत्ति सुद्दिकरण विभाग र अर्थमन्त्रालयलाई अवैध हुण्डी कारोबारको नियन्त्रणका लागि बारम्बार पत्राचार गरिरहेको छ । महाशाखाले केही समय अघि ठमेल, न्यूरोड र सुन्धारा क्षेत्रमा हुण्डीको कारोबार गर्ने विभिन्न आठ मनिचेञ्जरमा छापा मारी ७ जनालाई पक्राउ गरेको थियो । होटेल, मनिचेञ्जर, इलेक्ट्रोनिक्स, सुनचाँदी पसलको आवरणमा हुण्डी र अवैध डलरको तस्करी मौलाएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । काठमाडौंमा ट्राभल ऐजेन्सी, सुन व्यापारी, एजुकेशन कन्सलटेन्सी, मेनपावर व्यवसाय गर्नेहरुले दैनिक करोडौं रकम अवैधबाटोबाट विदेश पठाउने गरेको खुलेको छ ।

  त्यस्तै अवैध बाटोबाट नेपालमा पनि रकम भित्रने गरेको छ । त्यस्तै ठूला–ठूला होटलहरुले पनि अवैध रुपमा हुण्डीको कारोबार गर्दै आएका छन् । हुण्डी र सुन तस्करको सर्कलमा दुर्गाबहादुर श्रेष्ठ चिरपरिचित नाम हो । सन्तोष भिमसरिया र मालिकराम नाम गरेका मारवाडी व्यापारीमार्फत उनले हुण्डीको कारोबार गर्दै आएको स्रोतको भनाई छ । रक्तचन्दन र सुनको अबैध कारोबारबाट रातारात अर्वपति बनेका नारायण पौडेल पनि हुण्डीका कारोबारी हुन् । दुई बर्ष अघि नेपालबाट तातोपानी भन्सार नाका हुँदै हुण्डीको कारोबार गर्दैगर्दा पक्राउ परी छुटेका व्यक्ति हुन् उनी । पौडेललाई केही समय अघि महाशाखाले सुन तस्करी गरेको आशंकामा पक्राउ गरी छाडेको थियो । केही प्रमाण नभेटिएपछि महाशाखाले उनलाई छाडेको हो ।

  चीन र भारतमा सामसुङ मोवाइलका नेपाली विक्रेता दिपक मल्होत्रा, बच्चु पौडेल, प्रदीप सरिया, गोविन्द सरिया, शोभा खरेल, मोहन अग्रवाल, पवन सरिया, हरि चिरानियालगायतका दर्जनौ व्यापारीहरु व्यापारको आवरणमा हुण्डी कारोबार गर्दै आइरहेका छन् । तर यिनीहरुका क्रियाकलापलाई महाशाखाले अहिलेसम्म निगरानी नगर्दा उनीहरुले उन्मुक्ति पाउँदै आएका छन् ।त्यस्तै एस ट्राभल्स दरबारमार्ग, ट्राभल्स डि सोसाइटी ठमेल, इविसु ज्वेलर्स दरबारमार्ग, बराह ज्वेलर्स न्यूरोड सिंगापुर इन्टरपाइजेज सुन्धारा धाख्वा विलिङका सञ्चालक रवि कचुरिया, मनकामना ट्राभल्सका सञ्चालक मदन केसी, दरबारमार्गको इमिरेट्स ट्राभल्सका सञ्चालक राजु मालु, सुन्धाराको युनिक ट्राभल्स एण्ड टुर्स एड्भान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफर, इजी मनी ट्रान्सफर, आइएमई, सिटी एक्सप्रेसलगायत दर्जनौं कम्पनीहरु हुण्डीको कारोबारमा सक्रिय छन् ।

   नेपालबाट भारत, अष्ट्रेलिया, दÔिण कोरिया र खाडीमुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाई छ । त्यसो त पर्यटन भिसामा नेपाल आएर ठमेलमा बस्ने अधिकांश चिनीयाँ नागरिकहरु र उनीहरुका नेपाली एजेन्ट पनि हुण्डी कारोबारमा सक्रिय छन् । बैंकिङ सेवा विस्तार हुँदै गएपछि पनि हुण्डीमार्फत पैसाको आन्तरिक स्थानान्तरण बढेको छ । राजधानीमा बढ्दो संगठित अपराधसँगै हुण्डी व्यवसाय मौलाउँदै गएको छ । गैरकानुनी रुपमा कमाएको धनलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान हुण्डीको प्रयोग गरिन्छ । बैंकमार्फत १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने भएपछि हुण्डी व्यवसाय फस्टाएको हो । महाबौद्धमा कपडाको होलसेल कारोबार गर्नेहरु देखि न्यूरोडमा मोवाइलको व्यवसायमा लागेका अधिकांश पसलेहरु हुण्डीको कारोबारमा संलग्न रहँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित